सफलता भन्ने कुरा केहीबेरको भावावेशले हातपर्ने उपलव्धि होइन । न यो लहडले, रहरले न त क्षणिक आवेगले नै पाउन सकिन्छ। सबभन्दा पहिला त जीवनको लक्ष के हो त्यो नै निर्दिष्ट हुनुपर्छ । त्यसपछि त्यसलाई सफल पार्न दृढ अठोट, एकनिष्ठ लगाव र सुव्यवस्थित साधना चाहिन्छ अनि चाहिन्छ अविश्रान्त निरन्तरता ।
अरु कुनै पेशा व्यवसायमा सफल हुन त कैयन सहयोगी सुव्यवस्थाहरु तम्तयार नै हुन्छन् । तर सामाजिक क्षेत्रमा भने कुरा अर्कै छ । यहाँ त चुनौतिहरुका अनगिन्ति चुचुरा नै चुचुरामात्र ठडिएका हुन्छन् । यसैले यस क्षेत्रमा सफलता हात पार्न चानचुने साधनाले सम्भव नै छैन भन्दा अन्यथा हुनेछैन ।
यसमा सफलता पाउन व्यक्तिगत लोभलालचबाट धेरै पर रहनसक्नुपर्दछ, अर्थात् तपाईंले दिनहुँ लगाउने कपडाका सबै खल्तीहरु रित्ता हुनुपर्छ अनि केवल मनमात्र धनी। तर धनको अभावमा खल्तीहरु रित्तै भएपनि दृढसंकल्पको उर्जाले सपनाहरु सफलतामा परिणत हुँदैजाँदा रहेछन् ।
त्यसका लागि नेतृत्व गर्ने व्यक्तिमा निर्देशन र हैकमको ठाउँमा स्नेहपूर्ण समन्वय, दुवै हातले बटुलेर संग्रह गर्ने होइन, खुला ह्रदयले बाँडेर सबैका मुहारमा प्रशन्नता छर्ने उदार व्यवहार चाहिन्छ। अनि चाहिन्छ त्याग, धैर्य, स्वच्छ मन अनि चाहिन्छ यी सबै गुणले भरिपूर्ण निस्वार्थ एउटा कर्मठ नेता ।
हामी यहाँ चर्चा गरिरहेका छौ एकनिष्ठ तपस्वी एकजना साधकको। जसले एउटा पहाडको नांगो पाखामा रोप्यो, सिञ्चित गर्यो, हुर्कायो अनि फलैफलले झपक्क बनायो दीनहीन मानिसहरुको जीवन रक्षा गर्ने, शिक्षाको ज्योति छर्ने र कत्लैकत्लाले पुरिएका अनुहारमा प्रशन्नताको प्रकाश भर्ने एउटा सुदूर सपनाको विरुवा । बटवृक्ष बनिरहेको त्यही विरुवाको फलले आज हज्जारौं जीवनको रक्षा भैरहेको छ ।
यसरी समाज सेवामै आफुलाई पूर्ण सर्मपण गरी लागिपरेका एक पात्रको कुरा गर्दैछौं यस श्रृङखलामा । विश्वको नम्बर एक शहर भनेर चिनिने अष्ट्रियाको भियनामा जमेर बसेको डाक्टर, एउटा प्रतिष्ठित सर्जन। छँदाखाँदाको आकर्षक जागिर छाडेर समाजसेवा गर्ने अठोट गर्दै ६ हजार २ सय २७ किलो मिटर पूर्वको सुदूर देशको स्याल कराउने डाँडामा हाम्फाल्न पुग्छन् । जसले वितेका २५ वर्षमा सामाजमा पुर्याएको सेवा र हासिल गरेको सफलता देख्ने सबैले गर्विलो स्वरमा भनिरहेका छन् गरे के हुन्न ? अर्थात् सत्प्रयाशका अगाडि असफलता भन्ने शब्दको कुनै स्थान छैन ।
त्यतिबेला शून्यबाट सुरु गरिएको एउटा सामुदायिक अस्पताल जहाँ अहिले दिनको १ हजार ५ सयभन्दा धेरै बिरामीहरुले नियमित, भरपर्दो र सस्तो सेवा पाईरहेका छन् । जसको संस्थागत आधार उनै व्यक्तिको अगुवाईमा निर्माण भएको हो । हो उनै धुलिखेल अस्पतालका ब्रेनचाइल्ड सर्जन डाक्टर रामकण्ठ माकजुको कुरा गर्दैछौं हामी । जसको अठोट नै धुलिखेल अस्पतालको शिलान्यासमा सबैभन्दा तल विछ्याईएको बलियो आधार थियो । त्यसकै जगमा आजको सर्वत्र सफलता हासिल गरिसकेको धुलिखेल अस्पताल उभिएको छ ।
