काठमाडौं । बुधबार दिउँसो एकबजेतिर माइतीघर मण्डला पुग्दा एकै परिवारका चार जना खाना खान थाल थाप्दै थिए ।
दशैँमा हरेकको घरमा सबै परिवार बसेर सम्भव भएसम्म मिठो मसिनो खाने यो समयमा पनि धनुषाको नगराईन नगरपालिका–८ का विनोदप्रसाद साहको परिवार एउटा युवा समूहले दिएको खाना थापिरहेको थियो ।
विनोद प्रसाद साह र निर्मलादेवी साह आफ्ना दुई सन्तान प्रम र मनिसालाई साथमा लिएर छोरी आरती साहको न्यायको लागि माइतीघरमा धर्ना बस्न थालेको १ सय ३२ दिन पूरा भयो ।
दशैँ सडकमै वित्यो तर तिहार र छठमा भने आफ्नो घर फर्किने वातावरण बन्नेमा साह परिवार आशावादी छ । उनीहरुको एउटै माग छ, आरतीको हत्या प्रकरणमा पुन निष्पक्ष छानविन होस् ।
दशैँ पनि सडकमै विताउनुको पीडा समेट्दै आरतीका भाई प्रेम साहले भने, ‘के दशैँ के चाडवाड हामी त न्याय नपाएसम्म घर नफर्किने भनेर हिँडेका हौँ । न्याय नपाएसम्म घर फर्किने छैनौं ।’
तर सरकार निर्दयी बनेको उनको गुनासो छ । प्रशासनले दशैँमा पनि अनेक बहानामा बारम्बार दुःख दिएको उनले बताए ।
एकातिर आफन्त गुमाउनुको पीडा अर्कोतिर न्यायका लागि रातदिन सडककै बास चाडपर्व आएको गएको पत्तै छै्रन साह परिवारलाई ।
आरतीकी आमाका आँखा ओभाएका छैनन् । कसैले केही सोध्यो भने केही बोल्दिनन् । आँशु मात्रै झार्छिन् । रोएर पीडा सकिँदो रहेनछ ।
गत जेठ ७ गते साँझ करिव साढे ६ बजे विनोदप्रसाद साहको मोबाइलमा फोन आयो । त्यो फोन उनकी छोरी आरती साहका ससुरा मदनमोहन साहको थियो । विनोदप्रसाद घरायसी कामले मोबाइल घरमा छोडेर बाहिर गएकाले पटक–पटक फोन बजेको सुनेर विनोदकी कान्छी छोरी मनिषाले त्यो फोन उठाइन् ।
आरतीको स्वास्थ्य अवस्था खराब भएर जनकपुर अस्पताल लगिएको उनले मनिषालाई बताएका थिए । तर अस्पताल पुग्दा उनको मृत्यु भईसकेको थियो ।
२२ वर्षीया आरतीको २२ महिना अघिमात्र मिथिला बिहारी नगरपालिका–३ मिथिलेश्वर मौवाहीका मोतीबाबु साहसँग विवाह भएको थियो ।
विवाहमा मागेको २५ लाख रुपैयाँ दाईजो लिएको साह परिवारले पछि दाईजो कम भएको भन्दै आरतीको हत्या गरेको उनको माइती परिवारको दाबी छ । तर मृतक आरतीका परिवारले उनले आत्महत्या गरेको दाबी गर्दै आएको छ ।
मृतकका श्रीमान् मोतीबाबु साह, सासु रेणुदेवी साह, ससुरा मदनमोहन साह र देवर रवि साहले आरतीको हत्या गरेको माइती पक्षको जिकिर छ ।
दिदीको हत्याराहरु खुलमखुल्ला हिँडिरहेको र प्रहरी प्रशासनले समेत आफूहरुलाई असहयोग गरेको मनिषाको गुनासो छ ।
‘सरकारले न्यायको प्रक्रिया मात्रै सुरु गरिदिएपनि तिहार अघि नै घर फर्किन पाइन्थ्यो’ मनिषाले भनिन् ।
आफूहरु गरीब भएकैले न्यायका लागि कसैले सहयोग नगरेको साह परिवारको गुनासो छ । राजनीतिक दलका नेतादेखि अधिकारकर्मीसम्म आएर न्यायका लागि पहल गर्ने आश्वासन दिएपनि अहिलेसम्म ठोस प्रगति नहुँदा उनीहरु निरास छन् ।
चाँडै सरकारले आफूहरुको पीडा बुझ्ने र न्याय पाउने आशा भने उनीहरुले मारेका छैनन् ।
आरतीको आत्महत्या नभई हत्या भएको ठहर गर्दै उनीहरुले हत्यारालाई कडा भन्दा कडा कारबाही र आफूमाथि कुटपिट गर्ने प्रहरीलाई कारवाहीको माग गरेका छन् । (नेपाल न्यूज बैंक)
प्रतिक्रिया