प्रधानमन्त्री र मन्त्रीहरूले एक महिनाको तलब भूकम्प पीडितलाई दिने

काठमाडौँ। सरकारले प्रधानमन्त्री तथा मन्त्रीहरूको एक महिनाको तलब बराबरको रकम भूकम्प पीडितलाई दिने निर्णय गरेको छ। 

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले जाजरकोट भूकम्पप्रभावित क्षेत्रमा सहयोगका लागि प्रधानमन्त्री राहत कोषमा प्रधानमन्त्री र मन्त्रीहरूको एक महिनाको तलब बराबर रकम दिने निर्णय गरेको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन्। 

उनले भनिन्, “प्रधानमन्त्री र सबै मन्त्रीहरुले भूकम्प पीडितहरुको लागि एक महिनाको पारिश्रमिक दिने भन्ने पहिलो निर्णय भएको छ।”

विकास निर्माणको सन्दर्भमा इन्धनमा लगाउँदै आएको पूर्वाधार शुल्कमध्ये प्रतिलिटर ५ रुपैयाँ बुढिगण्डकी जलविद्युत् आयोजनाका लागि उपलब्ध गराउने व्यवस्था गर्ने पनि निर्णय भएको उनले जानकारी दिइन्। 

उनले भनिन्, “विकास निर्माणको सन्दर्भमा इन्धनमा लगाइँदै आएको पूर्वाधार शुल्कमध्ये प्रतिलिटर ५ रुपैयाँ बुढिगण्डकी जलविद्युत् आयोजनाका लागि उपलब्ध गराउने व्यवस्था गराउने भन्ने पनि निर्णय भएको छ।”  (नेपाल न्यूज बैंक)

प्रतिक्रिया