न्यूयोर्क। संयुक्त राष्ट्रसंघको विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले युद्धग्रस्त गाजाका ३६ प्रतिशत परिवार अहिले गम्भीर भोकमरीको सामना गरिरहेको बताएको छ।
गाजा स्वास्थ्य मन्त्रालयका प्रवक्ता अशरफ अल–कुद्राका अनुसार गाजा पट्टीमा अब कोही जान सक्ने कुनै सुरक्षित स्थान बाँकी छैन।
संयुक्त राष्ट्र संघका वरिष्ठ अधिकारी र डब्ल्यूएफपीका उपनिर्देशक कार्ल स्काउले गाजाको आधा जनसंख्या त्यहाँ लडाइँ जारी रहेकाले भोकले मरिरहेको चेतावनी दिएका छन्।
स्काउले अत्यावश्यक आपूर्तिको एक अंश मात्र गाजा पट्टीमा प्रवेश गर्न सक्छ। १० मध्ये नौ जनाले दैनिक खाना पाउन नसकेको बताए।अक्टोबर ७ देखि गाजा भित्र र बाहिर आवतजावतमा प्रतिबन्ध लगाइएको छ। हमास शासित गाजाको स्वास्थ्य मन्त्रालयले इजरायलको जवाफी कारबाहीका कारण गाजामा करिब १८ हजार मानिसको मृत्यु भएको जनाएको छ।
जसमध्ये सात हजारभन्दा बढी बालबालिका छन्। गाजाको अल–नासर अस्पतालको आईसीयू वार्डमा अस्पतालको ओछ्यानमा शिशुहरूको विकृत शव भेटिएको दाबी पनि गरिएको छ।
तीन शिशुहरूलाई अस्पतालको मेसिनमा जोडिएको थियो र शवको छेउमा डायपर र दूधका बोतलहरू भेटिएका थिए। गाजामा तत्काल मानवीय युद्धविरामको माग गर्दै संयुक्त राष्ट्र सुरक्षा परिषद्को प्रस्तावमा अमेरिकाले भिटो लगाएको एक दिनपछि यो अवस्था सार्वजनिक भएको हो। उता, इजरायलले हमासलाई हटाउन र इजरायली बन्धकहरूलाई घर फर्काउन गाजामा हवाई आक्रमण जारी राख्नुपर्ने बताएको छ।(नेपाल न्यूज बैंक)
प्रतिक्रिया