जागरण

कसले हाल्यो सूर्य र ध्यान विरुध्द मुद्दा ?

मैले सुनेको थिएँ, एकपटक भगवानको अदालतमा दुईटा मुद्दाहरु परेछन्। अनि मुद्दा पेश गर्ने मानिसले भन्यो, दुईटा मुद्दा परेका छन् भगवान्, पहिलो मुद्दा अँध्यारोको परेको छ। सूर्यमाथि मुद्दा हालेको छ उसले। मुद्दा के छ भने, अँध्यारोे काहीँ चूप लागेर बस्न पाएन। उ शान्तिसँग बस्न सकेन। जहाँ अँध्यारो बस्छ, सूर्यको प्रकाशले लखेटिहाल्छ। यहाँचाहिँ आनन्दसँग बस्छु भन्यो, फेरि त्यहाँ सूर्यको प्रकाश आउँछ, फेरि दौडाउँछ। कुनै ठाउँमा पनि शान्तिसँग बस्न दिएन। सूर्यको नोक्सान गरिदिएको पनि छैन, मेरो तर्फबाट गल्ती भएको छैन। मैले कहिल्यै सूर्यलाई भेटेको पनि  छैन। फेरि केको दुश्मनी हो यो? तर मलाई जहाँ गए पनि लखेट्छ र म एक ठाउँमा स्थीर भएर बस्न पाईनँ। विश्राममा जान सकिनँ । भगवान् यो सौर्यमण्डलबाट सूर्यलाई नै हटाइपाऊँ भनेर अँध्यारोले निवेदन हालेछ। 

अनि भगवानले भन्नुभयो, सूर्यबाट यति ठूलो गल्ती भएछ त, त्यसो भए ठीक छ सूर्यलाई झिकाऊँ। साँच्चै सूर्यले लखेटेको हो कि हैन, पत्ता लगाउनुपर्यो।

अनि अर्को मुद्दा कसको छ? अर्को मुद्दाचाहिँ धेरै जनाको छ। तर संयुक्त मुद्दा हालेको छ। यसमा ग्रहदशाहरु छन्। राहु, केतु, अढैया, साढेसाती, विभिन्न प्रकारका ग्रहदशाहरु छन्। त्यसपछि विभिन्न नाम भएका भूतप्रेतहरुले पनि मुद्दा हालेका छन् र सबैको मुद्दाको एउटै प्रति छ। एउटा प्रति सबैले मुद्दा हालेका छन्। वादी अनेक छन् तर प्रतिवादीचाहिँ एउटै मात्र छ। त्यो हो मानिसमा रहेको ध्यान। निवेदनमा उल्लेख छ, भगवान्, जब–जब मानिस ध्यानस्थ रहन्छ, तब–तब हामी मानिसको नजिक जान पनि सक्दैनौं। ग्रहदशाहरुले भनेका छन्, मानिस ध्यान गर्न थाल्यो भने हामी विभिन्न प्रकारका दशाहरु मानिसलाई लाग्नको त कुरा छाडिदिउँ, ती मानिसको नजिक पनि जान सक्दैनौं। अनि ती भूत, प्रेत, पिशाचहरु उनीहरुले पनि भने, जब मानिस ध्यानमा जान्छ, हामी नजिक पर्न पनि सक्दैनौं।

कुनै प्रकारको भूतप्रेतहरु नजिक आउन सक्दैन। भगवान् या त हामीलाई अर्को काम दिनुपर्यो, भूतप्रेतको काम त मानिसलाई दुःख दिने हो, ग्रहदशाको काम नै त्यही हो, दशा भन्नेबित्तिकै मानिसलाई दुःख दिने, हाम्रो काम नै मानिसलाई दुःख दिने हो र सबै मानिस ध्यानस्थ भए भने दुःख दिने काम नै बन्द हुने भयो। कसैलाई दुःख दिनै नपाउने भयौं। या त हाम्रो काम परिवर्तन गरिदिनुपर्याे, हैन हामीलाई दुःख दिनकै लागि बनाएको हो भने यो मानिसको जीवनबाट ध्यान हटाइदिनुपर्यो। 

मुद्दाको शीर्षक थियो– ‘मानिसको जीवनबाट ध्यान हटाइपाऊँ।’ 

अनि भगवानले भन्नुभयो, ठीक छ उसो भए ध्यानलाई पनि बोलाइपाऊँ, ऊसँग पनि कुरा बुझौं, के भएको रहेछ। अनि सूर्यलाई पनि बोलाइयो, ध्यानलाई पनि बोलाइयो। दुवै भगवानको दरबारमा उपस्थित भए। तर वादी भने उपस्थित भएनन्। जसले मुद्दा हालेका थिए ती भूत, प्रेत, ग्रहदशा पनि छैनन्, अँध्यारो पनि छैन, बेपत्ता।

