काठमाडौं। सरकारले सुन तस्करी प्रकरणको छानबिन गर्न पूर्व न्यायाधीश डिल्लीराम आचार्यको नेतृत्वमा जाँचबुझ आयोग गठन गरेको छ।
आजको मन्त्रिपरिषद् बैठकले सुन तस्करी प्रकरणमा उच्च अदालतका पूर्व न्यायाधीश डिल्लीराम आचार्यको संयोजकत्वमा चार सदस्यीय जाँचबुझ आयोग गठन गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।
बैठकको निर्णय सुनाउँदै सरकारकी प्रवक्ता रेखा शर्माले भनिन्, ‘गृह मन्त्रालयको प्रस्तावमा सुनको अबैध तस्करी नियन्त्रण गर्न सुझावसहितको प्रतिवेदन पेश गर्न जाँचबुझ आयोग गठन गर्ने जुन निणर्य थियो त्यो अनुरुप उच्च अदालतका पूर्व न्यायाधीश डिल्लीराम आचार्यको संयोजकत्वमा चार सदस्यीय आयोग गठन भएको छ। जसमा अर्थविज्ञको रुपमा किशोरजंग कार्की, गृह मन्त्रालयको प्रतिनिधिको रुपमा प्रमराज जोशी र सहकुल थापा सहितको चार सदस्यीय जाँचबुझ आयोग गठन भएको छ।’
साथै सरकारले आयल निगमलाई पेट्रोलियम पदार्थको मूल्य यथावत राख्न निर्देशन दिएको छ।
आइतबार बिहानको सर्वदलीय वैठकपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका थिए।
प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज भएको छलफलपछि उक्त निर्णय गरिएको छलफलमा सहभागी एमालेका सचेतक महेश बर्तौलाले जानकारी दिए।
“मन्त्रिपरिषदको बैठकले उच्च अदालतका पूर्वन्यायाधीशको संयोजकत्वमा आजै तीन सदस्यीय छानबिन आयोग गठन गर्ने र उक्त निर्णय आजै बस्ने प्रतिनिधिसभाको बैठकमा जानकारी गराउने सहमति भएको छ”, सचेतक बर्तौलाले भने।
सुन तस्करी प्रकरणका सम्बन्धमा एमालेलगायतका दलले उच्चस्तरीय छानबिन आयोगको माग गर्दै आएकोमा गत भदौ ६ गते सरकार र राजनीतिक दलबीच असोज ५ सम्म उच्चस्तरीय छानबिन आयोग गठन गर्ने र सोही दिनदेखि आयोगले काम गर्ने सहमति भएको थियो। आयोगलाई छानबिनका लागि तीन महिनाको समय दिइएको छ।
यसअघि आज विहान प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच छलफल भएको थियो। उक्त छलफलपछि प्रधानमन्त्री दाहालले सत्तारुढ दलसँग पनि सो विषयमा छलफल गरेका थिए। आजको छलफलमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलमध्ये राष्ट्रिय स्वतन्त्र पार्टीबाहेकको उपस्थिति थियो। (नेपाल न्यूज बैंक)
प्रतिक्रिया