काठमाडौं। एसीसी यू १९ प्रिमियर कपमा कप्तान देव खनालको शतक र उत्कृष्ट बलिङको सहयोगमा नेपालले इरानमाथि २ सय ७४ रनको सानदार जित हात पारेको छ। जितका लागि ३ सय ५४ रनको विशाल विजयी लक्ष्य पछ्याएको इरान ३० दशमलव ५ ओभरमा ७९ रनमा अल आउट भयो।
इरानका ओपनर आमेर खोर्सन्दले २२ बलमा १ चौका र ५ छक्कासहित ३७ रन बनाए। साबेर इब्राहिमपुरले ४३ बलमा १ चौकासहित ११ रनमा नट आउट रहे।
अन्य कुनैपनि इरानी ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन ।
नेपालका दीपेश कँडेलले ७ ओभरमा ३ मेडनसहित ४ रन खर्चेर ३ विकेट लिए। सुवास भण्डारीले ८.५ ओभरमा ४ मेडनसहित ६ रन खर्चेर ३ विकेट लिए। हेमन्त धामी र आकाश चन्दले दुई दुई विकेट लिए।
त्यसअघि मलेसियाको वाइएसडी युकेएम ओभल बाँगीमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल ४० दशमलव १ ओभरमा सबै विकेट गुमाएर ३ सय ५३ रनमा अल आउट भएको थियो। नेपालको जितमा कप्तान देव खनालले ६० बलमा १२ चौका र ४ छक्कासहित १ सय रनको शतकीय इनिङ खेलेका थिए।
इरानका दद्रहमान राइसीले ९ ओभरमा ६७ रन खर्चेर ३ विकेट लिए । सलमान निज्मान्दले ८ ओभरमा ६२ रन खर्चेर ३ विकेट लिए । समान शेखी र जियाद राइसीले समान दुई विकेट लिएका थिए ।
प्रतियोगितामा शीर्ष तीन टोलीले पाकिस्तानमा आगामी डिसेम्बरमा हुने एसिया कप खेल्न पाउनेछन्। (नेपाल न्यूज बैंक)
प्रतिक्रिया