अनि भगवानले भन्नुभयो– फेरि ती मुद्दा हाल्नेचाहिँ कहाँ गए? भगवान् अलप भए, कहाँ गए कहाँ। उनीहरु छैनन् भने ठीक छ यी प्रतिवादीहरुलाई सोधौं। अनि सूर्यलाई भगवानले सोध्नुभयो, सूर्य, तिमी अँध्यारोलाई लखेटेको लखेट्यै गर्छौ रे। काहीँ बस्न दिँदैनौ रे हो? सूर्यलाई अचम्म लाग्यो। लौ मैले त अहिलेसम्म अँध्यारोलाई देखेकै छैन, कस्तो हुन्छ अँध्यारो? जसलाई मैले देखेकै छैन, त्यसलाई मैले कसरी दुःख दिऊँ? हे भगवान् मैले त कसैलाई दुःख दिएको छैन। अँध्यारोसँग मेरो अहिलेसम्म भेट भएकै छैन। 

त्यसपछि भगवानले ध्यानलाई सोध्नुभयो, ए मानिसभित्र रहेको ध्यान, तिमी भन, तिमीले यी भूतप्रेतहरु, दशाहरु मैले बनाएको, मैले सिर्जना गरेको, गलत काम गरे भने दुःख दिनु, सजाय दिनु, उनीहरुलाई बाटोमा लिएर आउन भनेर मैले बनाएको हो। अब यिनीहरुलाई त मानिसको जीवनमा छिर्नै दिँदैनौ रे, कुनै प्रकारका दशाहरु, भूतप्रेतहरु लाग्दै लाग्दैनन् रे, आउनै सक्दैनन् रे, अब यसरी तिमीले मेरो नियमलाई नै बिगारिदिनु त भएन नि। 

अनि मानिसभित्र रहेको ध्यानले भन्यो, यो अचम्मको कुरा के गरेको? तपाईंको सृष्टिमा त के के छ, के के छ। यो अथाह छ, बुझेर बुझिनसक्नु, जानेर जानिनसक्नु छ। यो सृष्टि धेरै ठूलो छ। विराट छ, म कसरी जानौं भगवान्? तर मलाई ती भूत, प्रेत, ती ग्रहदशाहरु भनेको के हो? कुनै जानकारी नै छैन। अहिलेसम्म तिनीहरुसँग मेरो भेट भएको छैन। म जहाँ हुन्छु, त्यहाँ कुनै प्रकारको ग्रहदशा आउँदैन। आएकै छैन। म जहाँ हुन्छु, त्यहाँ कुनै प्रकारको भूतप्रेत आएकै छैन। अब यो हुँदै नभएको कुरा, कसैलाई भेट्दै नभेटेको, देख्दै नदेखेकोलाई मैले कसरी दुःख दिनु? ग्रहदशासँग मेरो कहिल्यै भेट भएन। भूतहरुसँग भेट भएन। अब कसरी मैले दुःख दिनु। अनि भगवानले भन्नुभयो, ल त्यसो भए ती जसले दुःख दियो भनेर मुद्दा हालेका थिए, तिनीहरु दुईटालाई उपस्थित गराउँ या जुन दिन ती वादी, प्रतिवादी उपस्थित हुन्छन्, त्यो दिन मलाई भनौं। र भनिन्छ, अहिलेसम्म पनि वादी प्रतिवादी एकै ठाउँमा जम्मा हुन सकेकै छैनन्।

जहाँ सूर्य हुन्छ, त्यो सूर्य भएको ठाउँमा अँध्यारो पुग्न सकेन, दुईटाको भेट नै भएन र जहाँ ध्यान हुन्छ, त्यहाँ ग्रहदशा, भूतप्रेत जानै सक्दैन। अहिलेसम्म भेट नै भएन। ध्यानी व्यक्तिलाई कुनै प्रकारको दशा लाग्दैन। दशा भनेको ध्यान हट्नु हो। ध्यानी व्यक्ति असफल हुँदैन। ध्यान भनेको सफलता हो। कुनै पनि मानिसले मैले ध्यान लगाएर काम गरेँ, त्यसकारण असफल भएँ भनेको छैन। ध्यान लागेपछि त केही पनि काममा सफल हुन्छौं। ध्यान र असफलताको सम्बन्ध बन्नै सक्दैन। दशाहरु भनेको असफलता हो। जहाँ–जहाँ मानिस असफल भयो, त्यहाँ–त्यहाँ हामी दशा लाग्यो भन्छौं। असफलता र दशा एउटै हो। ध्यानसँग सबै प्रकारका ग्रहदशाहरु भाग्छन्। कुनै दशासँग भेट हुँदै हुँदैन। ध्यान लगाएर काम गर्ने मानिस कहिल्यै असफल हुँदैन।

