काठमाडौं । प्रायः जहाजहरुको ‘ब्ल्याक बक्स’का बारेमा हामीले सुन्दै आएका छौं, तर अब पृथ्वीको पनि ब्ल्याक बक्स निर्माण हुँदैछ ।
धरतीको यो ब्ल्याक बक्सले जलवायु परिवर्तन र अन्य मानव निर्मित खतराको रेकर्ड गर्नेछ । साथै मानव सभ्यताको पतनको कहानी पनि यसमा सुरक्षित रहनेछ ।
३२ फुट लामो यो ब्ल्याक बक्स कहिल्यै नटुटने खालको स्टीलबाट बनाइनेछ, जुन अस्ट्रेलियाको तसमानियामा राखिनेछ ।
अस्ट्रेलियामा निर्माण हुने यो ब्ल्याक बक्सलाई हार्ड ड्राइभले भरिनेछ, जसमा पृथ्वीका विनाशबारे बिना कुनै पुर्वाग्रह निष्पक्ष रुपमा पूरै विवरण राखिनेछ । यो ब्ल्याक बक्सले जलवायु, तापक्रम, समुद्र जलस्तर, जलवायुमा कार्बन डाइअक्साइडको मात्रा र कयौं अन्या आंकडा संरक्षण गर्नेछ, ताकि यसको दस्तावेजीकरण हुन सकोस् । कसरी मानिसले जलवायु संकट रोक्न असफल भए भन्नेबारे यसमा विस्तृत जानकारी हुनेछ ।
यसैबिच वैज्ञानिक अर्को पक्षमा पनि काम गरिरहेका छन् । मानौं, पृथ्वीमा ठूलै प्रलय आयो र मानव सभ्यता समाप्त भयो, तर केही मानिस जिवितै भएको खण्डमा उनीहरुले ब्ल्याक बक्सको प्रयोग कसरी गर्लान् ? यसबारेमा पनि वैज्ञानिक उपाय खोजिदैछ ।
धरतीमा प्राकृतिक प्रलय आएको खण्डमा मानिसहरुको कुनै सानो समुह बच्नसक्ने अनुमान गरिएको छ । ब्ल्याक बक्समा त्यस्तो प्रविधि पनि हुनेछ, जसबाट बाचेका र नयाँ पुस्ताका मानिसले भीषण आगलागी, बाढी र सुख्खाबाट कसरी मानव सभ्यताको अन्त्य भयो भन्ने थाहा पाउनेछन् ।
अहिलेसम्म सौर्य उर्जाबाट संचालन हुने यस्तो ब्ल्याक बक्सको मूल्य कति हुन्छ भन्ने तय भइसकेको छैन । यो बक्सको निर्माण सन् २०२२ को मध्यबाट सुरु हुँदैछ । यो ब्ल्याक बक्स ठिक त्यस्तो हुनेछ, जुन सन् १९६८ मा प्रदर्शीन हलिउड चलचित्र ‘२००१, ए स्पेश ओडीसी’मा ब्ल्याक मोनोलिथमा देखाइएको छ ।
यो प्रोजेक्टलाई मार्केटिङ कम्पनी क्लेमेंगरले बीबीडीओ यूनिभर्सटी अफ तसमानियाको सहयोगमा बनाउँदैछ । कम्पनीका अनुसार यदि धरतीमा आउँदा दिनमा मानव सभ्यता खतम भएमा जो मानिस बाँच्नेछन्, उनीहरु ब्ल्याक बक्समार्फत पृथ्वीमा भएका घटनाबारे थाहा पाउनेछन् ।
यो ब्ल्याक बक्सलाई मालटा, नर्वे र कतारमा पनि राख्नेबारे सोचिएको थियो । तर अस्ट्रेलियाको तस्मानियाको भूराजनीतिक र भौगर्भीक स्थिरता सबैभन्दा उत्तम पाइयो । बताइए अनुसार तस्मानियामा सूर्य उदय हुनासाथ सोलर उर्जाको सहयोगमा ब्ल्याक बक्समा वैज्ञानिक तथ्यांक र डाटा रेकर्ड हुन थाल्नेछन् । यसमा समूद्रको जलस्तर, तापमान, समुद्रमा अम्लीयपन, कार्बन डाइ अक्साइड, जीवनको अन्त्य, विश्वका विभिन्न स्थानमा जमीनको उपयोगबाट आएका परिवर्तन आदि संग्रह हुँदै जानेछन् ।
प्रतिक्रिया