रामेछाप। गायत्री मन्त्र उत्पत्ति भएको विश्वास गरिने सुनकोसी नदी किनारस्थित विश्वामित्र गुफा धार्मिक र ऐतिहासिक महत्वले परिचित छ। रामेछापको खाँडादेवी गाउँपालिका–१ राकाथुमको सुनकोसी नदी तटमा रहेको यो गुफा सिन्धुलीको दुम्जास्थित आदिर्लिङ्ग कुशेश्वर महादेव मन्दिरबाट रामेछाप तर्फ अवस्थित छ। यो गुफामा विश्वामित्र ऋषिले तपस्या गरेको विश्वास गरिन्छ।
विश्वामित्र ऋषिले गुफामा गायत्रीको आराधना गरी गायत्रीमन्त्र प्राप्त गरेको विश्वास गरिन्छ। गुफामा तपस्या गर्ने विश्वामित्र ऋषि योगबलबाट सुनकोसी नदी तरेर दुम्जामा रहेको कुशेश्वर महादेव मन्दिरमा पूजा
गर्न ओहोरदोहोर गर्थे भन्ने विश्वास गरिन्छ।
गुफामा रहेको शिवलिङ्गलाई सधैँ नागले घेरेर राख्ने गुफाका पूजारी विष्णुप्रसाद नाराल बताउँछन्।
अहिले दुम्जाबाट रामेछाप छिर्न नेपालथोकमा सुनकोसीमाथि पक्कीपुल बनेको कारण कुशेश्वर र विश्वामित्र गुफा जोडिएका छन्। मन्दिरबाट आफ्नो सवारीसाधन हुनेहरु पाँच मिनेटमा गुफामा पुग्न सक्छन् ।
पैदल जाँदा करिब १० मिनेटमा गुफा पुगिन्छ। काठमाडौं र तराईबाट बीपीमार्ग हुँदै कुशेश्वर दर्शन गर्न आउने दर्शनार्थीहरु विश्वामित्र गुफामा पुग्ने गर्दछन्।
पौराणिक नाम रोशमती र सुवर्ण कौशिकी रहेका दुइ नदीहरुलाई रोसी र सुनकोसीको नामले चिनिन्छ। यिनैको संगमस्थलमा रहेको कुशेश्वर शिवलिङ्गलाई संसारकै पुरानो शिवलिंग अर्थात आदिलिंग मानिन्छ। कुशक्षेत्रमा तपस्या गरेर बस्ने भएका कारण विश्वामित्र ऋषिलाई कौशिक ऋषि भनेर पनि पुकारिन्छ।
विश्वामित्र ऋषि जाडो याममा विश्वामित्र गुफामा र गर्मीमा गुफाको सिधा माथि चपाडीको जङ्गलमा रहेको एउटा विशाल ढुङ्गामुनि च्यापमा रात बिताउँथे भन्ने विश्वास छ। बिहान र साँझ कुशेश्वर मन्दिरमा पूजा गर्ने विश्वामित्र बाँकी समय सोही गुफामा साधना गर्दथे भनिन्छ।
सो गुफामा विश्वामित्रले मात्र होइन दानवराज महिषासुर आदिले पनि तपस्या गरेको विश्वास गरिन्छ। अयोध्या नरेश दशरथ पुत्र राम, लक्ष्मण, भरत, शत्रुघ्नले विश्वामित्रसँग यहीँ आएर धनुर्विद्या आर्जन गरेको भनाइ छ।
विगतमा गुफामात्र रहेको सो स्थानमा अहिले स्थानीय सरकार लगायतका निकायले केही संरचना निर्माण गरेका छन्। मध्यपहाडी लोकमार्ग निर्माणको क्रममा भत्किएको गुफाको मुखमा ढलान गरेर संरक्षण गरिएको छ।
कार्तिक शुक्ल द्वादशीका दिन विश्वामित्र ऋषिले ध्यान गरेर देवी गायत्रीबाट गायत्रीमन्त्र प्राप्त गरेको विश्वास गरिन्छ। सोही अवसरमा भोलि शुक्रबार कार्तिक शुल्क द्वादशीका दिन विश्वामित्र गुफामा गायत्रीमन्त्र उच्चारण, होम तथा यज्ञ गर्न लागिएको खाँडादेवी गाउँपालिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले बताए।
‘गुफामा तपस्वी, साधु तथा गुरुहरु आइसक्नु भएको छ, भोलि यज्ञ हुन्छ, त्यसको व्यवस्थापन गाउँपालिकाले गर्दैछ’, उनले भने। (नेपाल न्यूज बैंक)
प्रतिक्रिया