अन्त्य भनेको प्रारम्भ पनि हो

‘अन्त्य भनेको प्रारम्भ पनि हो।’ यस अर्थमा कि मुक्तक साधक रोमा लम्सालले मुक्तक सञ्चयन ‘अन्तिम भेट’ बोकेर प्रस्तुत भएकी छिन् र उनै कृतिकारले यसै कृतिमार्फत साहित्यमा आफ्नो नाम टाँचा लगाउने भगीरथ कार्य गर्दै शिष्ट साहित्ययात्रा प्रारम्भ गरेकी छिन्। कृतिकार रोमा लम्सालको ‘अन्तिम भेट’ नामक पुस्तक यतिबेला हातमा परेको छ।

भरत बोहरा समर्पणज्यूको मनोहर आवरणकलाले सुसज्जित रहेको र समीर प्रकाशन एण्ड मिडिया प्रा.लि.ले प्रकाशनमा ल्याएको, कञ्चनरुप सप्तरी स्थायी ठेगाना भई हाल काठमाडौँ बस्दै आएकी रोमा लम्सालले ‘अन्तिम भेट’ मुक्तक सञ्चयन उहाँहरूलाई समर्पित गरेकी छिन्। “जसले मलाई यो पावन धरती चुम्ने सुनौलो अवसर दिनुभयो” भनेर यो एक वाक्यले एउटा सिङ्गो काव्य चलचित्र झैँ आँखा वरपर खेलिरहेको अनुभूति हुन्छ। यो एक क्षमतावान लेखकको परिचय हो भन्ने कुरा प्रस्तुत गरेकी छिन्।

मुक्तक सञ्चयनभित्र अब प्रवेश गर्दैछु। अग्रज तथा शुभेच्छुकहरूद्वारा शुभेच्छाप्राप्त ‘अन्तिम भेट’मा २०२ ओटा मुक्तकहरू सङ्ग्रहित छन्।अधिकांश पुस्तकमा शीर्ष रचना एक वा बढीमा दुईओटासम्म पाइएको छ अथवा कुनै एक वाक्य वा शब्दका आधारमा पुस्तकमा शीर्षक राखिएको पाइएकोछ तर ‘अन्तिम भेट’ मा यसको अलग प्रयोग भेटेँ। पुस्तकको आवरणमा राखिएको मुक्तकका साथै (१) नम्बरबाट सुरु भएर ५ ,२५ ,४५ ,५० ,६९ ,७१ ,१०० ,१५० लगायत समापन मुक्तक २०२ को मुक्तक पनि शीर्ष रचना अर्थात् ‘अन्तिम भेट’ राखिएकोछ। जसमा अलग अलग विषयवस्तु र स्वाद पाइन्छ। यो लेखकको आकर्षक कला हो।