असफल नभएपछि ग्रहको कुरै आएन, दशाको कुरै आएन। जे काम गर्छौं, ध्यान लगाएर गरौं। होस पुर्याएर गरौं। थाहा पाएर गरौं। अब कुनै भूतप्रेतहरु लाग्दैन। भूतप्रेतहरु जहिले पनि बेहोसीमा लाग्छन्। होस छैन, ध्यान छैन, सजग छैन भने यो ब्रह्माण्डमा भएको नकारात्मक ऊर्जा शरीरमा प्रवेश गर्यो भने हामी भूत लाग्यो भन्छौं। यो ब्रह्माण्डमा त नकारात्मक सकारात्मक सबै छ। हरेक चीजमा छ। कुनै पनि मानिस बत्तीसै लक्षणले युक्त हुँदैन। केही गुण, केही अवगुण सबैमा हुन्छ। कुनै पनि तत्वमा, कुनै पनि चीजमा गुण अवगुण हुन्छ। यो प्रकृतिको नियम हो। यदि हामी ध्यानस्थ हुन सकेनौं भने अवगुणले हामीलाई घेर्छ र ध्यानस्थ भयौं भने गुणहरुको सानिध्य उपलब्ध हुन्छ। त्यसैले ध्यानस्थ भयौं भने कुनै प्रकारको भूतप्रेत नजिक नै आउँदैन। ध्यान हट्यो कि भूत लाग्यो। ध्यानस्थ व्यक्तिलाई भूत लागोस्, बोक्सी लागोस्, दशाहरु लागोस्, यस्तो सम्भावना हुँदै हुँदैन। ध्यानस्थ बन्नु छाता ओढ्नुजस्तै हो। जतिसुकै पानी परोस् न, छाता ओढेको छ भने मानिस भिज्दैन। त्यसैगरी ध्यानस्थ भइयो, सजग भइयो भने कुनै प्रकारका दशाहरु र भूतप्रेतहरु लाग्दैनन्। ध्यान गर्नु नै स्वस्ति शान्ति हो। स्वस्ति शान्तिको अर्थ हुन्छ स्वस्थ्य अनि शान्त। ध्यान गरेपछि मानिस शान्त हुन्छ।

अब शान्तिको लागि किन अरु कार्य गर्नुपर्यो र? शान्त भइहाल्यो नि। र ध्यान गरेपछि मानिस स्वस्थ हुन्छ। अस्वस्थ बनाउने सबै प्रकारका ऊर्जाहरु अलग हुन्छन्। स्वस्थ्य, शान्ति अनि सफलता, यी तीनवटै तत्व ध्यानबाट प्राप्त हुन्छ। जसले जति बढी ध्यानस्थ भएर काम गर्न सक्यो, त्यही व्यक्ति सफल हुन्छ। जसले शरीरप्रति ध्यान लगायो, उसको स्वास्थ्य सबल हुन्छ र जसले आफ्नो मनप्रति ध्यान लगायो, उसको मन शान्त हुन्छ। आफ्नो शरीरप्रति ध्यान स्वास्थ्य, आफ्नो मनप्रति ध्यान शान्ति हुन्छ। ध्यान नलगाएको कारणले मात्रै हाम्रो मनमा नकारात्मक कुराहरु आएका हुन्। नकारात्मक कुरा मनमा कसरी छिर्यो? बेहोस भएको कारणले छिर्यो । एउटा भजन छ– ‘होस नराखी हिँड्दा यात्री मनमा चोर पसेछ।’ 

यो चोरले दुःख दिन्छ। होस नराखी हिँडियो, होस रहेन अब मनमा नकारात्मक कुराहरु छिरे, अब दुःख दिन्छ। यिनै हुन्, ग्रहदशाहरु। दशा भनेको यही हो। भूत भनेको यही हो। नकारात्मक कुरा मनमा छिर्यो, भूत लाग्यो। यी भूतहरुबाट बच्ने एउटै उपाय ध्यान हो। मनमा ध्यान लगाउनुभयो भने अब नकारात्मक कुरा आउन दिनुहुन्छ र? थाहा पाईपाईकन फोहोर कसले भित्र आउन दिन्छ? थाहा नपाएर आउँछ यो, बेहोसीमा आउँछ। मनमा ध्यान लगायौं, हामी शान्त भयौं, शरीरमा ध्यान लगायौं, स्वस्थ भयौं, कर्ममा ध्यान लगायौं सफल भयौं। स्वास्थ्य, शान्ति र सफलता ध्यानबाट मात्रै प्राप्त हुन्छ। हामी स्वस्थ बन्न चाहन्छौं। सफल बन्न चाहन्छौं। शान्त हुन चाहन्छौं भने ध्यानको कला सिक्नुपर्छ। ध्यान गर्न जान्नुपर्छ। हामी सबैलाई पनि ध्यान गर्ने अवसर मिलोस्। (जीवन विज्ञान प्रतिष्ठानका संस्थापक तथा जीवन विकास विशेषज्ञ रमेश नेपालको प्रवचनबाट)
 

प्रतिक्रिया