काठमाडौं। काठमाडौं महानगरपालिकाले देशभित्र र अन्तरराष्ट्रिय पाहुनालाई इन्द्रजात्रा अवलोकन गर्न निमन्त्रणा गरेको छ। महानगरकी उपप्रमुख सुनिता डङ्गोलले सोमबार पत्रकार सम्मेलन गरी भोलिदेखि विधिवतरूपमा सुरू हुने जात्रा अवलोकन गर्न आग्रह गरेकी हुन्।
उनले भनिन्, ‘अहिलेसम्म २० जना विदेशी पाहुना र २२ जना स्वदेशी पाहुना अवलोकनका नागि आउने निश्चित छ । त्यसरी आउने पाहुनाहरूलाई इन्द्रजात्रा सञ्चालन हुने रुटमा पर्ने हनुमानढोका केन्द्रीत सम्पदा पदयात्रा, हाँडीगाउँ र स्वयम्भू र भक्तपुर दरवार स्क्वायरको भ्रमण अवलोकन, कुमारी रथ यात्राको अवलोकनलगायत कार्यक्रममा सहभागी गराइनेछ ।’
महानगरपालिकाले जात्रा सञ्चालन तथा व्यवस्थापनका लागि इन्द्रजात्रा व्यवस्थापन समितिसँगको सहकार्य गरेको छ । महानगरले सांस्कृतिक, सामाजिक तथा धार्मिक क्रियाकलाप सञ्चालन, प्रवद्र्धन काम गरिरहेको उपप्रमुख डङ्गोलले बताइन् ।
त्यस्तै उनका अनुसार जात्रा अन्तर्गतका वन प्रस्थान, लिङ्गो नगर प्रवेशलगायत कम सम्पन्न भइसकेका छन् भने शान्ति सुरक्षा, सरसफाइ, सम्पदाहरूको मर्मत संभार, रङ्गरोगन, रथयात्राको रुटमा पर्ने सडक मर्मत भएको छ ।
जात्रामा राष्ट्र प्रमुखबाट श्री गणेश, श्री भैरव र श्री कुमारीको दर्शन गर्ने परम्परा छ। यो चलन मल्ल राजा जयप्रकाशका पालादेखि चलेको विश्वाश गरिन्छ। त्यसबेला राजा आफैँ पनि कुमारीको रथ यात्रामा जान्थे भन्ने भनाइ पाइन्छ।
लिच्छवीकालीन राजा गुणकामदेवका पालादेखि जात्रा चलिआएको मानिन्छ। जीवित देवी कुमारीको पूजा गर्ने र शाक्य थरकी कन्यालाई देवीका रूपमा पूजा गर्ने चलनलाई मल्ल कालसँग जोडेर हेर्ने गरिएको छ।
तत्कालीन राजामा तान्त्रिक शक्ति भएकाले उनले देवीसँगको नियमित भेट गर्ने गरेको, देवीसँगै खेल खेल्ने गरेको, भेटघाटका क्रममा राजाका मनमा भोग र वासना उब्जिएपछि देवीबाट श्राप प्राप्त गरेको कथा यससँग जोडिएको छ।
यसबाट पाएको दोष कटाउन र शासन बचाउन सुरु गरिएको परम्पराका रूपमा जात्रालाई हेरिन्छ। यसैकारण पनि कुमारीको रथ यात्रा हुनु पूर्व गणेश, भैरव र कुमारीको दर्शन गर्न राष्ट्र प्रमुख उपस्थित हुने गरेको भनाइ छ। (नेपाल न्यूज बैंक)
प्रतिक्रिया