रामेछाप। नरसंहारकारी दोरम्बा हत्या काण्डको २० वर्ष बित्यो। तत्कालीन सरकार र माओवादी विद्रोहीबीच युद्ध विराम भएको बेला सेनाले नियन्त्रणमा लिएका १९ जना सहित २१ जना माओवादीका नेता कार्यकर्ता हत्या गरेको २० वर्ष भयो।
दाङको हापुरेमा सरकार र माओवादी पक्षबीच वार्ता चलिरहेको थियो। वार्ता सकारात्मक हिसाबले अघि बढेको त थिएन तर भङ्ग पनि भइसकेको थिएन। वार्ता चलिरहेको बेला पनि दुवै पक्षबाट सानातिना युद्ध विराम उल्लङ्घनका घटना भइरहेका थिए। तर २०६० साल साउन ३२ गते ठूलो घटना भयो। दोरम्बा हत्या काण्ड भयो। सोही हत्याकाण्ड पछि युद्ध विराम भङ्ग भयो र पुन युद्ध सुरु भयो।
२०६० साउन ३१ गते राति रामेछापको पुरानो सदरमुकाम रामेछाप बजारमा रहेको सेनाको ब्यारेकबाट मेजर राममणि पोखरेलको नेतृत्वमा सेनाको टोली अप्रेसनको लागि निस्कियो। सेनाको टोली रातभरि हिँडेर बिहान तत्कालीन दोरम्बा गाविसको दोरम्बा बजारमा पुग्यो। दोरम्बा बजार नजिकैको एउटा घरमा माओवादीको बैठक र वैवाहिक कार्यक्रम छ भन्ने सेनालाई पूर्व जानकारी थियो।
युद्ध विरामको बेला भएकोले सेना आउला भन्ने माओवादीले सोचेका थिएनन्। आए पनि आक्रमण गर्छ भन्ने डर उनीहरूलाई थिएन। राति बैठक गरेर बिहान वैवाहिक भोजको तयारी स्वरूप मासु भात पाक्दै थियो।
चारैतिर कुहिरोले ढाकेकोले नजिकै पनि केही देखिँदैनथ्यो। साउन ३२ गते बिहान दोरम्बा बजार पुगेको सेना माओवादी बसेको घर सोध्दै दोरम्बाको खरिढुंगा पुग्यो।
सेनाको टोलीले घरको बाहिर सेन्ट्री बसेकालाई त्यही गोली हानी ढाल्यो। बाहिर गोली चलेपछि तत्कालीन जिल्ला सेक्रेटरी हरिप्रसाद दाहाल ललित र अर्का नेता मैनकुमार मोक्तान मदन घरबाट भाग्न सफल भए। बाँकी १९ जनालाई सेनाले नियन्त्रणमा लियो। जसमा माओवादीका जिल्ला जनसरकार प्रमुख बाबुराम लामा लगायत जिल्ला स्तरका नेता थिए। एक जनाको शव पछि घटनास्थल भन्दा तल खोलामा भेटियो।
दोरम्बा बजारबाट १५ मिनेट टाढाबाट उनीहरूलाई दोरम्बा बजारमा ल्याएपछि सेनाले बजारमा डोरी माग्यो। डोरीले सबै जनाका हात पछाडि बाँध्यो। त्यहाँबाट झण्डै ४५ मिनेट टाढा डाँडाकटेरीमा पुर्याएपछि १९ जनालाई नै लाइन लगाएर गोली ठोकी सेनाले हत्या गरिदियो।
सो हत्या काण्डपछि माओवादीले युद्ध विराम भङ्ग भएको औपचारिक घोषणा गर्यो र फेरि मार्ने मारिने श्रृंखला सुरु भयो। दोरम्बा हत्याकाण्डले अन्तराष्ट्रिय रूपमा नै दुर्नाम कमायो।
दोरम्बा हत्या काण्ड पछि माओवादीले सुराकीको आरोपमा दोरम्बामा एक स्वास्थ्यकर्मी सहित दुई जनाको हत्या गरे। धेरै मानिसहरूलाई कारबाही गर्ने भन्दै नाम सार्वजनिक गरे। त्यस पछि दोरम्बाका मानिस रातारात घर छाडेर भागे। दोरम्बा सुनसान बन्यो। घर खाली भए। खाली घरको संरक्षण भएन। वर्षामा पानी चुहिन लागे धेरै घर भत्किए। बचेका पनि मान्छे बस्न लायक भएनन्।
त्यति बेला भागेका धेरै मानिसहरू काठमाडौंमा नै स्थापित भए। उनीहरू गाउँ फर्कन चाहेनन्। त्यसैले अहिले पनि दोरम्बा खण्डहर बस्ती जस्तै छ।
दोरम्बा अहिले विगतको पीडालाई बिर्सने प्रयत्न गर्दै छ। डाँडाकटेरी जहाँ माओवादीका १९ जना नेता कार्यकर्ता मारिएको थियो त्यहाँ उनीहरुको स्मृतिमा सालिक राखिएको छ। त्यसको पनि खासै स्याहार र संरक्षण हुन सकेको छैन। वाग्मती प्रदेशमा एमाले नेतृत्वको सरकार हुँदा सालिक बनाएर राखिएको हो।
विगतको पीडालाई बिर्साउन सरकारले दोरम्बालाई पर्यटन गन्तव्य गाउँ घोषणा गर्यो। दोरम्बा गाउँपालिका–२ को दोरम्बालाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन गन्तव्यको गाउँ घोषणा गर्यो तर पूर्वाधारका खासै काम भएनन्। सुरु भएका काममा पनि उचित अनुगमन नहुँदा अनियमितता भयो। बजेट आयो, सकियो।
दोरम्बामा पर्यटकीय पूर्वाधारका लागि होमस्टे लगायतका केही काम भएका छन्। दोरम्बामा शैलुङ, अग्लेश्वरी, कण्ठेश्वर गुफा, तालाच्यु गढी, डाँडाकटेरी, शान्ति पार्क, तामाङ र थामी जातिको संस्कृति लगायतलाई जोडेर पर्यटन गन्तव्यको विकास गर्ने योजना त बन्यो तर कार्यान्वयन प्रभाकारी हुन सकेन। दोरम्बा अहिले पनि कहालीलाग्दो इतिहास सम्झँदै छ। विकास र समृद्धिको पर्खाइमै छ । (नेपाल न्यूज बैंक)
प्रतिक्रिया