वितेको अढाई दशकमा एउटा ५ सय बेडको हस्पिटल, मेडिकल कलेज, गाउँहरुमा १८ वटा सुविधायुक्त स्वास्थ्य चौकी, अर्बाैंको संरचना, गाउँमा स्वास्थ्यसँगै गाँसिएर आएको सामाजिक र आर्थिक विकास । रामेछापसँग जोडिएको काभ्रे जिल्लाको दूर्गम गाउँ सलम्बुमा स्वास्थ्य चौकी बनाए । तर भयो के भने वर्षायाममा रामेछापबाट एक सुत्केरी महिला स्वास्थ्य चौकी आउँदा बीचको चौंरी खोला तर्न पुल नभएपछि कुर्दाकुर्दै दुई दिन बित्यो र भरखरै जन्मिएको उनको बच्चा बचाउन सकिनन् । यही पिडावोधले गर्दा डाक्टर रामले चौंरी खोलामा मोटरै गुड्ने पुलसँगै बाटो पनि बनाईदिए ।
कसरी सम्भव भयो त ? के हो यो सफलताको रहस्य? धुलिखेल अस्पतालको इतिहासले भनिरहेको छ इमान्दारिता, लगनशीलता र पारदर्शीता नै मूल सूत्र हो ।
स्थानियले दिएको निशुल्क जमिन, नगरपंचायतले १५ लाख र डाक्टर रामले भियनाको जागिर छाडेर आउँदा साथीभाईहरु मार्फत जम्मा भएको २० लाख बाट शुरु गरेको धुलिखेल अस्पतालमा अहिले वर्षको ३ अरब भन्दा धेरैको कारोबार हुन्छ । शुरुमा वार्षिक बजेट भनेको २० लाख भन्दा कमै थियो । पैसाको कुरा त एकातिर छ भने अर्कोेतिर डाक्टर राम र उनको टिमले पुर्याएको सेवा पैसासँग तुलनै गर्न नमिल्ने अतुलनिय छ ।
स्वच्छ मनले सेवा गर्नुस खर्च जुटिहाल्छ भन्ने डाक्टर रामलाई सोचेको कुरा गर्न पैसाको खासै खाँचो कहिल्यै भएन । बरु समय अपुग भएको महसुस चाहीँ भएकै हो ।
अस्पताल निर्माणमा डाक्टर रामलाई सहयोग गर्ने धेरै लक्ष्मणहरु पनि जुट्दै गए । अस्पताल जानेले सजिलै उच्चस्तरीय सस्तो स्वास्थ्य सेवा पाउने भएकोले धुलिखेल बजारमा कहिँ पनि डाक्टरका प्राइभेट क्लिनिकहरु पाउन सकिँदैन ।
अस्पताल सँगै सिर्जना भएका रोजगारी र अवसरहरुको अर्कै कहानी बन्छ । १ हजार ५ सय भन्दा धेरै कर्मचारी मध्येका एक ड्राइभरले आफ्नो छोरालाई डाक्टर पढाउन सके । यस्ता उधाहरणहरु त धेरै नै छन् ।
मेडिकल कलेजबाट वर्षमा १०० जना विषेसज्ञ डाक्टर, १५० जना एमबिबिएस र ५० जना बिडिएस डाक्टरहरु सेवाकालागी तयार भएर निस्कन्छन् भने नर्स सहित अन्य फ्याकल्टीबाट २५० भन्दा धेरै प्राविधकहरु स्वस्थ्य क्षेत्रमा खटिन पुग्छन् ।
काठमाण्डौं विश्व विद्यालयमा डा. सुरेशराज शर्माको उत्तराधिकारी भएर उपकुलपति हँुदा शर्माले गरेका प्रगति उन्नतिलाई निरन्तरता दिँदै विश्व विद्यालयलाई अझ माथि उठाएका थिए । वर्षको ८ सय भन्दा कम दीक्षित हुने ठाउँमा ३ हजार भन्दा धेरै दीक्षित बनाउन सफल भए । यस्तै डिफिसिटमा भएको प्रोग्रामहरुको भाइब्रेशन र भोल्युम बढाउँदै क्वान्टिटी सँगै क्वालिटि पनि उत्कृष्ठ बनाउन सके ।
यतिधेरै मानिसको जीवनमा खुशी छर्न सफल भएका डाक्टर राम आफैं चैं कति प्रशन्न र सन्तुष्ट होलान् त । उनको सहज प्रतिक्रिया यस्तो छ, के खुशी र प्रशन्नता भन्ने कुरा मानापाथीमा भर्ने, तराजुमा जोख्ने र फिताले नाप्ने वस्तु हो र । सेवा पाउनेको खुशी र सन्तुष्टी नै मेरो र अस्पतालको सम्पूर्ण टिमको सफलता या सन्तुष्टी हो नि ।
यो हो प्रेरणाको बलियो स्रोत, वास्तवमै राम कहानी ।
प्रतिक्रिया