यसो हेर्दा ,पढ्दा र सुन्दा मुक्तक सजिलो र जसलेपनि लेख्नसक्ने त रहेछ नि भन्ने जुन खाले भ्रम थियो र रहिआएको थियो। केही समय यी र यस्ता भ्रमबाट आफूलाई दूर राखिन। मुक्तक लेख्न वास्तवमै सहज नहुनेरहेछ भन्ने कुरा समकालीन मुक्तकसाधक ‘जिज्ञासु पौडेल तिलकज्यूको ज्वालामुखी’ पढेपछि आफू वर्तमान मुक्तक फाँटमा उब्जिएका मुक्तकरूपी फलप्रति असन्तुष्ट रहेकी कृतिकारले छोटो समयलाई सदुपयोग गर्दै मुक्तकमा चमत्कार नै देखाएकी छिन्। कृतिभित्रका मुक्तकहरूले प्रेम, असन्तुष्टि, व्यङ्ग्य, बालापन, ग्रामीण परिवेश, विवशता, अभाव, देश, जिन्दगी, आफन्तको चर्चा, मातृत्व, सन्देश जस्ता विषयहरूमाथि अत्यन्तै लोभलाग्दो किसिमले बोलेका छन्।
           मुक्तक (३१)
          *********
        पठाउन मन छैन हात खाली के लिएर जान्छौ 
        छुट्ने बेलामा अँगालो हाली के लिएर जान्छौ 
        परारको औँठी हरायौ पोहोरको रुमाल फाट्यो
        मायाको चिनो यसपाली के लिएर जान्छौ 
उक्त मुक्तकमा प्रेमलाई यसरी झल्काइएको छ कि; प्राप्तिमात्र प्रेम होइन। त्यागमा अनन्त प्रेमको बास हुन्छ भन्ने कुरा उक्त मुक्तक साथै मुक्तक न. ३, ७, १३, २३, ३८, ५५, ६८, ७५, लगायत अधिकांश मुक्तकहरूमा प्रेमलाई मूर्त बनाउने कोशिस गरिएकोछ।  
          मुक्तक (२४)
          *********
     सुस्केराको श्वास फेरिरहेँ गाग्री बोकी बोकी
     गाग्रीलाई हातले घेरिरहेँ गाग्री बोकी बोकी
     कम्मरको गाग्रीलाई तिम्रै स्वरूप कल्पिएर
      तिमी जाँदा हेरिरहेँ गाग्री बोकी बोकी
आशाहरू अङ्कुराएका भेटिन्छन्। शायद; कृतिकार अमोघवाञ्छित भएर पनि होला।
                    मुक्तक (१७१)
                    ********
                    रहरको अँगालोले घेर्थ्यौ गट्टा खेल्दाखेरि
                    तिमी मनको धोको फेर्थ्यौ गट्टा खेल्दाखेरि
                    उमङ्गका सीमारेखा फैलाएर कुनाबाट
                    लुकीलुकी मलाई हेर्थ्यौ गट्टा खेल्दाखेरि
उक्त मुक्तक साथै मुक्तक न. (१७५) मा ग्रामीण परिवेश साथै किशोरावस्थामा पाइला राख्ने अवस्थाको अवोध र निश्छल प्रेमलाई सजिला शब्द तर गहिरो भावले कृतिकारले दर्शाएकी छिन्।
                         मुक्तक (१५)
                         ******
               शीत उठाएर घैला भर्ने मेरा बा पनि थिए
               बिर्सिए पनि सम्झिनैपर्ने मेरा बा पनि थिए 
               सालिक बनेन,सहिद भनिएनन् अलग कुरा हो 
              देशकै खातिर लड्दा मर्ने मेरा बा पनि थिए 
उक्त मुक्तकमा असन्तुष्टि पोखिएको छ र व्यङ्ग्य पनि छेडिएको छ। देशका लागि मर्नेको यहाँ कदर हुँदैन यो असन्तुष्टि हो भने सहिद घोषणा गराउनका लागि तँछाडमछाड हुने कुरा व्यङ्ग्य हो।
                  मुक्तक (२६)
                  *********
              दिनेले नदिए नि उचित भाउ देश छोड्ने बेला
              नबनाऊ नयनलाई तलाउ देश छोड्ने बेला
              परदेशमा पनि देशकै सुगन्ध आइरहन्छ 
              एक पसर माटो लैजाऊ देश छोड्ने बेला
उक्त मुक्तकमा देशको अवस्थाले गर्दा परदेश जान बाध्य युवाको विवशतालाई उजागर गराउँदै सरकारलाई बडो! कलात्मक रूपमा व्यङ्ग्य गरिएको छ भने यस मुक्तक सँगै कृतिकारले  ३७, १०३, ५३, ६३, १२९, १५२, १६१, १६६, १८४, १९१ लगायतका मुक्तकहरूमा देशप्रति चासो,चिन्तन र देशप्रेमलाई चित्रण गरेकी छिन्।
           मुक्तक(११४)
         **********
        आज तान्दा भोलि तान्दा तानिरहन मन लाग्छ 
        छोड्न मनै लाग्दैन आधा तानिरहन मन लाग्छ 
        हुक्काकै सर्को तानेर बुबाले यसै भन्नुहुन्थ्यो
        नतान्नू कहिल्यै हुक्का तानिरहन मन लाग्छ 
आफूलाई सकेसम्म धेरै भन्दा धेरै विषयमा भिजाउने कोशिस गरेकी छिन् सर्जकले। माथिको मुक्तक मार्फत सामाजिक सन्देश प्रदान गरेकी छिन् कि “धुम्रपान स्वास्थ्यको लागि हानिकारक छ” भनेर।
       मुक्तक (१३३)
      *********
      समय चलेकै थिएन अनुकूल मनाएर गयौ
      माफी माग्यौ गरेँ भनेर भूल मनाएर गयौ
      जिन्दगीले अप्रिलफूल मनाइरहेको बेला 
       तिमी पनि त अप्रिलफूल मनाएर गयौ
कुनै पनि काम नौलो हुँदैन तर नवीन ढङ्गबाट गर्न सकिने छ भनिएको छ। यही भनाइलाई चरितार्थ गर्दछ उक्त मुक्तकले। कसैलाई झुक्क्याउने कुरालाई पनि हामी उत्सवका रूपमा मनाउने अप्रिलफूललाई सजिलोसँग व्यङ्ग्य गर्दै फरक तवरले मुक्तक बनाइएको छ।
       मुक्तक (२८)
       *****
       सकिन जति गर्दा पनि जतन ,बगाएको छ 
       पोहरको भन्दा यसपाली झन् बगाएको छ 
       मेरा  बालबच्चा भोकभोकै छन् मालिक
       बाढीले खेत बगाएको छ आगन बगाएको छ 
सर्जकले दुर्गम अनि त्यहाँ अवस्थित अभावलाई उक्त मुक्तकका साथै  ६, ५१, ८६, ५२, ७०, ७६, १२५ लगायतका मुक्तकमा लेखेकी छिन्।

