आजको मौसम: भारी वर्षाको सम्भावना

काठमाडौँ। नेपालमा हाल भारतको विहार र पश्चिम बङ्गाल आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभावले पछिल्लो तीन दिनदेखि देशका विभिन्न स्थानमा सामान्य वर्षा भइरहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। दिउँसो कोशी, मधेस र लुम्बिनी प्रदेशका एक– दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ। रातिको समयमा पनि कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशको एक–दुई स्थानमा मेघ गर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। मधेस, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा अवस्थित रहेको र नेपालमा हाल भारतको विहार र पश्चिम बङ्गाल आसपासको क्षेत्रमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेकाले अझै केही दिन बदली र वर्षा हुने महाशाखाले प्रक्षेपण  गरेको छ। (रासस)

प्रतिक्रिया