निलगाई र बँदेलले बालीमा क्षति पुर्‍याउँदा किसान हैरान

रौतहट। बन क्षेत्रबाट निस्केर गाउँ प्रवेश गरी निलगाई र बँदेलले बालीमा क्षति पुर्‍याउँने गरेपछि कृषक चिन्तित भएका छन्। बन नजिक रहेका उत्तरी भेगका गाउँहरुबाट जंगली जनावर निलगाई र बँदेल खेतमा आउने गर्छन्।

प्रायः साँझको बेलामा आउने निलगाई तथा बँदेलले बाली खाने र माडेर नष्ट पार्ने गरेको कृषकहरुको गुनासो छ। मेहनत गरेर उब्जाएको बाली जंगली निलगाई र बँदेलले खान थालेपछि चिन्तित भएको कटहरिया नगरपालिका–४ का कृषक गणेश साहले बताए।

वर्षभरका लागि उत्पादन गरिने अन्नपात जंगली जनावरले क्षति पुर्‍याउँदा यस भेगका कृषक चिन्तित भएको उनको भनाई छ । भारतीय सिमानादेखि उत्तर वन क्षेत्रसम्म लालबकैया नदीको दुवै किनारमा रहेका काँसघारी र उखुबालीमा लुकेर बस्ने निलगाई, घोडगदहा, बँदेल साँझ परेपछि बारीमा पस्न थाल्छन्।

नजिकैको सामुदायिक वन र राष्ट्रिय वनबाट आउने निलगाई र बँदेलले किसानहरुले लगाएको उखु, गहुँ, तोरी, केराउ, मसुरो, केरा, तरकारी बालीमा बढी क्षति गर्ने गरेको छ। 

निलगाईले फतुवा विजयपुर नगरपालिका पेटभर्वाका किसानहरुको खेतमा बढी क्षति पुर्याएको छ। स्थानीय किसानहरु भरदुल साहको २० कट्ठा, हरुनी साहको १० कट्ठा, श्रीकान्त यादवको १५ कट्ठा, नगिना साहको १५ कट्ठा, सुरेश यादवको १६ कट्ठा, रघुनाथ साहको १५ कट्ठा, तेजिलाल यादवको करिब १ बिगहाको बालिमा क्षति गरेको छ। 

पछिल्लो केही वर्षदेखि निलगाईले जिल्लाका प्रायः सबै स्थानीय तहका किसानले लगाएको बालीमा क्षति पुर्याउने गरेको छ। फतुवा विजयपुर, कटहरिया, मौलापुर, देवाही गोनाही, गुजरा लगायत जिल्लाको प्रायः सबै स्थानीय तहका किसानहरुले लगाएका बालीमा क्षति पुगेको त्यहाँका कृषकहरुले गुनासो गरेका छन्। 

हाल जंगली जनावरको क्षतिबाट आफ्नो बाली जोगाउन नदी किनारका मचान (काठको बिश्राम गर्ने ठाउँ) बनाएर रातभरी टिन पिटेर बस्ने गर्दछन्। कतिपय किसानले जंगली जनावर धपाउन राति पटका समेत पड्काउने गरेका छन्। 

प्रायः निलगाईले धनियाँमा बढी क्षति गर्ने भएकाले यहाँको कृषकले खेती लगाउन छाडेका छन्। नगदेबालीको रुपमा रहेको धनियाँको गन्ध टाढैबाट निलगाईले सुँघेर थाहा पाउने र क्षति गर्ने भएकाले लगाउन छाडिएको कृषकहरुको भनाई छ। 

पटक–पटक निलगाई नियन्त्रण गर्न स्थानीय तह तथा डिभिजन वन कार्यालय रौतहटमा अनुरोध गर्दा पनि कुनै वास्ता नगरेको कृषकहरुको गुनासो छ। डिभिजन वन कार्यालय रौतहटका अनुसार निल गाईलाई क्षति पुर्याउनु कानुनी अपराध हो। निलगाई तथा बँदेलबाट बाली जोगाउनलाई कृषक नै सचेत हुनु पर्ने वन कार्यालयको भनाई छ। जंगली जनावरलाई क्षति नपुर्याउन समेत डिभिजन वन कार्यालय रौतहटले आग्रह गरेको छ।(नेपाल न्यूज बैंक)

प्रतिक्रिया