विराटनगर। सुनसरीको कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा विभिन्न मुलुकबाट चरा आउने क्रम सुरु भएको छ। दुर्लभ चराहरुको बासस्थान मानिने कोशीटप्पु र आसपास क्षेत्रमा जाडो याममा साइबेरिया, चीनलगायत मुलुकबाट चराहरु आउने गरेका छन्।
चखेवा, जलहाँस, बिजुला गोइरी, श्वेत आँखी भुइँलगायत जातका चरा कोशीटप्पु क्षेत्रमा देखिएका छन्। यसैगरी ट्याकट्याके, बेल्चाढुँडे हाँस, सुडसुडियाजस्ता चरा देखिन थालेको आरक्ष कार्यालयले जनाएको छ।
मंसिर महिना लागेसँगै चराहरुको आउने क्रम सुरु भएको आरक्षका अधिकारीहरुले जनाएका छन्। चराहरु आउने क्रम माघ दोस्रो सातासम्म रहन्छ।
केही वर्ष अघिको तुलनामा अचेल उल्लेख्य संख्यामा भने चराहरु देखिएका छैनन्। आरक्ष क्षेत्रमा रहेका सिमसारहरु सुक्दै जानु, चराको आहारा र बासस्थान मासिनु जस्ता कारणले चरा आगमन प्रभावित भएको स्थानीय जानकारहरुको भनाइ छ।
नेपालमा ८ सय ८८ प्रजातिका चरा पाइने गरेको तथ्यांक छ। तीमध्ये कोशीटप्पु आरक्ष क्षेत्रमा मात्रै ५ सय २३ भन्दा बढी प्रजातिका चराहरु पाइन्छन्। हाँसका मात्र ३४ प्रजाति नेपालमा पाइन्छ। यस क्षेत्रमा विश्वमै संकटापन्न सूचीमा रहेका २९ प्रजातिका चरा पाइन्छन्।
हिउँदका बेला विभिन्न देशबाट एक सयभन्दा बढी प्रजातिका चरा आउने गरेको आरक्षले जनाएको छ। चरा र वन्यजन्तु अवलोकन तथा अध्ययन गर्न देश तथा विदेशका आगन्तुकहरु आरक्ष क्षेत्रमा आउने गरेको सुनसरीको बराहक्षेत्रका भीष्म अधिकारी बताउँछन्।
सिमसारहरु व्यवस्थित गर्दै चरा र वन्यजन्तुहरुको संरक्षणका लागि केन्द्रीयदेखि स्थानीय सरकारले ठोस योजना ल्याउनुपर्ने स्थानीय बासिन्दाहरुले बताउँदै आएका छन्। यसैगरी आरक्ष क्षेत्रमा रहेका जलाशय र सिमसारमा रहेका माछा स्थानीय बासिन्दाले संकलन गर्ने भएकाले चराको आहारामा कमी आएको हो।
सिमसारहरु सफाइ गर्ने, पानी निरन्तर उपलब्ध हुने व्यवस्था गर्ने जस्ता काम आवश्यक रहेको जनाइएको छ। स्थानीय जनप्रतिनिधि भने स्थानीय सरकारको अधिकार र बजेट कटौती जस्ता कारणले चाहेर पनि कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा संरक्षणको काम अपेक्षित रुपमा गर्न नसकिएको बताउँछन्।
पर्याप्त बजेट र अधिकार दिइए आरक्ष क्षेत्रको विकासमा स्थानीय सरकारले गर्न सक्ने काम धेरै रहेको सुनसरीको कोशी गाउँपालिकाका अध्यक्ष अयुब अन्सारीको भनाइ छ।
२०६५ भदौ २ गते कोशी गाउँपालिकाको पश्चिम कुसाहा–४ मा सप्तकोशी नदीले पूर्वी तटबन्ध भत्काएपछि पनि चराको बासस्थान प्रभावित भएको थियो। त्यसयता आरक्ष क्षेत्र आसपास मानवीय गतिविधि बढ्नुले पनि प्रभाव परेको जनाइएको छ।
चराको स्वर्ग भनेर चिनिने कोशीटप्पुमा चरा गणना पनि गर्ने गरिएको छ। चराविज्ञ र प्राविधिकसहितको टोली सहभागी भएर हालसम्म ३३ पटक आरक्ष क्षेत्रका चरा गणना गरिएको छ।(नेपाल न्यूज बैंक)
प्रतिक्रिया