काठमाडौं। चीनमा पछिल्लो समय बालबालिकामा नयाँ लक्षण देखिएको छ। त्यहाँका स्वास्थ्य अधिकारीले अधिकांश बालबालिकामा इन्फ्लुएन्जाजस्ता रोग फैलिरहेको बताएका हुन्। अहिले चीनमा देखिएको नयाँ लक्षणका विषयमा विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले बेइजिङसँग रहस्यमय रोग भन्दै सो बारेमा जानकारी माग गरेको छ।
अहिले चिनियाँ अस्पतालहरु बिरामी बच्चाहरूले भरिएका छन्। अस्पताल पुगेका बालबालिकालाई श्वासप्रश्वासको समस्या देखिएको छ। नेशनल हेल्थ कमिसनका चिनियाँ अधिकारीहरूले नोभेम्बर १२ मा पत्रकार सम्मेलन गरेर चीनमा श्वासप्रश्वाससम्बन्धी रोग बढ्दै गएकोबारे जानकारी भने गराइसकेका थिए।
डब्ल्यूएचओले बालबालिबामा देखिएको यो रोग कोभिड–१९ का कारण आएको हुन सक्ने अनुमान गरेको छ। बालबालिकामा देखिएको समस्यालाई कोभिडसँग जोडेर अध्ययन गर्नु पर्नेमा डब्ल्यूएचओले जोड दिएको छ।
बिरामी बालबालिकाका परिवारलाई उद्धृत गर्दै चिनियाँ समाचार च्यानलले यस रोगको कुनै नयाँ लक्षण नदेखिए पनि बालबालिकाको शरीरको तापक्रम निरन्तर बढ्दै जाने र फोक्सोमा गाँठो बन्ने गरेको बताएका छन्।
चाइना डेलीका अनुसार चीनमा श्वासप्रश्वासको संक्रमण बढ्दै गएपछि विद्यालयहरू बन्द गरिएका छन्। (नेपाल न्यूज बैंक)
प्रतिक्रिया