विराटनगर। मोरङ, सुनसरी र झापा जिल्लाको प्रमुख उत्पादनका रुपमा रहेको जुट खेती पछिल्लो समय घट्दै गएको छ। कुनै बेला ६० हजार हेक्टरमा जुट खेती हुने गर्दथ्यो। अचेल करिब ४ हजार हेक्टरमामात्र जुट खेती हुने गरेको छ।
मोरङमा ४ हजार ३ सय ३८ हेक्टर, सुनसरीमा १४ सय हेक्टर र झापामा ५ सय ९० हेक्टर जग्गामा जुट खेती हुने गरेको छ। मोरङ, सुनसरी र झापामा हुने जुट खेती दुई दशकपछि आउँदा कुल क्षेत्रफलको १० प्रतिशतमा सीमित भएको हो।
जुट खेतीबाट किसानहरु पलायन हुने क्रमसँगै तीन जिल्लामा रहेका सयौं पोखरी पनि मासिँदै गएका छन्। जुट प्रशोधनका लागि पानीमा डुबाएर राख्न पोखरी निर्माण गरिन्छ।
पछिल्लो समय ती तीन जिल्लाका दक्षिणी क्षेत्र हुलाकी राजमार्गको आसपासका किसानले मात्र थोरै क्षेत्रफलमा जुट खेती गर्ने गरेका छन्। भनेको समयमा बिउ नपाउनु, मल सहज रुपमा उपलब्ध नहुनु जस्ता कारणले खेतीमा समस्या हुने गरेको जुट खेतीमा संलग्न सुनसरीका किसान मोती यादवको भनाइ छ।
जुटको बिउ छरेको १२० देखि १५० दिनसम्ममा पाटा काट्ने बेला हुन्छ। सामान्यतया बोरा, डोरी, झोला, गलैंचा र पर्दा बनाउनका लागि जुटको प्रयोग गरिन्छ।
विगतमा यस क्षेत्रमा उत्पादित जुट भारत र बंगलादेशमा निर्यात गरिन्थ्यो। अचेल भने सुनसरी–मोरङ औद्योगिक कोरिडोरका अधिकांश जुट मिलका लागि आवश्यक कच्चा जुट भारत र बंगलादेशबाट आयात हुन्छ।
मोरङ, सुनसरी र झापा जिल्लामा प्रशस्त जुट खेती भएका बेला जुटमा आधारित ११ वटा उद्योगहरु स्थापना भएका थिए। तीमध्ये अहिले कच्चापदार्थ अभावमा आधाजसो बन्द भएका छन्।
सञ्चालनमा रहेका उद्योग पनि संकटग्रस्त छन्। सुनसरीमा रहेको अरिहन्त मलि्टफाइबर्सका मुख्य कार्यकारी अधिकृत गोबिन्द बजगाईं कच्चापदार्थ विदेशबाट आयात गर्नुपर्ने भएकाले समस्या परिरहेको बताउँछन्। पर्याप्त कच्चापदार्थ उपलब्ध नहुँदा उत्पादन प्रभावित हुने गरेको उनको भनाइ छ।
जुट उद्योग संघका अनुसार मोरङ, सुनसरी र झापामा प्रशस्त जुट खेती हुँदा खुलेका उद्योगहरु बन्द हुनुको मुख्य कारण कच्चापदार्थ अभाव हो। वार्षिक रुपमा करिब ६० करोड रुपैयाँको कच्चा जुट आयात गर्नुपर्ने अवस्था रहेको उद्योगीहरु बताउँछन्।
वातावरणीय हिसाबले कुनै प्रतिकूल असर नगर्ने जुट खेतीलाई बिस्तार गर्न सरकारले किसानलाई पर्याप्त सुविधा दिएर कच्चापदार्थ स्वदेशमै उत्पादन गर्न ठोस कार्यक्रम ल्याउनुपर्ने देखिएको छ।(नेपाल न्यूज बैंक)
प्रतिक्रिया