जनमत

एक विनम्र खेलाडीको अवसान

विनम्रताको मूल्य बुझेका थिए नेता सुवासचन्द्र नेम्वाङ्गले र उनी आलोचकहरुलाई आफू अज्ञानी जस्तो देखिएर चोटिलो जवाफ दिन्थे नरम भाषामा। सदैव उनले यो शैलीलाई अपनाई नै राखे जीवनको अन्तिम सार्वजनिक संभाषणसम्म पनि। इलामको महेन्द्र रत्न बहुमुखी क्याम्पसबाट सुरु भएको उनको राजनीतिक भाषणले लामो यात्रा तय गरेपछि धरानमा विश्राम लियो, शरीरले काठमाडौंमा!

स्वतन्त्र विद्यार्थी युनियनको सभापति भएपछि सक्रिय राजनीतिबाट अलपझैं भएका सुवासचन्द्र नेम्वाङ्ग लामो समय कानून व्यवसायमा सक्रिय रहे। त्यहाँ पनि उनी जमेकै वकिलमा गणना गरिन्थे। उनी र उनकै घनिष्ठ मित्र अर्का चर्चित वरिष्ठ अधिवक्ता भरतराज उप्रेतीले स्थापना गरेको पायोनियर ल फर्म नेपालमा आदरपूर्वक लिईने संस्था मानिन्छ। समयक्रममा सुवासचन्द्र नेम्वाङ्गले राजनीतिको नयाँ अध्यायमा प्रवेश गरे भने भरतराज उप्रेती सर्वोच्च अदालतको अस्थायी न्यायाधीश भए। उप्रेतीको आकस्मिक अवसान भयो! उनको अनपेक्षित अवसान हुँदा त्यस पेशाका सबैले गहिरो पीडा महसुश गरेका थिए भने अहिले सुवासचन्द्र नेम्वाङ्गको निधनलाई पनि राजनीति लगायतको क्षेत्रले सहजै विश्वास गर्न सकिरहेको छैन।

प्रसंग संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङ्गको हो। प्राध्यापन र वकालतबाट खारिएका उनको सात दशकको जीवन यात्रालाई कम उपलव्धिमूलक मान्न सकिँदैन। एमालेले राष्ट्रिय सभामा मनोनित गरेपछि उनको राजनीतिक करिअरले सक्रिय भूमिका पाएको थियो। त्यसपछि सार्वजनिक लेखा समितिको सभापति, मन्त्री हुँदै अघि बढेको उनको सक्रियता प्रतिनिधि सभाको सभामुखमा आरोहण गर्यो। हिंसात्मक द्वन्दको पटाक्षेप गर्दै शान्ति प्रक्रियामा फर्किएको राजनीतिको एम्पायर जस्तै भूमिका सुवासचन्द्र नेम्वाङ्गको काँधमा आईपर्यो। राष्ट्रिय राजनीतिको एउटा ऐतिहासिक जिम्मेवारीका लागि उनको छनौटमा कुनै विवाद थिएन, कसैले विमति पनि जनाएनन्। त्यस भूमिकामा सुवासचन्द्र नेम्वाङ्गको सर्वसम्मत चयन राजनीतिमा उनको उच्चतम मूल्याङ्कन र सफलता थियो भन्दा अन्यथा हुनेछैन। 

त्यसपछि संविधान सभाको दुइ पटक अध्यक्षको जिम्मेवारीमा पनि उनकै पक्षमा बनेको राष्ट्रिय सहमति त सुवासचन्द्र नेम्वाङ्गले पाएको ऐतिहासिक विश्वास, सम्मान र उच्च तहको भरोसा नै थियो। जो उनले जीवनमा पाएको सर्वोच्च पुरस्कार हो भन्दा फरक नपर्ला। पटक पटक व्यवस्थापिकाको नेतृत्व गर्ने अवसर पाउने उनी अहिलेसम्मका एकमात्र नेता हुन्। यो कालखण्डलाई आधार बनाएर उनको भूमिकाको समुचित समीक्षा सहितको मूल्याङ्कन अभिलेख हुनपायो भने राजनीतिक इतिहासका अध्येताहरुले भविष्यमा महत्वपूर्ण सन्दर्भ सामग्री अध्ययन गर्न पाउने छन्।

