पत्निपिडक ‘महापुरुषहरु’

Usha Thapaliya foto final bho-उषा थपलिया

संसारमा वैवाहिक पद्धती जव सुरु भयो, त्यही बेलादेखि महिलाहरु पुरुषको अधिनस्थ रहन वाध्य भए । ‘द विक’ का अनुसार प्रमाण भेटिएको वैवाहिक समारोह सुरु भएकै ४ हजार ३ सय ५० वर्ष भैसकेको छ । 

मेसोपोटामियामा विवाह समारोहको पहिलो प्रमाण इ.पु. २३५० मा भेटिएको आधारमा उक्त समयावधि निकालिएको तर मानवशास्त्रीहरुका अनुसार त्यसअघिको हजारौं वर्षमा पनि विवाह अभ्यास रहेको यादव देवकोटाको लेख ‘विवाहः स्वतन्त्रता कज्याउने सत्ता’ मा उल्लेख छ । 

उक्त तथ्यलाई आधार मान्ने हो भने पनि वैवाहिक उत्सव सुरु भएको यही ४ हजार वर्षको अवधिबीच अनेकौं चमत्कारी, अकल्पनीय र आमूल परिर्वतन हुदै संसार यो चरणमा आईपुगेको छ, जसबाट मानव समुदायले मनग्य लाभ समेत लिईरहेको छ । तर विवाह पद्धतीले महिला र पुरुषवीच सृजना गर्ने फरक फरक हैसियत र महिलाले दबिनुपर्ने नियतीमा भने तात्वीक सुधार आउन सकेको छैन । 

अविकसित देशहरुको त कुरै छोडौं, समृद्ध, उदार तथा मानव विकास सुचकांकमा अव्वल ठहरिएका सभ्य र सुसंस्कृत देशहरुमै विवाहमार्फत महिलामाथि पुरुषको नियन्त्रण, ज्यादती र अन्याय जसरी स्थापित भएको छ त्यसको सकसबाट पीडित हुने महिलाको दायरा निकै ठूलो छ ।  

वैवाहिक सम्वन्धले ल्याउने उत्पीडनबाट जुनसुकै देशका सर्वसाधारण महिला आमरुपमा प्रभावित छन् नै, आफ्नो हैसियत र प्रभावलाई विश्वव्यापी बनाउने समुन्नत देशका प्रभावशाली महिलाहरु समेत यसबाट मुक्त हुन सकेको पाईदैन । बाहिरी परिदृश्यमा उच्च हैसियत र विश्वव्यापी प्रभाव फैलाउन सफल तिनै महिलाहरु परिवारभित्र अझ भनौं पतिकै चरित्र र व्यवहारका कारण अपहेलना, अन्याय र गुमराह झेल्न विवश निरीह पात्र बन्न पुगेको विश्व इतिहासमा भेटिन्छ । 

अझ आश्चर्यको कुरा त के भने, विश्वलाई नेतृत्व गर्ने राष्ट्रका प्रमुखदेखि समाज परिवर्तन कालागि विश्व तरंगित सिद्धान्त प्रतिपादन गर्ने ‘महापुरुषहरु’ नै आफ्नी पत्निउपर अत्याचारी ठहरिएका दृष्टान्त भेटिन्छन् । यस आलेखमा कर्तव्य र विचारको आधारमा आमसर्वसाधारण पुरुषभन्दा उच्चकोटी ठहरिएका तिनै ‘महापुरुषहरु’ ले आफ्नी पत्निको आत्मसम्मान चोईटिने गरी गरेका अनैतिक क्रियाकलापदेखि थोपरेका पीडा, गुमराह र अन्तरघातका बारेमा चर्चा गरिने छ । 

राज्यसत्ता श्रमजीवी वर्गको अधिनायकत्वबाट चल्नुपर्दछ भन्ने समाजवादी राजनीतिक सिद्धान्तका प्रवर्तक कार्ल मार्क्सले महिला उत्पीडन अन्त्यकालागि समेत सिद्धान्त प्रतिपादन गरे । महिला उत्पीडनको मुख्य कारण पितृसत्तात्मक सोँच, त्यही जगमा खडा भएको परिवार र त्यसको पक्षपोषण गर्ने राज्य सत्ता हो भन्दै महिला मुक्तिकालागि अनेकौं उपाय सुझाउने तिनै कार्ल मार्क्स आफ्नी पत्नि जेनीकैलागि आदर्श पति बन्न सकेनन् । 

