काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आन्तरिक लोकतन्त्रलाई बलियो र संस्थागत गरेर लैजान सकिएमा मात्र कांग्रेसलाई जनताको भरोसाको केन्द्र बनाउन सकिने बताएका छन् ।
पार्टीको १४औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै पौडेलले नेता तथा कार्यकर्तामा लोकतान्त्रिक आदर्श, निष्ठा र नैतिक शक्ति अभिवृद्धि गरी स्वच्छ निर्वाचन र प्रतिस्पर्धालाई प्राथमिकता दिनुपर्ने बताए ।
पौडेलले भने, “के कारण कम्युनिष्टभन्दा कांग्रेसमा कमजोरी र पछाडि पर्यो त्यसको समीक्षा गरिनुपर्छ । निमुखाको न्याय हराएको छ, पार्टीमा भ्रष्टाचार, अनुशासन र नैतिकता कायम गर्न आवश्यक छ ।”
गौरवशाली इतिहास, सिद्धान्त र सङ्गठन भएको कांग्रेसले आफ्नो एजेण्डाका माध्यमद्वारा प्रतिपक्षीलाई आगामी निर्वाचनमा पराजय गर्न सकिने उनले उल्लेख गरे ।
पौडेलले गाउँमै रोजगारी दिने विकासको मोडेल आवश्यक रहेको भन्दै त्यसका लागि राजनीतिमा सुधारको खाँचो रहेको बाए । हाम्रो भविष्यको बाटो तय गर्न र पार्टीलाई सफल बनाउन सबै लाग्नुपर्ने उनको जोड थियो । पार्टीलाई जनताको भरोसाको केन्द्र बनाउन आन्तरिक लोकतन्त्र आवश्यक रहेको नेता पौडेलको भनाइ थियो ।
प्रतिक्रिया