इलामको निर्वाचन क्षेत्र २ लाई पटक पटक प्रतिनिधित्व गरेका सुवासचन्द्र नेम्वाङ्गलाई पछिल्लो संसदीय निर्वाचनमा भने ठूलै चुनौति खडा भएको थियो। यसअघिका निर्वाचनको ठूलो मतान्तर स्वाट्टै घटेर झिनो मतान्तरमा झरेर टिकेको थियो उनको विजय। परिणाममा आएको यति ठूलो अन्तरले उनी नराम्ररी झस्किएका थिए। यस्तो परिणाम आउनमा विपक्षी दलका प्रतिष्पर्धी भन्दा पनि ज्यादा आन्तरिक प्रतिद्वन्दीहरु नै मुख्य कारण रहेको निर्वाचनमा सक्रिय रहेका स्थानीय नेताहरुको बुझाई थियो। भलै उनी स्वयंले यसका प्रति कसैलाई दोष लगाएनन्, आरोपित पनि गरेनन् र असन्तोष पनि प्रकट गरेनन्। उनको सदावहार विनम्र शैलीमा वजनदार जवाफ दिएर सुवासचन्द्र नेम्वाङ्ग प्रतिनिधि सभाको सदस्यको स्थानमा आएर सक्रिय रहे। ‘माननीय सदस्यहरु आफ्नो स्थान ग्रहण गरौं’ भन्ने आदत बसिसकेको आफूलाई उनले सदनको ‘वेल’ घेराउमा पनि उभ्याए, रोष्ट्रममा उभिएर सभामुखलाई आच्छुआच्छु पार्नेगरी प्रश्नहरु पनि तेस्र्याए। स्वतन्त्र विद्यार्थी युनियनको सभापतिमा विजयी भएर राजनीतिको पटरीमा जीवनको रेल गुडाउन थालेका सुवासचन्द्र नेम्वाङ्गले राष्ट्रपतिको निर्वाचनमा पराजित भएर राजनीतिको बीट मार्दै अन्ततः जीवनमै पूर्णविराम लगाए। जो सांसारिक अपेक्षा विपरित ठानियो। तर यो कसैको नियन्त्रण बाहिरको घटना थियो। सुवासचन्द्र नेम्वाङ्गको अवसानपछि समाजले जसरी उनलाई भारी मनले सम्झियो यसबाट उनको क्रियाशीलताको अझै अपेक्षा गरिरहेको प्रष्ट देखियो। 

एउटा राजनीतिकर्मीका हातमा यति ऐतिहासिक, उल्लेखनीय र महत्वपूर्ण उपलव्धि विरलै प्राप्त हुनसक्छ, सुवासचन्द्र नेम्वाङ्गले त्यति उपलव्धि हात पारेर विदा भए। उनको यो अमीट सफलता लामो कालखण्डसम्म अतुलनीय नै रहने छ भन्दा अत्युक्ति हुने छैन। राजनीतिका दृश्य अदृश्य भूमिकामा उनको समन्वयकारी योगदान नजिकबाट नियालेको र कतिपय प्रसंगमा प्रत्यक्षदर्शी समेत भएको हुनाले संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङ्गकै जस्तो गुण भएको अर्को नेता न एमालेले अघि सार्न सक्छ न त अरु कुनै दलहरुसँग नै त्यस प्रकृतिका नेता छन् भन्न यो पंक्तिकारलाई कुनै द्विविधा छैन।