सन् १८४३ मा जेनीसंग विवाह गरेका मार्क्सले सन् १८५१ मै घरेलु श्रमिकको रुपमा रहेकी लेञ्चेन डेमुथसंगको संसर्गबाट एउटा छोरा जन्माए । जवकी सन् १८८१ सम्म ६७ वर्ष बाँचेकी जेनीबाटै आधा दर्जन सन्तानको बाबु भन्ने अवसर उनलाई प्राप्त थियो । सभ्रान्त धनाढ्य व्यापारीको छोरी जेनी प्रसियाकै सवैभन्दा सुन्दर महिला हुन् भनेर मार्क्स सँधै उनको तारिफ गर्दथे । तर उनै पत्नि जेनीको आत्मसम्मान गिराउने व्यवहारतर्फ लिप्त भएर पितृसत्ताको धङ्धङीलाई मार्क्स आफैले व्यवहारमा उतारेको लेञ्चेनसंगको उनको विवाहेत्तर सम्वन्धले स्पष्ट गर्दछ । 

लेञ्चेनमाथि मार्क्स को वलात्कार थियो या दुईवीच सहमतिको शारिरीक सम्वन्ध ? भन्ने कुरा विवादकै विषय बनिरहेको छ तर निर्विवाद कुरा चाँही के हो भने लेञ्चेनसंग विवाहेत्तर सम्वन्ध स्थापित गरेर मार्क्सले पत्नि जेनीमाथि सरासर अन्तरघात गरेका थिए । किनकी परस्त्रीसंग पतिको यौन संसर्ग कुनै पनि पत्निकालागि मान्य र सामान्य ठहरिने विषय हैन । 

त्यही गुपचुपको सम्वन्धले आफ्नो प्रतिष्ठा नखस्कियोस्  भन्नकैलागि लेञ्चेनबाट जन्मिएको बच्चाको नाम फ्रेडरिक डेमुथ राख्दै उनका बाबुका रुपमा अर्का समाजवादी नेता फ्रेडरिक एंगेल्स उभ्याईए र आफ्नो परिवारबाट अलग्याएर वच्चालाई उपकारी गृहमा स्थानान्तरण गरियो यदि आफुले गल्ती गरेको महसुस नहुँदो हो त मार्क्सलाई यतिविधि तिकडम रच्नुपर्ने थिएन । तसर्थ मार्क्स लेञ्चेनका बलत्कारी हुन् या नहुन् उनी पत्नि पीडक पति भने अवश्य हुन् । पितृसत्ताको विद्रृप चरित्र आफ्नै व्यवहारबाट प्रस्तुत गरेर आफ्नै सिद्धान्तको खलपात्र बन्ने तहमा झर्नु मार्क्सको क्षमायोग्य गल्ती छँदै थिएन । 

जेनीको परिचय मार्क्सकी पत्निको रुपमा मात्र सिमित थिएन । साहित्य र कला सम्वन्धी ज्ञानले सम्पन्न जेनी जर्मन प्रजातन्त्रवादी अखवारमा लेखकको रुपमा स्थापित थिईन्, विभिन्न देशमा संचालित मजदुर आन्दोलनमाथि निगरानी राख्दथिन्, मार्क्सको हरेक राजनीतिक र वैचारिक गतिविधिमा सत्यनिष्ठ सहयोगी हुने गर्दथिन । जेनीका सवै गुण र स्वभावबाट अत्यन्तै प्रभावित फ्रेडरिक एंगेल्सले जेनीलाई ‘उत्कृष्ट आत्मा भएको नारी’ को उपमा समेत दिएका थिए । तत्कालीन परिस्थितिमा त्यति ओजपूर्ण भूमिकामा रहेकी जेनीलाई मार्क्सको परस्त्रीसंगको सम्वन्ध र त्यसबाट सन्तानको जायजन्म समेतको घटनाले पक्कै विक्षिप्त पारेको थियो । तर आफुमाथि मार्क्सले गरेको त्यो विश्वासघातलाई पनि उनले पतिकै हितका खातिर पैतालामुनि दवाईन् । 

मार्क्सको उक्त कु(कृत्य) विरुद्ध जेनीले कुनै कदममात्र चालेकी भए पुँजीवादीहरुकोलागि त्यो गजवको मसला बनिदिन्थ्यो जसका कारण मार्क्सको व्यक्तित्व र साख त्यतिवेलै धुलिसात भैसक्थ्यो । जेनीकै सदासयका कारण मार्क्सको व्यक्तित्वका प्रशंसक आजपर्यन्त घटेका छैनन् । उनको राजनीतिक सिद्धान्तलाई आत्मसात गर्नेहरुकालागि त उनी अझै देवता समान् मानिन्छन्, जो उनी विरुद्धका कुनै पनि कुरा सुन्न चाहँदैनन् । 

