काठमाडौं। प्रहरीले लागूऔषध कारोबारीलाई समात्न ललितपुरमा गोली चलाएको छ।
मंगलबार उपत्यका अपराध अनुसन्धान कार्यालय,बानेश्वरबाट खटिएको टोलीले ललितपुरको झम्सीखेलमा गोली प्रहार गरेर लागूऔषध कारोबारी उदयपुरका ४५ वर्षीय अविनाश राईलाई नियन्त्रणमा लिएको हो।
उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीका अनुसार, प्रहरीमाथि आक्रमण गरेपछि राईलाई नियन्त्रणमा लिन गोली चलाउनु परेको थियो। सो क्रममा राईको दाहिने खुट्टामा गोली लागेको र उनलाई नियन्त्रणमा लिई उपचारको लागि ट्रमा सेन्टर लगिएको रेग्मीले जानकारी दिए।
प्रहरीले राइलाई नियन्त्रणमा लिई उनको साथमा रहेको कटुवा पेस्तोल र लागुऔषध बरामद गरेको छ। (नेपाल न्यूज बैंक)
प्रतिक्रिया