हिमालय क्षेत्रको यात्रामा  कोप–२८ को सान्दर्भिकता

rokat basnet copyटाढाबाट हिमाल देखिँदा फुरुङ्ग हुने मन हिजो आज हिमालकै फेदमा पुग्दा पनि रमाउन सक्दैन । सेतो चाँदी झै टल्कने हिमाल अब नजिकबाट देख्न निकै कठिन छ । नेपालको जम्मा क्षेत्रफलको १५ प्रतिशत क्षेत्रफल हिमालय क्षेत्रले ओगटेको छ । नेपालको सीमाभित्र लगभग १३०० वटा हिमचुचुराहरु रहेका छन् । आठ हजार मिटरभन्दा अग्ला चुचुरा ८ वटा  नेपालमै पर्दछन् । ५००० मिटरभन्दा माथिको क्षेत्र वर्षैभरि हिउले ढाकिएको हुनुपर्दछ । तर नजिकैबाट नियाल्दा हिमालयमा हिउ एकदमै कम छ । सेताम्मे देखिने र चम्किलो हिमाल कालो चट्टानको पहाड देखिन थालेको छ ।

कालो चट्टानले युक्त हिमालय क्षेत्र देख्दा जो कोहीको पनि मन अमीलो र अनुहार मलिन हुन्छ । के पृथ्वीभरका मानिसले गरेका गतिविधिको दुष्परिणाम हिमालले नै भोग्नु पर्ने हो त ? आनन्द, मनोरमता, स्वच्छता, अटलता, जीवनरक्षक र पारिस्थितिक प्रणालीको  प्रतिमूर्ति हिमालको अस्तित्व सङ्कटमा पर्नै लागेको हो त ? सन् २०२३ नोभेम्बर ३० देखि दिसम्बर १२ सम्म युनाइटेड अरब इमिरेटसको दुवै शहरमा आयोजित कोप–२८ को सम्मेलनको सन्दर्भमा  विषयवस्तु बनेको हिमालले पुनःजीवन पाउला त !

कोप–२८ को उद्घाटनका क्रममा नै सयुंक्त राष्ट्र संघका महासचिव गुटेरसले नेपालका हिमाल र हिमनदीको अवस्थाबारे प्रसङ्ग उठाएर सहभागी २०० राष्ट्रका प्रतिनिधि तथा विज्ञ सहभागीहरुलाई जलवायु परिवर्तनले पारेको असर र नेपालीहरुले भोग्नु परेका समस्याको बोध गराएको समाचार सुन्न पाइयो । सोही समयमा यो पंक्तिको लेखक (म) पनि लाङ्गटाङ्गको स्वैच्छिक भ्रमणमा घुमन्तेका रुपमा १ जना फ्रान्सेली, एकजना अमेरिकन र एक जना नेपालीका साथमा हिमालय क्षेत्रमा पुगेको थिएँ । कोप–२८ को सम्मेलनलाई नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालले पनि नेपाल, हिमाल र नेपालीका तर्फबाट सम्बोधन गरेको समाचार सुनियो ।

नेपाली जनताको तर्फबाट आफू प्रतिनिधि भएर सम्मेलनलाई सम्बोधन गर्दै जलवायु परिवर्तनको असरका कारण हिमालले भोगेको दर्दनाक अवस्था, हिमनदीहरुको अवस्था र कार्बन उत्सर्जनमा शून्यलगभग योगदान भएका नेपालीले व्यहोर्नु परेका असर र जोखिमहरुको उल्लेख गर्दै त्यसले नेपाली समाजमा पारेको वातावरणीय, आर्थिक, सामाजिक, साँस्कृतिक अवस्था दयनीय चित्रण गर्दै विश्वका सरकार र विज्ञहरुको ध्यानाकर्षण गराउँदै हुनुहुन्थ्यो । यात्राका क्रममा प्रधानमन्त्रीले विश्वसामु प्रस्ताव गरेका समस्याहरुको सान्दर्भिकता बोध गराउँदै मैले हिमालय क्षेत्रका काला पत्थरका थुम्कातिर देखाउँदै साथीहरुलाई भने ‘हामी साच्चिकै पीडामा छौ’ । 