कोइरालाका प्रिय सहयोगी

सर्वविदित प्रसंग हो, नेपालका कम्युनिस्ट पार्टी र तिनका नेता कार्यकर्ताहरु नेपाली कांग्रेसका तत्कालिन सभापति गिरिजा प्रसाद कोइरालाको नाम सहजै सुन्न चाहँदैन थिए। अगणित विशेषण दिएर आकण्ठ आलोचना गर्दा पनि गिरिजा प्रसाद कोइरालाप्रतिको कथित तूस मेटिँदैन थियो उनीहरुको र सँधै एक्ला कोइरालालाई नै सिंगो प्रतिद्वन्दी जस्तो गरी तारो बनाई नै रहे लामो समयसम्म। तर समय एकनाससँग अघि बढिरह्यो र तिनै गिरिजा उनै कम्युनिस्ट दल र नेता कार्यकर्ताका प्रिय पात्र पनि बनेको समयले अभिलेख गर्यो। 

धेरैलाई जानकारी नहुन पनि सक्छ कि राष्ट्रिय राजनीतिको मियो झैं बनेका कोइराला कतिपय संगीन अवस्थामा सुवासचन्द्र नेम्वाङ्गको खोजी गर्थे। माओवादीलाई हिंसाबाट शान्ति प्रक्रियाको मार्गमा ल्याएपछिका घटनाक्रमहरुमा कोइराला र नेम्वाङ्ग दुइजनामात्र बसेर पनि कैयौं बिषयमा काम गरेका थिए भनेर भन्दा पत्यार नलाग्न सक्ला तर यो सत्य हो। यी दुइ नेताहरुसँग सहकार्य गरेका अरु केही नेताहरुले यस कुराको पुष्टि गर्न सक्छन्। श्रमजिवी पत्रकार ऐन र सूचनाको हक सम्बन्धी ऐन निर्माण गर्ने कामको थालनी गर्दाका समयमा यी दुइ नेताको चासो र तत्परता प्रत्यक्ष सहभागी भएर अनुभव गरेको छु, मैले। 

अर्को रोचक प्रसंग के भने अनेक किसिमका अर्घेलो झिकेर राजनीतिक गतिलाई उल्झनमा पार्ने आदत बसेका आआफ्नै पार्टीका कतिपय नेतालाई ठेगान लाउन कोइराला र नेम्वाङ्ग सहकार्य गर्थे, किसानले पर्म लाए जसरी। कसले भन्दा कुन नेता कसरी शान्त हुन्छ भन्ने तय गरेपछि उनीहरु यसमा सहकार्य गर्थे। यो गुप्त सहकार्यको जानकारी भएका केही पूर्व प्रधानमन्त्रीहरु र वरिष्ठ नेतागण कोइराला र नेम्वाङ्गलाई ‘षड्यन्त्रकारी’ ठान्थे! ‘षड्यन्त्रकारी’ नेताहरुले यसरी पनि अप्ठेरोमा पर्नै लागेको राजनीतिलाई सम्वादको सघनताबाट जोगाउँदै निरन्तर अघि बढाएका कतिपय प्रसंग सार्वजनिक खपतका बिषय हुनसक्दैनन्।

संविधान निर्माण र घोषणासम्मको भूमिकामा नेम्वाङ्गलाई आलोचनाको केन्द्रमा राखेर टिप्पणी गर्ने शक्ति केन्द्र, वर्ग र घरानाको असन्तुष्टि यथावत नै देखिन्छ। आकाशमा चन्द्र र सूर्य रहेसम्म पनि सन्तुष्ट नहुने गरी असन्तुष्ट हुनु असन्तुष्ट हुनेहरुकै समस्या हो। यसको उपचार अरु कसैबाट सम्भव देखिँदैन। तैपनि यस प्रसंगको बारेमा यथोचित समीक्षा हुनसकेमा राजनीति शास्त्रका अध्येता र अन्वेषकलाई सहयोग नै पुग्ने छ भने अन्योल र भ्रमको समेत उपचार हुने छ।

