रामेछाप। रामेछाप र दोलखाको शैलुङ क्षेत्र आसपासमा किसानले लगाएको काउली बिक्री नहुँदा लाखौँ रुपैँयाको क्षति बेहोर्नु परेको छ।
किसानले लगाएको काउली बिक्री नभएपछि बारीमा त्यतिकै सडेर गएको छ। उचित मूल्य नपाएपछि किसानले काउली बिक्री नगरी त्यतिकै बारीमा छाडिदिएका छन्।
स्थानीय अगुवा कृषक दावासङ्बु शेर्पाका अनुसार अहिले शैलुङमा काउली प्रति केजि पाँच रुपैयाँमा पनि बिक्री हुन छाडेको छ। व्यापारीले काउलीको भाउ पाँच रुपैयाँ निर्धारण गरेपछि किसाने बिक्री गर्न छाडिदिएका हुन्।
“पाँच रुपैयाँ किलोमा त बारीबाट उठाएर प्याक गर्ने खर्च पनि पुग्दैन, मल, बिउ तथा मिहनेतको त कुरा कता हो कता, त्यसले किसानले काउली बारीमा नै छाडिदिएका छन्”, शेर्पाले भने।
शैलुङ क्षेत्रमा पर्ने रामेछापको डडुवा, दोरम्बा र गौश्वारका किसानले ठूलो परिमाणमा व्यावसायिक रुपमा काउली खेती लगाएका थिए। त्यस्तै, दोलखाको शैलुङ गाउँपालिकाका किसानले पनि काउली लगाएका छन्। दुवै जिल्लाका किसानको काउली अहिले बारीमा सडेर गएको छ।
तिहार अघिसम्म प्रतिकिलो ५० रुपैयाँसम्ममा बिक्री भएको काउलीको भाउ स्वाट्टै घटको शेर्पाले बताए। भाउ नै नपाएपछि किसानले काउली सडाएर फाल्न बाध्य भएको उनको भनाइ छ।
किसानले लगाएकोमध्ये २५ देखि ३० प्रतिशत काउली सढेर गएको उनले बताए। दुवै जिल्लाको गर्दा करिब एक करोड रुपैयाँ बराबरको काउली नास भएको शेर्पाको अनुमान छ।
सरकारले कृषि बजार सुनिश्चित नगरिदिँदा किसानले नोक्सान बेहोर्नु परेको उनले बताए। “न बजारको ग्यारेन्टी छ, न प्रशोधन गर्ने कुनै उपकरण र सीप नै दिएको छ, किसानको लगानी त्यतिकै खेर गयो”, उनले भने ।
शैलुङ आसपासका किसानले केही वर्षयतादेखि व्य वसायिक रुपमा तरकारी खेती लगाउँदै आएका छन्। शैलुङका किसानले सो क्षेत्रमा साग, काउली, बन्दा, गाजर, मुला, केराउ लगायतका खेती लगाउँदै आएका छन्। (नेपाल न्यूज बैंक)
प्रतिक्रिया