नेपालको हिमाली क्षेत्रमा ४ लाख परिवारमा १८लाख मानिसहरु स्थायी बसोबास गर्दछन् । हिमाली वातावरणमा परिवर्तन देखिन थालेकाले बस्तीहरु जोखिममा छन् । २०७२ सालको भूकम्पले लाङ्गटाङ्ग उपत्यकालाई तहसनहस पार्यो । २४३ जना भन्दा बढी मानिसको ज्यान लियो । २०० भन्दा बढी नै घरहरु पुरिए । त्यो लाङ्गटाङ्ग हिमालबाट आएको हिम पहिरोले तल्लो पहाडलाई ठक्कर दिँदा त्यसको ठीक तल रहेको लाङ्गटाङ्ग उपत्यका पुरियो । लाङ्गटाङ्ग  उपत्यका मनमोहक छ तर शिरमा नै लाङ्गटाङ्ग  हिमाल भएकाले समयसमयमा खस्ने हिम पहिरोले सताइरहन्छ र तर्साइ रहन्छ । त्यसलाई पार गर्दै अर्को दिन क्यन्जेंग गुम्बा उपत्यकामा पुगेर बास बसेपछि हामीले क्यनजेन ग्लेसियर हेर्ने र अर्को दिन कारगो री (४९९८५ मि.) चढ्ने नीधो गर्यौं । त्यहाबाट थुप्रै हिम चुचुराहरु देख्न पाइन्छ । 

भोलिपल्ट क्यानजेन ग्लेसियर (४७७३ मि.) हेर्न जानका लागि उकालो लाग्दै गर्दा लाङ्गटाङ्ग हिमालय क्षेत्रमा विशाल पहिरो गएको आवाज सुन्नमा आएकाले हामी तर्सिका थियौ र क्याङ्गज्याङ्ग री को नजिक फेदीमा जान डरायौँ । क्यानज्यन रीबाट झर्दै गरेको  हिम पहिरोको कारण उडेको धुँवा जस्तो मुस्लो प्रष्ट देखिन्थ्यो । म त्यसलाई मोवाइलमा कैद गर्दै र पग्लिदै गरेको क्यानजेन ग्लेसियर मन कुढ्याएर नियाल्दै थिएँ । त्यही समयमा फ्रान्सेली सहयात्रीले पहिरोले पुरेर छोपिएको कतैकतै देखिने आइसको ढिस्को देखाउँदै सोधेको थियो–यो आइस पहाड जत्रै होला है ?

यो जलवायु परिवर्तनको असरका कारण पुरिएको होला है ? यो आइस हजारौँ वर्ष पुरानो होला? हिम पहिरोको आवाजको डर लुकाउन नसकेको बेला मैले उसको प्रश्नको जवाफ टार्न उत्तर खोज्दै बल्लतल्ल उसलाई उत्तर दिएको थिएँ– ‘म हिमालय क्षेत्रको गहिरो ज्ञान बोकेको छुइँन मित्र’ । तर मेरो मनमा एक किसिमको सन्त्राश उब्जिएको थियो । हिमालय क्षेत्रमा यसरी पहाड खसेर समथर क्षेत्रमा जम्मा भएको र त्यसको छेउतिरको भागमा बाँध जस्तो भएर पहिरो थुप्रिएको थियो ।

langtang 1

 यसरी पहिरो खस्दै जाने र हिमालय क्षेत्रका तल्लो तहमा रहेका आइसका पहाडहरु छोपिदै जाने हो भने  तल्लो तटीय क्षेत्रको अवस्था के होला भन्ने लागेर मन अत्तालिएको थियो । विश्वको तापमान बढ्दो छ । आइस पग्लने क्रम तीव्र छ ।  कालान्तरमा त्यो छोपिएको आइसको ढिस्को नपग्लेला र विशाल  हिमताल नबन्ला भन्ने के ग्यारेन्टी छ र ! त्यसरी बनेका तालहरु स्वभावैले कमजोर हुन्छन जुन विष्फोटको सम्भावना रहन्छ जस्तो अनुभूति भइरहेको थियो । एक दिन कागबेनीमा र मेलम्चीमा आएको जस्तो बाढी र विपत्ती व्यहोर्न नपर्ला र ! हामी निकै तल झरेर क्याङ्गज्याङ्ग भ्यालीको लागि  कादुरी संस्थाले बनाएको जलविद्युत आयोजनाको ड्याम (जुन  हिमताल बनेको थियो)  तिर मोडियौँ ।

लक्ष्यमा पुग्न नपाएको मेरो मन निकै थकित थियो । शरिरले अक्सिजनको कमी महशुष गरिरहेको थियो । मैले नेपाली साथी (लक्ष्मण बस्नेतजी)लाई हिमाली क्षेत्रमा गरिने ध्यानको महत्व बताएँ । साथीले पनि स्वीकार गर्नु भयो । फ्रान्सेली नागरिक (रोमन) र अमेरिकी नागरिक (डेभिड) अर्को हिमतालको दृष्यावलोकनमा गए । हामी त्यहीँ ध्यानमा बस्यौँ र ध्यान सकिए पछि साथीहरु गएको तिर लाग्यौँ । 