शान्त खेलाडी

नेम्वाङ्गलाई फुटबल र राजनीतिका शान्त स्वभावका खेलाडी मानिन्छ। विद्यार्थी जीवनमा उनी फुटबल खेल्थे आफू पढ्ने स्कूलको टिमबाट र पछि त टिम क्याप्टेन पनि भएर नेतृत्व गरेको सम्झन्छन् उनका सहपाठी। आदर्श माध्यमिक विद्यालय इलामका उनका सहपाठी स्थानीय व्यवसायी कुमार वैद्यका अनुसार, उनीहरु सात घण्टा पैदल यात्रा गर्दै कन्यामको मैदानमा फुटबल खेल्न गएका थिए। गृह जिल्ला जाँदा नेम्वाङ्ग ओछ्यानमा पुगेपछि आफ्ना सहपाठीहरुलाई फोन गरेर लामो वार्ता गर्ने गर्थे। नयाँ पुराना सन्दर्भहरुको चर्चा गरेर आफूलाई ताजा बनाउँथे।

नेपाली कांग्रेसको सक्रिय राजनीतिबाट अवकाश लिएर आध्यात्मिक यात्रामा रमाईरहेका नेवज गुरुङ्ग ती मित्रमध्येका एक घनिष्ठ मित्र हुन्। 

‘सुवास इलाम आएपछि दिनभरी व्यस्त हुन्थ्यो तर राती फोन गर्थ्यो अनि हामी विभिन्न बिषयमा लामो कुराकानी गर्थ्यौं। कहिलेकाहीँ त निकै चिन्तित जस्तो पनि लाग्थ्यो। हामी निरन्तर सम्पर्कमा थियौं। दुःख लागिरहेको छ, उ निकै चाँडो गयो हामीलाई छोडेर,’ गुरुङ्गले मित्र सम्झिँदै भने!

नेता सुवासचन्द्र नेम्वाङ्गको भौतिक अध्यायको अन्त्य भएको छ। तर इतिहास चैं जिउँदोजाग्दो नै छ। भलै उनी प्राविधिक रुपमा एमालेका नेता थिए। भूमिकाले भने उनलाई विस्तार गरेर राष्ट्रिय नेताको उचाईमा स्थापित गरिदिएको छ। र यस्तो भूमिका जसको गहिरो अध्ययन, विश्लेषण र समीक्षा सहितको अभिलेख हुनसकोस्। आजै त धेरैलाई सहज स्वीकार्य नलाग्न पनि सक्ला तर सत्य यो हो कि सुवासचन्द्र नेम्वाङ्ग इतिहासको एउटा अनिवार्य पाठ्य पुस्तक हुन्, समयक्रममा यो सर्वस्वीकार्य लाग्दै जाने छ।

नेपालको राजनीतिका अविष्मरणीय पात्र सुवासचन्द्र नेम्वाङ्ग जसलाई गाउँले सम्बन्धले ‘सुवास दाई’ भनेर सम्वोधन गर्ने गर्थें। कैयौं यात्राका, आन्दोलन तयारी र परिचालनका, कतिपय विस्मृतिको सन्दुकमा सदैव बन्द राख्नुपर्ने घटनाहरुका संस्मरणहरु ताजा बनेर जुर्मुराई रहेका छन् यतिबेला। वाल्यकालदेखि जीवित रहँदासम्म विभिन्न सन्दर्भमा निकट रहेको एउटा प्रिय मान्छेको आकस्मिक अवसान सदैव अपत्यारिलो नै लाग्दो रहेछ! सुवास दाईको अन्तिम विदाई यस्तै लागिरहेको छ, लागिरहने छ!

शब्दका यिनै गुच्छाहरु प्रिय दाईलाई सादर श्रध्दाञ्जलि!

प्रतिक्रिया