विराटनगर। कोशी प्रदेशको ५ लाख ३२ हजार ९६७ हेक्टर जग्गामा कृषिकर्म भइरहेको तथ्यांक सार्वजनिक भएको छ। यो प्रदेशको कूल जनसंख्यामध्ये ६६ प्रतिशत परिवार कृषक छन्।
राष्ट्रिय तथ्यांक कार्यालयले विराटनगरमा सार्वजनिक गरेको राष्ट्रिय कृषि गणनाको कोशी प्रदेशस्तरीय प्रतिवेदनमा ७ लाख ८६ हजार १०८ कृषक परिवारले ५ लाख ३२ हजार ९६७ हेक्टर जग्गामा कृषिकर्म गरिरहेको जनाइएको हो।
कृषिकर्मबाट भएको आम्दानीले वर्षभरि खान पुग्ने कृषक परिवारको संख्या ४४.१ प्रतिशत रहेको प्रतिवेदनमा जनाइएको छ।
प्रदेशको कृषियोग्य जग्गामध्ये ५३.५ प्रतिशत सिँचित क्षेत्र रहेको छ। कृषक परिवारमध्ये ६८.३ प्रतिशतले सिँचाइ सुविधा प्राप्त गरेको प्रतिवेदनमा उल्लेख छ।
प्रदेशमा धान खेतीका लागि योग्य जग्गा २ लाख ७९ हजार ३८९ हेक्टर छ भने मकैका लागि १ लाख ७९ हजार ९१७ र गहुँ खेतीका लागि ४६ हजार ४६८ हेक्टर रहेको जनाइएको छ।
यसैगरी, आँप खेती १ हजार १६९, केरा १ हजार ७४९, सुन्तला १ हजार ६१८, कागती ७२५ र स्याउ १४९ हेक्टरमा खेती भइरहेको तथ्यांक छ।
३९ प्रतिशत कृषकले ट्याक्टर, ५.८ प्रतिशतले पावरटि्रलर र १३.७ प्रतिशतले फलामे हलोले खेती गरिरहेको जनाइएको छ।(नेपाल न्यूज बैंक)
प्रतिक्रिया