उनीहरूले मेरो अस्मितालाई सरेआम लतारिरहे
म भयो भयो छाडिदेऊ भन्दै बलिन्द्र रोइरहें
उनीहरूले मलाई छडीले स्याट स्याट हानिरहँदा
कोइली चरी बरु कोहो कोहो भन्दै बिलाप गरिरह्यो
किन्तु तिम्रा आँखा भिजेनन
आफ्नो छातीको बायाँतर्फ छामेर हेर त
सायद तिमीभित्र करुणा छैन
उनीहरूले मेरो बस्तीलाई ताने चिथोरे
टोके र क्षतविक्षत पारिरहे
तर तिमी रमिते बनेर जात्रा हेरिरह्यौ
घनले बस्तीको छातीमा मर्मान्त प्रहार गर्दा
तिमी मौन बसेर भोज खाइरह्यौ
एकपल्ट दुबै कान थुनेर आफूभित्रको आवाज सुन त
सायद तिम्रो हृदयमा स्पन्दन छैन
मेरो माटो रोइरह्यो उनीहरू लुटिरहे
निर्लज्जहरू अट्टहास गर्दै निर्मम लुछिरहे
माटोको मायामा म भावुक हुँदा
उनीहरू स्वाङ पारेको भन्दै उपहास गरिरहे
किन्तु तिमी नीरोले झैँ बासुरी बजाइरह्यौ
एकपटक अन्तस्करणमा नियालेर हेर त
सायद तिमीभित्र माटोको सुवास छैन
म धौलागिरीको सौन्दर्यमा टोलाउँदा
कालीगङ्गाको सुसाहटमा मदमस्त हुँदा
उनीहरूले मलाई तारेभिरको भूत लाग्यो भनेर राँकोले पोले
उनीहरूले मेरो निर्दोष प्राण पखेरुमा प्रहार गर्दा
तिमी रमिते बनेर खडा रह्यौ
एकपटक तिमीभित्रको चेतनालाई खोज त
सायद तिमीभित्र हरि छैन
रातको नीरवतामा मैले
पिपलको वृक्षमुनी बसेर
एक जोडी चरीको प्रेमालाप सुन्दा
उनीहरूले मलाई बोक्सी मन्त्र सुनेको आरोप लगाए
मैले जुनेली रातको शीतलमा
पारी क्षितिजतिर हेर्दै
राधा राधा ! भनेर बोलाउदा
मलाई छोरीबेटी बोलाएको आरोपमा कुटे
किन्तु तिमी मुसुमुसु हाँसिरह्यौ
एकपल्ट तिम्रो अन्तस्प्रेरणालाई नियालेर हेर त
सायद तिमीभित्र प्रेमको ज्योति बल्दैन
मैले स्वर्ग यहीँ नर्क यहीँ भनेर सुनाउँदा
उनीहरूले मलाई पाखण्ड भने
मैले कर्म नै धर्म कर्म नै पूजा भन्दै
मेरा प्यारा किशोरहरूलाई सुनाउँदा
उनीहरूले मलाई नास्तिक भन्दै बदनाम गरे
किन्तु तिमी खुच्चिङ गरिरह्यौ
एकपटक आफ्नो ज्ञानचक्षुलाई
अवलोकन गरेर हेर त
सायद तिमीमा विवेक छैन
प्रतिक्रिया