विराटनगर। औद्योगिक कच्चा पदार्थ ढुवानी र उत्पादित वस्तु निकासीका लागि सहयोग पुग्ने गरी सुरु गरिएको भारत–नेपाल कार्गो रेल सेवाले निरन्तरता पाउन सकेको छैन। यसले गर्दा पूर्वको औद्योगिक क्षेत्रले आशा गरेअनुसार लाभ लिन नसकिएको उद्योगीहरुको भनाइ छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय समकक्षी नरेन्द्र मोदीले गत जेठ १८ गते भारतको दिल्लीस्थित हैदराबाद हाउसबाट संयुक्त रुपमा कार्गो रेलको उद्घाटन गरेका थिए।
भारतको बथनाहाबाट नेपालको बुधनगर हुँदै कटहरीसम्म आउने उक्त कार्गो रेल एकीकृत भन्सार चौकी (आइसीपी) भएर आउने व्यवस्था मिलाइएको छ।
उक्त कार्गो रेल नियमित सञ्चालन भए सामान ल्याउन सहज हुने भए पनि हाल सञ्चालन नहुँदा पुरानै नाका जोगबनीबाट सामान ल्याउनु परेको उद्योगीहरु बताउँछन्।
जोगबनीसम्म सामान ल्याएर फेरि ढुवानी गर्नुपर्दा लागत बढ्ने गरेको छ। तर आइसीपी हुँदै सामान ल्याउँदा र पठाउँदा भने केही सस्तो पर्ने जनाइएको छ।
रेल विभागका विराटनगर साइट इन्चार्ज इनि्जनियर रोशन देवका अनुसार कार्गो रेल आउनका लागि सबै पूर्वाधार तयार छ। पछिल्लो समय उद्योगी–व्यवसायीहरुले कार्गो मार्फत् सामान नमगाएकाले रेल सञ्चालन नियमित हुन नसकेको उनले बताए।
कार्गो रेलमा सामान आएपछि आवश्यक जाँच गर्ने तथा भन्सार जाँचपासको काम गर्ने गरी व्यवस्था मिलाइएको छ।
उक्त स्थानमा रेलवे यार्डबाट सामान आयात तथा निर्यात गर्नका लागि संरचना निर्माणको काम भइरहेको इन्टरमोडल विकास समितिले जनाएको छ। ५५ करोडको लगानीमा संरचना निर्माण धमाधम भइरहेको उल्लेख गर्दै समितिले निर्माण सकिएपछि अझ सहज हुने बताएको छ।
उद्योगी रमेश राठीका अनुसार आइसीपीको रेलवे यार्डमा ल्याइएका सामान ओसार्न नेपाली नम्बरका पर्याप्त ढुवानी साधन नहुँदा समस्या परिरहेको छ।
भारतको बथनाहादेखि कटहरीसम्म १८.१ किलोमिटर लामो रेलमार्ग सन् २०११ देखि निर्माण सुरु गरिएको थियो।
यसअघि उक्त रेलमार्गको प्राविधि जाँच गर्नका लागि २०७५ काति्तक ८ गते परीक्षण गरिएको थियो।
१८ किलोमिटर रेलमार्गमध्ये भारतर्फ पाँच किलोमिटर पर्छ भने नेपालतर्फ भन्सार बिन्दुबाट १३ किलोमिटर क्षेत्र पर्छ।
सुनसरी–मोरङ औद्योगिक क्षेत्रमा रहेका उद्योगहरुका लागि आवश्यक कच्चा पदार्थ भारत र तेस्रो मुलुकबाट आउने गरेको छ। यसैगरी कतिपय तयारी वस्तु पनि भित्रने गरेका छन्।
कार्गो रेल नियमित रुपमा सञ्चालन हुन सके औद्योगिक क्षेत्रका लागि सहज हुने नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउत बताउँछन्।
सन् २०१ मा तत्कालीन राष्ट्रपति रामवरण यादव भारत भ्रमणमा जाँदा नेपाल र भारतको सीमा जोड्ने गरी देशका विभिन्न ५ स्थानमा रेलमार्ग निर्माण गर्ने सहमति भएको थियो। त्यही सहमतिअनुसार बथनाहा–कटहरी रेलमार्ग निर्माण गरिएको हो।(नेपाल न्यूज बैंक)
प्रतिक्रिया