जति हिमाली क्षेत्रको नजिक गयो उति हिउँ नहुनाले हिमालले चमक गुमाएको देखिन्छ । हिउदको ठण्डीमा पनि हिम पहिरोका आवाजहरु हिमालय क्षेत्रमा यत्रतत्र सुन्न पाइन्छ । हिमतालहरु पानीका ठूला पोखरीमा परिणत भएका छन् । हिमालयको पहाडमा हिउँको कमी हुनाले हिमाली क्षेत्रमा सुख्खा पहिरो गइरहेको देख्न सकिन्छ । हिउँ र आइसले समाएर राखेका पत्थरहरु बन्धनको अभावले खुल्ला र चलायमान छन् । हावा चलेको वखत हिमालयको तल्लो काछमा हिड्न निकै मुस्किल र खतरनाक हुन्छ । जुनसुकै बेला हिमालयको पहाडबाट पत्थर झर्ने सम्भावना रहन्छ । हिमनदीको जलाधारका रुपमा रहेका हिमाली क्षेत्रका खोल्साहरु सुख्खा भेटिन्छन् । किन कि त्यसको प्रमुख स्रोत–आधार नै माथिल्लो भागको आइस हो । आइस नजमेको कारण र हिमालमा प्रशस्त हिउँ नपरेको कारण तल्लो तटीय क्षेत्रका जीवनदायिनी खोल्साहरु हिमाल मै सुख्खा भएका छन् ।  

जलाधारका रुपमा रहेका खोल्साहरुले बाढी ल्याएर बनाएका ठूला बगरहरु हिमालय क्षेत्रमा प्रशस्त बनेका छन् ।  हिमालको यस्तो दर्दनाक अवस्थाले हिमाली क्षेत्रको यात्रीको मनलाई नमिठोसँग चसक्क घोच्दछ । चीसोले जमेर स्वच्छ बस्ने अटल हिमाल विश्व तापमानको प्रभाव, जलवायु परिवर्तको असर, प्राकृतिक स्रोत र साधनमा भएको अत्याधिक दोहन र शोषण, मौषम चक्रमा देखिएको फेरबदल, जीवाश्म उर्जाको अत्याधिक प्रयोग, हिमाली क्षेत्रमा भएको मानव अतिक्रमण आदि लगायत मान्छेले अपनाएका विविध गलत प्रयोग गलत व्यवहारका कारण हिमाल कालो र उदास भएको छ । तर विकसित राष्ट्रहरु आफ्नो सान र प्रभाव नेपाल जस्ता अती कम विकसित देश र हिमालजस्तो सानो क्षेत्रका लागि त्याग गर्न तयार देखिँदैनन् ।

जब मानिस हिमालको सौन्दर्यको भोकले हिमालयको फेदीमा पुग्दछ  हिमालयको कारुणिक अवस्था देखेर खिन्न हुन्छ । टाढाबाट देखिएको सेतो र टल्कने हिमाल त्यहाँ भेटिदैन । टाढाबाट देखेको हिमाल त पहाडको टुप्पामा रहेको हिउँको टोपी मात्रै रहेछ । हिमाली पखेराहरु त नाङ्गै रहेछन् । जुन टाढाबाट देख्न सकिँदैन । पाँचहजार मिटरको उचाइसम्म पनि हिमाली क्षेत्रको यात्रीले हिउँदो महिनामा हिउँ टेक्न पाउँदैन । घाम नलाग्ने खोल्साहरुमा बगीरहेको पानीको माथिल्लो भागमा कतैकतै तल्लो तटीय क्षेत्रमा जम्ने ठाँटो जस्तो पातलो आइसको तह छरिएको देखिन्छ । हिमालय क्षेत्रमा  हिमालको अवस्था कालो चट्टानमा सेतो दाग लागेको जस्तोभान हुन्छ । हिमाल आफ्नो जीवनको उत्तरार्धको वृद्ध र रुग्न अवस्थामा कठिनाइपूर्वक ठडिएको झैँ लाग्दछ । 
हिमालको मानवीकरण र मानवलाई हिमालको लाक्षणिकतामा वर्णन गर्ने पूर्वको परम्परामा सँस्कार सस्कृतिको अभिन्न अंग जस्तै बनेको छ ।

वैदिक मन्त्रहरुमा पनि हिमालयको उल्लेख छ । तत्वद्रष्टा ऋषिहरुले प्रकृतिको नजिक रहेर संकलन गरेका मन्त्रहरु आचरण, व्यवहार र मोक्षका साधनहरु मानिएका छन् । वैदिक सूुक्तहरुले त हिमालयको सौन्दर्यलाई श्रृंगारिक तवरले गरेका व्याख्याहरु पढ्न र सुन्न प्रशस्त पाइन्छ । पौराणिक ग्रन्थहरुमा त यसको महिमा, सौन्दर्य, श्रृंगार, उपयोगिता र महत्वको चर्चा जीवनपरक ढंगले गरिएको छ । आधुनिक कालमा पनि साहित्य, खोजअनुसन्धान र आविस्कारका लागि हिमाल र हिमालय क्षेत्र उत्तिकै रहस्यम र गहन छ । यसरी हेर्दा वैदिक कालदेखि अहिलेसम्म नै उत्तिकै सम्मानजनक स्थान मानव जातिले हिमालयलाई दिएको पाउँदा हिमालय क्षेत्रको यात्रा र प्रसङ्गमा गौरब नगर्ने को होला र ? 

