‘एचआइभी संक्रमितलाई हुने भेदभाव अझै पनि हट्न सकेन’

नेपालको संविधानले कुनै पनिनागरिकको सम्मानपूर्वक बाँच्न पाउने अधिकारको सुनिश्चित गरेको भएपनि एचआइभी संक्रमित माथि अहिले पनि विभिन्न विभिन्न खालको भेदभाव र अपमान हुने गरेको पाइएको छ।

आइतबार विश्व मानव अधिकार दिवस मनाइरहँदा एचआइभी संक्रमितहरुले भने अहिले पनि समाजबाट विभेद र अपमानित हुनुपरेको उनीहरुको गुनासो छ ।एचआइभी संक्रमितहरुलाई अझै पनि विभेद गरिने गरेको भन्दै सरोकारवालाहरुले चासो र चिन्ता व्यक्त गरेका छन् ।

राष्ट्रिय एचआईभी तथा एड्स महासंघकी परियोजना अधिकृत राजेश्वरी प्रजापति अझै पनि समाजमा एचआईभी संक्रमितहरुमाथि मानवअधिकारको लाञ्छना अनि भेदभावका घटना देखिँदै आएको बताइन् । उनले सरकारले सबैका लागि समान मानव अधिकार भनेर सुनिश्चित गरेको भए पनि एचआइभी संक्रमित बालबालिकालाई विद्यालयबाट निकाल्ने, संक्रमित भएको थाहा पाएपछि कामबाट निकाल्ने तथा स्वास्थ्य उपचारमा समस्या हुने जस्ता समस्याहरु अझै पनि व्याप्त रहेको भन्दै यसमा सरकार गम्भीर हुनुपर्नेमा जोड दिइन् । उनले संक्रमितहरु लैगिंक हिंसा तथा सामाजिक बहिस्कारमा समेत पर्दै आएको जिकीर गरिन् । यसका साथै उनीहरुको जन्म दर्ता तथा विवाह दर्ता तथा नागरिकतामा समस्या हुँदा पछि गएर विभिन्न अवसरबाट वञ्चित हुने गरेको उनको भनाई थियो ।

नेपालमा रहेका ३० हजार एचआइभी संक्रमित मध्ये २४ हजार ३ सय जनाले एचआइभी भाइरस सपेसको लागि औषधी नियमित रुपमा सेवन  गरिरहेका छन्। बाँकी संक्रमित सम्पर्कमा आएका छैनन्। सरकारले सन् २०३० सम्ममा औषधी पुरै प्रतिशत सङ्क्रमितले औषधी सेवन गरेको स्थिति बनाउने लक्ष्य लिएको छ। कार्यक्रम  राष्ट्रिय एचआईभी तथा एड्स महासंघकाे आयोजनामा भएकाे थियो ।

प्रतिक्रिया