‘आजको भुल सुधार्ने २४ घण्टा छ, भोलि सुधारेर देखाउँछौ’: प्रशिक्षक देसाई

काठमाडौं। राष्ट्रिय क्रिकेट टोलीका प्रमुख प्रशिक्षक मोन्टी देसाईले भोलि युएईसँग हुने सेमीफाइनलमा आजका भुल सुधार्ने प्रतिबद्धता जनाएका छन्।

आज भएको आइसिसी टी २० विश्वकप एसिया क्षेत्र क्वालिफायरमा नेपाल र ओमानबीचको रोमाञ्चक खेलमा ओमानसँग पाँच रनले पराजित भएपछि, प्रशिक्षक देसाईले भोलिको खेलमा आजका भुल सुधार्ने बताएका हुन्।

खेल सकिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रशिक्षक देसाईले ओमानको खेलको तारिफ गरे। सँगै उनले नेपालको खेलले आज दर्शकहरु निराश हुनु परेपनि भोलि युएईसँग हुन लागेको खेलमा आजको भन्दा राम्रो गर्ने बताए।

देसाईले भने,“आज हामीले आफ्नो लाइन क्रस गर्न हुँदैन थियो। यो निराशाजनक हो। म भन्दा पनि धेरै खेलाडी र उनीहरु भन्दा धेरै दर्शक निराश छन्। तर,हामीसँग एउटा अवसर छ, २४ घण्टाको कुरा हो। भोलि हामीले त्यसलाई करेक्ट गर्नुपर्छ।”

उनले आजको खेलमा आफ्ना खेलाडिको व्याटिङ मुडलाई नजिकबाट हेरेको र आफूले इन्जोए गरेको बताए। उनले भोलि मूलपानीमा युएइसँग हुने प्रतिस्पर्धा च्यालेन्जको रुपमा लिएको र उत्साहपूर्वक क्वियर माइण्डसेट बनाएर खेल्ने बताए।

ओमानका क्याप्टेन जिसन मक्सुदले आफ्नो टीमले जितेकोमा खुशी व्यक्त गरे तर,उनी आफ्ना टीमले सुरुमा गरेको प्रर्दशनले खुशी थिएनन्।

नेपालले घरेलु मैदानमा खेलिरहँदा आज खराब व्याटिङ गरेकै कारण जीतबाट चुकेको बताए। नेपाल र यूएईबीचको सेमिफाइनल खेल शुक्रबार मूलपानी क्रिकेट मैदानमा हुनेछ। यूएईले मूलपानीमा भएको समूह ‘बी’ को अन्तिम खेलमा हङकङलाई २२ रनले पराजित गर्दै समूह विजेता बनेको हो। दुवै टोली भोली सेमिफाइनलको लागि प्रतिस्पर्धा गर्दैछन्।(नेपाल न्यूज बैंक)

प्रतिक्रिया