हिमाललाई भौतिक र प्रतिकात्मक दुवै रुपमा जीवन र जगतले स्वीकारेको छ ।  हिमालको मानवीकरण र मानवको हिमालीकरण लक्षणा, व्यञ्जना र अविधाका अर्थमा निकै सान्दर्भिक र गहन लाग्दछ । वास्तवमै हिमाल जीवनप्रदायक प्राकृतिक सम्पदा हो । हिमाल जस्तै अटल, हिमाल जस्तै स्वच्छ, हिमालजस्तै मनोरम, हिमाल जस्तै सुन्दर आदि जस्ता उपमा पाउँदा जो कसैको मन पुलकित हुन्छ । सामाजिक जीवनमा यी उपमाहरु निकै ओजपूर्ण पनि छन् । हिमालको शाब्दिक उपमा पाउँदा पनि पुलकित हुने मन आफ्नो अगाडी स्वच्छ, अटल र सुन्दर हिमाल ठिङ्ग उभिएको देख्दा सान, मान र गौरवले आफै उभिएको झै गरी गर्व र गौरव महशुष गर्दछ । 

भौतिकरुपमा हिमाल जीवनदायक प्राकृतिक साधन हो । हिमालयको हिउ नै पानीको स्थायी स्रोत हो । हिमनदीको उद्गम नै हिमालय हो भने वर्षात्मा पर्ने पानीका लागि पनि सहायक साधन हिमाललाई नै लिइएको छ । हावामा रहेको आद्रता नै हिमालमा ठोक्किएर फर्किए पछि मात्र वर्षात्को वातावरण बन्दछ । वातावरण प्रदुषणको न्यूनीकरण र हावाको स्वच्छताका लागि हिमालको भूमिका भौतिकरुपमा नै निकै महत्वपूर्ण र प्रमाणिक छ । आद्यात्मिक दृष्टिले पनि हिमालय क्षेत्रको महतालाई कम आँकलन गर्न सकिँदैन । हिमालको दर्शनबाट ध्यान, धारणा, नियम र संकल्प शक्ति प्राप्त हुने कुरा पौराणिक ग्रन्थ, जनजिभ्रो र आध्यात्मिक मार्गमा लागेका विश्वका चर्चित व्यक्तित्वहरुबाट बारबार अभिव्यक्त भइरहेका छन् ।

आर्थिक रुपमा पनि नेपालका हिमालहरुको महत्व निकै माथि छ । नेपालको आन्तरिक उत्पादनको खपत र रोजगारीको सूचाङ्कमा पर्यटन क्षेत्रको ठूलो योगदान रहेको छ ।  नेपालको सन्दर्भमा त विदेशी मुद्रा आम्दानीको प्रमुख माध्यम नै पर्यटन हो । पर्यटकको मुख्य आकर्षण हिमाली क्षेत्र र हिमालय नै हो । सन् २०२२ मा  नेपालको कुल ग्राह्यस्थ उत्पादनमा ७.६ प्रतिशत योगदान पर्यटन क्षेत्रको रहेको छ । हिमनदीहरु स्वच्छ हरित उर्जाका लागि मुख्य स्रोतहरु हुन् । जलविद्युत विकासका लागि हिमनदीहरु एक मात्रै स्रोत बनेका छन् । जसले दीगो विकास लक्ष्यलाई प्रत्यक्ष टेवा पु¥याउँदछ । जलवायु परिवर्तनका असर न्युनीकरण र कार्बन उत्सर्जनलाई परिमाणात्मक कम गर्नका लागि हिमनदीको जननी हिमालको अकाट्य महत्व छ । 

जीवन र जगतका विविध क्षेत्रमा प्रत्यक्ष र परोक्ष प्रभाव रहेको हिमालय र हिमाली क्षेत्रको अवस्थालाई नियाल्दा निकै पीडादायी छ । त्यसमा परेका प्रभावहरुको जनजीवनमा देखिएका असरहरुलाई कति दिनसम्म दैवको नियतिका रुपमा लिएर मन बाँधेर बस्न सकिएला । यात्रुको मनमा उब्जिएका शंकाहरु न्यूनीकरणमा कोप २८ को योगदान कति रहला !! हिमाल देखिँदा मन मस्तिष्क फुरुङ्ग होला त !

rokat basnet

प्रतिक्रिया