काठमाडौं । शुक्रबार राती जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पमा परी ६३ जनाको ज्यान गएको प्रहरीले पुष्टि गरेको छ ।
कर्णाली प्रदेशका प्रहरी नायव उपरीक्षक (डिआइजी) भीमप्रसाद ढकालका अनुसार रुकुम पश्चिम र जाजरकोटमा गरी बिहान ६ बजेसम्ममा ६३ जनाको ज्यान गएको छ । ९७ जना घाइते भएको विवरण छ ।
घाइते र मृतकको संख्या प्राप्त विवरण भन्दा धेरै हुन सक्ने भन्दै उनले भने, ‘भूकम्पको केन्द्रविन्दु जाजरकोटमा ३६ जना र रुकुम पश्चिममा २७ जनाको मृत्यु भएको छ । हालसम्म ९७ जना घाइते भएको र उनीहरुको प्रहरीले उद्दार गरेको छ ।’
मृतको संख्या बढ्न सक्ने ढकालले बताए ।
रुकुम पश्चिममा मात्रै बिहान ५ बजेसम्मको विवरण अनुसार ५३ जना घाइतेलाई अस्पतालमा लगिएको रुकुम पश्चिमका डिएसपी नमराज भट्टराईले जानकारी दिए ।
उनका अनुसार रुकुम पश्चिमका आठबिसकोट नगरपालिका र सानीभेरी गाउँपालिका भूकम्पले बढी प्रभावित भएका छन् । भूकम्पले घर र गोठहरु भत्किएका छन् भने सडकहरु पनि अवरुद्ध भएका छन् ।
गएराती ११ बजेर ४७ मिनेटमा ६ः४ म्याग्नेच्युडको भूकम्प गएको हो । जाजरकोटको रामिडाडा आसपास केन्द्रविदु भएर गएको भूकम्पले ठूलो मानविय भौतिक क्षति पुर्याएको छ । (नेपाल न्यूज बैंक)
प्रतिक्रिया