मुक्तक सञ्चयन ‘अन्तिम भेट’ अन्तर्गत रहेका सम्पूर्ण मुक्तकहरू पढ्दा सर्जक मुक्तक विधाप्रति कहीँ कतै अन्योलमा रहेको या अलमलिएको देखिएन। मुक्तकमा हुनुपर्ने सैद्धान्तिक पक्ष होस् या फेरि भावपक्ष होस् सर्जक यी कुरामा पारङ्गत रहेको छर्लङ्ङ हुन्छ कृति पढेपछि।

केही कुरा चाहिँ कस्ता हुने रहेछन् भने थाङ्नुको धूलो जस्तो। जति टक्टक्याए पनि नसकिने। टङ्कण त्रुटि, मुद्राराक्षस जस्ता स -साना त्रुटिबाट अन्य पुस्तक जस्तो यो पुस्तक पनि अछुत रहनभने नसकेको पाइयो।

कृतिका केही केही मुक्तकहरूमा भाव पक्ष समान होकि होकि लाग्ने तर नहुन पनि सक्ला किनभने फरक जिभ्रोको स्वाद फरक फरक अवश्य हुनेछ भन्ने आशा छ र मुक्तक पढ्ने क्रममा मुक्तक न. १५२ सँग मुक्तक न. १९१ पुनरावृत्ति भएको भेटिन्छ।

विशेषगरि गजलमा चल्ने कलम मुक्तकमा जाँगरिला भएर चलेको देख्दा ज्यादै खुशी लागेको छ। छोटो समयमा नै नेपाली साहित्य आकाशमा रुबाइयात शैलीका मुक्तकमाथि आफूलाई फरक तवरले हिम्मतको उडान भर्न सक्षम गराएकोमा हार्दिक बधाई साथै कृति सफलताको शुभकामना।
                       शिवपुरीको काखबाट
                         आँचल कुमार शर्मा

प्रतिक्रिया