‘साथीहरूको धेरै याद आउँछ, म सुत्न पनि सक्दिनँ, सपनामा पनि उनीहरूलाई नै देख्छु’

काठमाडौं। ‘बिहान ६ बजेदेखि मिसाईलहरु पड्किन थाले त्यसपछि हामी बङ्करभित्र भाग्यौं।’ हमासको आक्रमणमा परि घाइते भएका धनबहादुर चौधरीले शुक्रबारको झिसमिसे बिहानीमा काठमाडौं उत्रिएपछि पत्रकारहरूसँग आक्रमण घटना सुनाए। 

थरथरी काँपीरहेका ओठ र ह्वीलचियरको सहायतामा रहेका उनलाई सञ्चारकर्मीले घेरेका थिए। उनी भने काँपीरहेका थिए। आफ्नै अगाडि कैयौं साथीहरू छटपटाउँदै मृत्युको मुखमा पुगेको देखेका उनले आफू बाँचेको कुरा नै सपना जस्तो लागेको सुनाईरहेका थिए। ‘बिहान ६ बजेदेखि मिसाइलहरु पड्किन थाले। त्यसपछि हामी बंकरभित्र भाग्यौं। ८ बजेतिर एक्कासी त्यहाँ हमासहरुको आक्रमण भयो। २ जना साथीहरुलाई गन हानेर त्यही मारिदिए।’ कारुणिक स्वरमा चौधरीले सुनाए।

हिँड्नै नसक्ने अवस्थाका चौधरीलाई विमानस्थलका कर्मचारीले ह्वीलचियरको सहायतामा विमानस्थल बाहिर ल्याएका थिए। लामो हवाई यात्रा, घाइते शरीर त्रासदीपूर्ण समयको साक्षी बन्दाको सन्नाटा आँखामा प्रष्ट झल्किन्थ्यो। सञ्चारकर्मी कसैले पनि उनको अवस्था देख्दा प्रश्न सोध्न सक्ने अवस्था थिएन। पत्रकारकै पनि आँखा रसाएका थिए। 

घटनाबारे चौधरीले बोलिरहेका थिए निरन्तर ‘एकछिन पछि हेर्दा कोही साथीहरूको खुट्टा नै थिएन। कसैको के थिएन। एकछिन पछि इजरायली प्रहरी आएर घाइते नभएकाहरूलाई अर्को बङ्करमा लग्यो। हामीलाई पुरानै बङ्करमा राखियो। त्यहाँ आक्रमण भएन। त्यसैले म बाँचे।’ श्वासले मात्रै बोलेका चौधरीले अरु साथीहरू गुमाउनेको पीडा पोखे, ‘कति साथीहरू ओभर ब्लिडिङ भएर मरे। समयमा उपचार पाएको भए बाँच्थे।’

घटना भएको ९ घण्टापछि मात्रै रेस्क्यू टोली पुगेको बताएका उनले अहिले पनि त्यो कहाली लाग्दो घटना विर्सन सकेका छैनन्। सपनामा पनि त्यही गोली लागेका साथिहरुलाई नै देख्ने गरेको बताए। ‘९ घण्टापछि रेस्क्यू टोली आयो। दोस्रो बंकरमा आक्रमण भयो त्यहाँ धेरै साथीहरू मरे। मिसिङ छन् साथीहरू उनीहरूलाई खोज्दिनु होला। साथीहरूको धेरै याद आउँछ। म सुत्न पनि सक्दिनँ, सपनामा देख्छु।’ 

चौधरीले अनुरोध गरे,‘मेरो साथीलाई खोज्दिनु पर्यो।’

घर फर्किन चाहने नेपालीहरूलाई लिन सरकारी निर्णयअनुसार विमान चार्टर गरेर परराष्ट्रमन्त्री एनपी साउद इजरायल पुगेका थिए। विमानमा धनबहादुरसहित २५४ जना नेपाल फर्किएका छन्। घर फर्किन पाउँदाको खुसी ओठमा देखिए पनि, आँखामा त्रासदीपूर्ण समयको बादल फाट्न बाँकी भए झैं देखिन्थ्यो। 

आफन्त आउने खबरपछि विमानस्थल पुगेकाहरूले अंकमाल गर्दै हर्षका आँशु बगाएपनि, फर्किएका धनबहादुर जस्तै अरुको पनि एउटै चाहना छ, विदेशमा भएका अरु साथीहरू पनि सकुशल फर्किऊन्। हराइरहेका साथी विपिन जोशी चाँडै सम्पर्कमा आउन् र घर फर्किऊन्। (नेपाल न्युज बैंक)  

प्रतिक्रिया