काठमाडौँ। हाल देशमा पश्चिमी वायुका साथै भारतको राजस्थान आसपास क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। यसका कारण देशका विभिन्न स्थानमा बदली र वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार अहिले कोशी, कर्णाली र सुदूरपश्चि प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ भने अन्य प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ। कोशी, कर्णली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। त्यस्तै ती प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको महाशाखाले पूर्वानुमान गरेको छ।
मौसमविद् लामिछानेले आज रातिबाट मौसम विस्तारै सुधार हुँदै जाने उल्लेख गरे। उनले भने, “यो मौसमी प्रणाली आजको लागि हो, रातिदेखि सुधार हुँदै जाने देखिन्छ। देशको पाहडी भू–भागमा आंशिक बदली रहने र बाँकी भू–भागमा मौसम सफा नै रहने देखिन्छ। उच्च पहाडी तथा हिमाली भू–भागको एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।”
सङ्घीय राजधानी काठमाडौँ उपत्यकामा बिहान सामान्य बदली रहे पनि अहिले काठमाडौँको आकाश खुलेको छ। महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही पहाडी भेगका एक–दुई स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।(रासस)
प्रतिक्रिया