बिहानैदेखि आकाश खुलेपपछि मन्थलीमा अलपत्र पर्यटक सोलु उडे

रामेछाप। खराब मौसमका कारण पाँच दिनदेखि मन्थलीमा रोकिएका पर्यटकहरू बिहीबार बिहानैदेखि सोलु उड्न लागेका छन्।

मौसम खराब हुँदा लुक्लामा हवाई उडान हुन नसकेको कारण सोलु हिँडेका पर्यटकहरू पाँच दिनदेखि मन्थलीमा रोकिएका थिए। लुक्लाको मौसम खराब भएपछि उनीहरू मौसम खुल्ने प्रतीक्षामा मन्थलीमा थिए।

गत शनिबारदेखि बिग्रिएको लुक्लाको मौसम बिहीबार बिहानैदेखि खुलेपछि मन्थलीबाट लुक्लाको उडान बिहानदेखि नै सुरु भएको नेपाल नागरिक उड्डयन प्राधिकरण रामेछापले जनाएको छ। पाँच दिन उडान हुन नसक्दा मन्थलीबाट लुक्लाका २ सय बढी उडान स्थगित भएका थिए।

मन्थलीबाट सीता, यति तथा समिट एयरलाइन्सका सातवटा बढी जहाजहरूले पर्यटकहरूलाई लुक्ला ओसार्दै आएका छन्। प्लेनको लागि अनुकूल मौसम नभएपछि केही यात्रीलाई हेलिकप्टरले समेत ओसारेका थिए। तर मौसमको प्रतिकूलताको कारण हेलिकप्टरले पनि नियमित सेवा दिन सकेका थिएनन्।

काठमाडौंबाट सगरमाथाको आधार शिविर जाने पर्यटकलाई मुख्य सिजनमा मन्थली विमानस्थलबाट सोलु पठाउने गरिन्छ। काठमाडौं स्थिति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप कम गर्न मन्थलीबाट पर्यटकीय उडान सञ्चालन हुने गरेको हो।

कामाडौंबाट मन्थलीसम्म सडक मार्गबाट आउने पर्यटक मन्थलीबाट प्लेनमा लुक्ला झर्ने गर्दछन्। उनीहरूलाई काठमाडौंबाट मन्थलीसम्म ल्याउने र मन्थलीबाट सोलु पठाउने टिकट लगायतको सबै काम काठमाडौंबाट नै ट्राभल एजेन्सीहरूले गर्ने गरेका छन्।(नेपाल न्यूज बैंक) 

प्रतिक्रिया