उता जेनी भने त्यतिवेला त पीडित थिईन् नै अहिले पनि मार्क्सको उक्त गलत कृत्यमाथि विवेचना हुँदा त्यसको भार जेनीमाथि नै बढी लाद्ने गरिएको पाईन्छ । ‘मार्क्सलाई बलात्कारी ठहर गर्ने हो भने जेनीलाई बलात्कारी– संरक्षक करार गर्नुपर्ने हुन्छ’ भन्दै मार्क्सका अन्धभक्तहरुको निशाना अहिले पनि त्याग र विवशताकी प्रतिमुर्ति उनै जेनीतर्फ नै लक्षित गरिरहेको देखिन्छ । 

bill clintan

अमेरिका जस्तो सर्वशक्तिमान राष्ट्रको प्रमुखमा दुई दुई पटक प्रतिस्पर्धा गरेकी हिलारी क्लिन्टन प्रभाव, चर्चा र हैसियतका हिसावले कुनैपनि विजेता राष्ट्रप्रमुख भन्दा कम छैनन् । उनको व्यक्तित्वको ओज संसारभर फैलिएको छ । तर उनै हिलारी कुनै समय एकदमै निरीह देखिईन् । त्यसको एकमात्र कारण थियो पति विल क्लिन्टनको परस्त्रीसंगको सम्वन्ध । 

क्लिन्टन राष्ट्रपति पदमै वहाल रहेका बेला ह्वाईट हाउसमा इन्टर्नशिप गर्न गएकी २२ वर्षीया मोनिका लेविन्स्कीसंग उनको यौन सम्वन्धको चर्चा बाहिरियो । ह्वाईटहाउसभित्रको ओभलहाउसमा बीलसंग आफ्नो पटक पटक शारिरीक सम्वन्ध बनेको कुरा सन् १९९८ मा मोनिका आफैले खोलिन् । 
अमेरिकी जनताको ‘रोलमोडल’ बन्नुपर्ने राष्ट्रपति जस्तो गरिमामय पदमा आसिन व्यक्तिले विवाहेत्तर सम्वन्ध जस्तो अनैतिक काम गरेको भन्दै बीलको चौतर्फी आलोचना भयो । उनको चरित्रमाथि संसारभरका महिला अभियन्ताहरुले प्रश्न उठाए । संसदमा उनीविरुद्ध महाभियोग प्रस्ताव दर्ता हुने अवस्था समेत बन्यो । 

तर यी सवै उल्झनबाट मुक्त हुने अवस्था उनलाई यस कारण संभव हुनगयो, जव हिलारीले आफुभित्रको असन्तोष र अपमान आफैभित्र लुकाएर भएपनि क्लिन्टनकालागि दरिलो साथ हरबखत दिईरहिन् । हुनत घटना सार्वजनिक भएपछि हिलारी तनावग्रस्त नभएकी होईनन् । 
रिसको झोँकमा उनले ह्वाईटहाउसभित्रै बीललाई कुटेको खवर पनि बाहिरिएको थियो तर सार्वजनिक जीवनमा चाँही उनी पति बीलकै पक्षमा उभिईन् । हिलारीको साथले बीललाई त्यस गम्भीर प्रकरणबाट बाहिरिने अवस्था सृजना ग¥यो ।        

कुनैपनि विवाहित पुरुषको अर्की महिलासंगको शारिरीक सम्वन्धको जव चर्चा चल्दछ त्यसमाथिको वहस बलात्कार वा सहमति के थियो ? त्यसमा केन्द्रीत हुने गर्दछ । बलात्कार थियो भने दोषी, सहमति हो भने उन्मुक्ति ! सरोकार केवल दोस्री महिलाको हकमा मात्र तानिएको देखिन्छ । विवाहित पुरुषले परस्त्रीसंग सम्वन्ध राख्दा उनकी पत्निमाथि पर्नजाने आघात÷अन्यायबारे ध्यान दिनु र चर्चा चलाउनु जरुरी ठानिएको देखिदैन । 

आखिर वैवाहिक सम्वन्ध पनि कानुनद्वारा निर्देशित हुनाकोसाथै यस अन्र्तगतका मापदण्ड र आचारसंहिता पति पत्नि दुवैलाई समान रुपमा लागु हुने विषय हो । तर जेनी र हिलारी जस्ता महिलाहरुले समेत पतिको अनैतिक चरित्रलाई चुपचाप आफैभित्र दवाएर बाँच्नु प¥यो भने अरु सामान्य महिलाहरुको हालत के होला ? 

माक्र्स र क्लिन्टन झै अरु थुपै्र ‘महापुरुषहरु’, जो आफ्नो पारिवारिक जीवनलाई मर्यादित बनाउन र पत्निको आत्मसम्मान जोगाउन च्यूत रहेतापनि उनीहरु ‘महापुरुष’ कै दर्जामा रहिरहने अवस्था बन्ने गरेको छ । उनीहरुको व्यक्तित्वका पुजारी आज पनि घटेको पाईदैन । पारिवारिक तहमा उनीहरुले गरेको गैरकानुनी, अनैतिक र गैरजिम्मेवार गतिविधि सँधै छायामा परेको भेटिन्छ । माक्र्स र क्लिन्टन मात्र हैन, यस्ता अरु  थुप्रै उच्च ख्यातीप्राप्त पुरुषहरुको यस्तै चरित्रका बारेमा पछिल्लो श्रृङ्खलामा चर्चा गरिनेछ ।    
क्रमश.... 

   

 
 

प्रतिक्रिया