गाजामाथि इजरायलको आक्रमण तिव्रः १८ हजार बढी मारिए

काठमाडौँ। इजरायलले गाजा पट्टीको आक्रमणलाई तिव्रता दिएको बताएको छ। 

इजरायलले गाजाको सिमानामा आक्रमण गर्दा त्यहाँ बसोबास गर्ने धेरै परिवारको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। 

गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार अक्टोबर ७ यता इजरायली आक्रमणमा १८ हजार ६०० भन्दा बढी प्यालेस्टाइनी मारिएका छन्।

प्यालेस्टाइन सेन्टर फर पोलिसी एन्ड सर्भे रिसर्चले गरेको सर्वेक्षणले जनतामा हमासलाई समर्थन भने बढ्दै गएको देखाएको छ। त्यस्तै, गाजाको दक्षिण किनारमा अस्थायी पालमा बसेका महिला र पुरुषहरू रफाहको शवगृहमा रोइरहेको भिडियो सार्वजनिक भएका छन।

बुधबार राति भएको हवाई हमलामा मारिएकाहरुको शव रगतले लतपतिएको कफनमा बेरिएको छ। त्यसमा केही साना बालबालिका पनि परेका थिए। 

इजरायली सुरक्षा मन्त्रिपरिषद्ले आक्रमणहरू अमानविय भएको अमेरिकी राष्ट्रपति जो बाइडेनको भनाइलाई अस्वीकार गरेको छ। बाइडेनले अन्धाधुन्ध बमबारी नगर्न इजरायललाई आग्रह गरेका थिए।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले अन्तिमसम्म युद्ध जारी राख्ने उल्लेख गर्दै अन्तर्राष्ट्रिय दबाबको बाबजुद पनि आफूलाई कसैले रोक्न नसक्ने हमासका आतंककारीहरूलाई समाप्त पार्ने योजनाबाट पछि नहट्ने बताएका छन्।(नेपाल न्यूज बैंक) 

प्रतिक्रिया