काठमाडौं। चलचित्र विधाबाट काठमाडौं युनेस्कोको रचनात्मक सहर सञ्जाल (क्रियटिभ सिटिज नेटवर्क) मा जोडिएको छ। आज काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रममा काठमाडौं महानगरपालिकाले उक्त जानकारी दिएको हो।
अन्तरक्रियामा महानगरपालिका उपप्रमुख सुनिता डङ्गोलले काठमाडौंमा भएका सम्पूर्ण विधालाई समेट्नका लागि फिल्म नै राम्रो विकल्प भएको भन्दै यसलाई छनोट गरेको बताइन्।
उनले भनिन्, “काठमाडौंमा भएका सम्पूर्ण विधालाई समेट्नका लागि फिल्म नै राम्रो विकल्प रहेको हुँदा हामीले यसलाई छनोट गरेका हौं। हामी गीतमा पनि काम गर्छौ। हामीले काठमाडौंमा भएका मूर्त, अमूर्त सम्पदाहरुमा काम गरिरहेका छौं।”
उनले युनेस्कोमा आवद्ध भएपश्चात फिल्मसँग सम्बन्धित उद्योगको संरक्षण गर्ने, सञ्चालन गर्ने र प्रवर्द्र्धन गर्ने योजनाहरु रहेको भन्दै यसबाट देशको आर्थिक अवस्था सुधारमा पनि सहयोग पुग्ने बताइन्।
उनले भनिन्, “हामीले बनाएका योजनाहरुका लागि बजेट पनि छुट्याएका छौ। योसँग सम्बनि्धत उद्योगको संरक्षण गर्ने, सञ्चालन गर्ने र अझ प्रवर्द्र्धन कसरी गर्ने भन्ने विषयमा पनि योजनाहरु बनाएका छौं। यसबाट नेपाललाई चिनाउने मौका पनि पाइन्छ, न्याशनल जिटिपिमा पनि यसको भूमिका र प्रभाव रहोस भन्ने पनि लक्ष्य लिएका छौं। रोजगारी सिर्जनाको लागि पनि यसले काम गर्ने विश्वास गरेका छौ।”
रचनात्मक सहरका लागि तोकिएका ७ क्षेत्रमध्ये काठमाडौं महानगरपालिकाले चलचित्र विधा छानेको थियो। सीसीएन (युनेस्को क्रियटिभ सिटीज नेटवर्क) मा आवद्ध हुन शिल्प तथा लोककला, संगीत, चलचित्र, साहित्य, ग्यास्ट्रोनमी खानाका परिकार, मिडिया कला र डिजाइनमध्ये कुनै एउटा विधा छान्नु पर्ने प्रबन्ध थियो। यीमध्ये महानगरपालिकाले चलचित्र विधा छानेको हो।
सयभन्दा धेरै देशका ३५० सहर रचनात्मक सहर सञ्जालमा आवद्ध छन् । यसपटक ५५ वटा सहर थपिएका हुन्। रचनात्मक सहरमा आवद्ध हुन निर्णय भएपछि व्यवस्थापन केन्द्र स्थापना गरेर सरोकारवालाको पहिचान गरिएको थियो। सरोकारवालाबीच परामर्श समूह निर्माण, विषय र रचनात्मक सम्पति्तको नक्साङ्कनसहितका काम भइसकेका छन्।
जनजीवन, भूगोल, बस्ती र सांस्कृतिक मूर्त अमूर्त सम्पदासँग जोडिएका ऐतिहासिक र पुरातात्विक रोचक कथाका कारण काठमाडौंलाई रचनात्मक सहरका रुपमा हेर्ने गरिएको छ। जात्रा, पर्व, मौलिक भेषभुषा, खानपान काठमाडौंसँग जोडिएर आउने बिम्ब हुन्। सहर भन्ने वित्तिकै मनमा आउने पहिलो चित्र यही हो।
फरक दृष्टिकोण, अर्थव्यवस्था र संस्कृति भएका भिन्नभिन्न सहरलाई रचनात्मक सहरको सञ्जालमा जोडेर विकासको साझा दृष्टिकोण बनाउने रचनात्मक सहरको अवधारणा हो। एउटा रचनात्मक सहरमा समावेशी समाज, सृजनात्मक अर्थतन्त्र, मानव विकास, सामाजिक सदभाव, प्राविधिक आविष्कार, वैज्ञानिक विकास दृष्टिकोण जस्ता विषय चलायमान हुने पनि विश्वास गरिएको छ।
चलचित्र उद्योगको विकासका लागि आवश्यक नीति तर्जुमा र वकालत गर्ने, सहरका लागि सांस्कृतिक र रचनात्मक रणनीति विकास गर्ने, अनुसन्धानकर्ताहरूका लागि वार्षिक रूपमा अनुसन्धान फेलोसिप प्रदान गर्ने, सीमान्तकृत र कमजोर समुदायसहित लक्षितवर्गलाई यसमा सहभागी हुन छात्रवृत्ति प्रदान गरिनेछ।
ल्यान्डस्केप डिजाइन, विश्व सम्पदा क्षेत्रहरुको सुधार, पूर्वाधार स्तर वृद्धि, वास्तुकला सम्वर्द्धन, चलचित्र निर्माणको कथा कथन र सौन्दर्यशास्त्रमा योगदान पुर्याउने दृश्यात्मक मनमोहक स्थानहरू उपलब्ध गराइनेछ।
चलचित्र स्टूडियो, पोस्ट उत्पादन सुविधाहरू, चलचित्र विद्यालयहरु, उद्योगका विधागत सीप र सिकाइहरुलाई सञ्जालमा आवद्ध गरेर प्रवर्द्धन गरिनेछ। अभिलेख, पुस्तकालय र संग्रहालयको विकास हुनेछ।
स्थानीय सांस्कृतिक र रचनात्मक उद्यमीलाई र साना र मध्यमआकारका उद्यम सञ्चालन गर्न सहयोग गरिने साथै तथ्य तथ्याङ्क निर्माण गरिने जनाइएको छ। व्यन्जनकला र शिल्प, हस्तकला उद्योगको प्रवर्द्धन र मूर्त र अमूर्त सांस्कृतिक सम्पदाको संरक्षण गर्न महोत्सव र प्रदर्शनीहरूको आयोजना गरिने जनाइएको छ।
यसैगरी, अन्तर्राष्ट्रिय स्तरका उद्यमीलाई सञ्जालमा जोड्न अन्तर्राष्ट्रिय चलचित्र महोत्सव, फिल्म एक्स्पो जस्ता कार्यक्रम सञ्चालन गरिनेछ। यसले विश्वभरका चलचित्र निर्माता, लगानीकर्ता तथा वितरकलाई सञ्जालमा जोड्नेछ।
यसबाट अन्तर्राष्ट्रिय साझेदारी र सहयोगका क्षेत्र विस्तार हुनेछन् सदस्य अन्तर्राष्ट्रिय नगरहरूमा विद्यार्थी कलाकार, अनुसन्धानकर्ता र साझेदारबीच ज्ञान, सिप र अनुभव आदानप्रदानको वातावरण प्रदान गरिने जनाइएको छ।
युनेस्को क्रियटिभ सिटीज नेटवर्क (यूसीसीएन) कार्यान्वयनका लागि महानगरपालिकाले ५ करोड रुपैयाँ विनियोजन गरेको छ।(नेपाल न्यूज बैंक)
प्रतिक्रिया