किसानको कथा

चौँरी किसानको पीडाः बजार अनिश्चित, सरकारी सहयोग शून्य

रामेछाप । किसानलाई सहयोग नहुँदा हिमाली क्षेत्रमा व्यापक रुपमा पालिने चौँरी बिस्तारै मासिँदै गएको छ । 

चौँरीपालक किसानलाई राज्यले प्रोत्साहन नगर्दा चौँरी मासिँदै गएका हुन् । लेकको जङ्गलमा गरिने चौँरीपालन व्यवसायमा निकै मेहनत पर्ने भएकाले पछिल्लो समय चौँरीपालन घट्दै गएको छ ।

नेपालका २९ भन्दा बढी जिल्लाको उच्च हिमाली क्षेत्रमा पाइने याक र चौँरी  घट्दै गएका छन् । सीमित किसानले मात्र याक र चौँरी पालन व्यवसाय धान्दै आएका छन् । 

दोलखाको विगु गाउँपालिकाको लप्चीका स्थानीयले याक र चौँरी पालन व्यवसायलाई प्रमुख पेसा बनाए पनि सरकारले सहयोग नगर्दा निरास बनेका छन् ।

उत्तरी दोलखाको तिब्बती नाकासँग जोडिएको विकट गाउँ लप्चीमा रहेका १३ घर किसानको एकमात्र पेसा चौँरी पालन हो । यो विकट गाउँका किसानले पुस्तौँदेखि चौँरी पालन गर्दै आएका छन् । तर किसानलाई सरकारले कुनै सहयोग गरेको छैन । 

Chauri-4

लप्चीका किसानले न सरकार देख्छन्, न सरकारले यहाँका किसानको दुःख देख्छ । उनीहरू आफ्नै देशमा बिरानो जस्ता भएका छन् ।

बरु तिब्बत सरकारले केही सहयोग गर्छ, आफ्नो देशको सरकारले चिन्न समेत चिन्दैन । ‘यो ठाउँमा बस्ती पनि छ, नेपाली बस्छन्, उनीहरूलाई सहयोग गर्नुपर्छ भन्ने कुरा हाम्रो सरकालाई थाहा समेत छैन जस्तो लाग्छ’, स्थानीय पेम्बा शेर्पाले भने ।

पेम्बाले भने जस्तै छ लप्चीको अवस्था । गाउँमा न सडक पुगेको छ, न विद्युत छ, न टेलिफोनका टावर, न स्वास्थ्य उपचारको व्यवस्था छ, न विद्यालय नै । 

लम्चीमा पुग्न दोलखाको लामाबगरबाट दुई दिनको अप्ठेरो बिकट बाटो हिँड्नु पर्छ । गाउँका लागि खाद्यान्न त्यहीँबाट बोक्नु पर्छ । ‘बाटो पनि के भन्नु, भीर चढेर जानुपर्छ, काठको भरर््याङ उक्लिँदै गाउँमा पुग्नुपर्छ’, राष्ट्रिय याक तथा चौँरी कृषक संघ नेपालका सचिव दावासङ्बु शेर्पाले भने ।

लप्चीमा अरू खेती त्यति हुँदैन । भए पनि जङ्गली जनावरले केही राख्दैन । त्यसैले स्थानीयले खासै खेती लगाउँदैनन् । ‘घरभित्र राखेको त भालु र अन्य जङ्गली जनावरले केही राख्दैनन्, बारीमा त के लगाउनु’ पेम्बाले भने ‘यहाँको मुख्य पेसा नै याक चौँरी पाल्ने हो ।’

लप्चीवासीलाई नेपालभन्दा तिब्बत नजिक र सहज पर्छ । तिब्बतको कुटीबजार लप्चीको सबैभन्दा नजिकको बजार हो । तर त्यो नाका कहिले खुल्ने, कहिले बन्द हुने टुङ्गै हुँदैन ।

लप्चीका प्रत्येक घरधुरीले ८० देखि ९० वटा याक र चौँरी पालेका छन् । चौँरीको नौनी, दुर्खा, छुर्पी नै यो गाउँको मुख्य उत्पादन हो । 

स्थानीयले लप्चीगाउँको पूर्वीनाकामा पर्ने तिब्बतको फल्याक गाउँबाट याक, चौँरी खरिद गरी ल्याएर पाल्ने गर्दै आएका छन् । चौँरीको दुग्धजन्य उत्पादन कुटीबजारको नाका खुलेका बेला लगेर बेच्छन् । नाका नखुल्दा भने किसानको उत्पादन त्यसै थान्को लागेर बस्छ । 

उत्पादन बेच्ने तिब्बतको कुटीबजार पुगेर फर्कँदा गाउँले भुटेको पिठो, सातु, चामल, कपडा तथा अन्य सामग्री किनेर ल्याउँछन् । आफ्नो उत्पादन बिक्री गरेको अधिकांश पैसा उतै सिध्याएर आउँछन् लप्चीवासी ।   

Chauri-1

यसरी ल्याएको खानेकुरा कहिले भालुले चोरेर खाइदिने हो कुनै ठेगान हुँदैन । ‘घरको छानो नै भत्काएर भालु भित्र पस्छ, भएको सामान सबै खाइदिन्छ’, पेम्बाले स्थानीयको समस्या सुनाए ।

समस्या यतिमात्र होइन । बाघ र चितुवाले याक, चौँरी समेत मारेर खाइदिन्छन् । गौरीशंकर संरक्षण क्षेत्रमा पर्ने सो बस्तीका किसानलाई न संरक्षण क्षेत्रले कुनै राहत दिन्छ न सरकारले कुनै सहयोग नै गर्छ । 

अहिले विगुको थाङ्जेबुसम्म सडक खोल्ने क्रम चलिरहेको छ । ‘त्यहाँसम्म सडक खुल्यो भने एक दिन पुरै हिँडेर लप्ची पुगिन्छ । त्यति हुँदा पनि धेरै राहत हुन्थ्यो’, पेम्बाले भने ।

लप्चीवासी अहिले उक्त सडक बनिसकेर सहज होला भन्ने आशामा छन् । गाउँसम्म सडक पुग्ला र नेपालतर्फ चौँरी र चौँरीजन्य उत्पादन पठाउन सकिन्छ भन्ने आशामा उनीहरू दुःख खेपिरहेका छन् ।  

नेपालमा याक, चौँरी व्यवसायको विकासको लागि सरकारले लप्चीवासीलाई सहयोग र लप्चीसम्म पुग्ने सडक बनाउने हो भने राम्रो गुणस्तरका चौँरी नेपालका अन्य क्षेत्रमा लैजान सकिने राष्ट्रिय याक तथा चौँरी कृषक संघ नेपालका सचिव दावासङ्बु शेर्पा बताउँछन् ।

‘तिब्बतबाट राम्रो गुणस्तरको चौँरी यहाँसम्म आउँछ, त्यहाँ उत्पादन हुने चौँरी सहज रूपमा अन्यत्र पनि लैजान सक्ने हो भने चौँरी व्यवसाय प्रवर्द्धनमा ठूलो टेवा पुग्छ’, उनले भने । (नेपाल न्यूज बैंक)
 

प्रतिक्रिया