सन्दर्भ पुस १ : महेन्द्रसँग किन भिडेनन् वीपी ?

पुस एक गते फेसबुकका पानाहरुमा राजा महेन्द्रका दूरदर्शिता बारे केही अनलाइन सञ्चार माध्यममा  लेखिएका लेख पढ्न पाइयो।

राजा महेन्द्रमा जनरल  पार्क चुंग ही र जनरल नेविनको जस्तो महत्वाकांक्षा थियो तर आधुनिक शिक्षादीक्षा र शासन संचालनको कुनै लामो अनुभव नभएका राजा महेन्द्रसँग दक्षिण कोरियाका  पार्क चुंग ही र बर्माको नेविनको जस्तो न कठोर युद्ध अभ्यासले खारिएको प्रशिक्षित आधुनिक सेना थियो न राजनीतिक संगठन।

राजाको छोरा भएको कारण र सानोमा राणाहरुको खटनमा रहनु परेको कारण उनीसँग असीमित तर कुण्ठित सत्ता महत्वाकांक्षा मात्र थियो। 

राजकीय अहङ्कारको अग्लो हौदाको सवारी त छँदै थियो। वीपीसँग पनि संगठित र प्रशिक्षित राजनीतिक संगठन थिएन। प्रशासन र सेनामा त प्रभाव र पहुँच पुगेकै थिएन, राजा भए देखि नै प्रशासनमा राजाले आफ्ना निकटका मानिसहरुलाई भरिसकेका थिए। तर वीपीसँग प्रचण्ड जनमत थियो, आधुनिक शिक्षा–दीक्षा, अन्तर्राष्ट्रिय समाजवादी आन्दोलनमा संलग्नता र विश्व राजनीतिको गहीरो अध्ययन थियो।

मुलुकको स्वतन्त्रताको प्रवर्धन र सम्वृद्धिको प्राप्तिको  लागि उनीसँग प्रष्ट दृष्टिकोण थियो र प्रतिवद्धता थियो। भारतीय राजनीतिमा उनको बलियो प्रभाव थिय। उनको उच्च अन्तर्राष्ट्रिय छवि बनिसकेको थियो।

साथै ३६ वर्षको उमेरमा २००७ शालको क्रान्तिको सफल नेतृत्व र ४४ वर्षको उमेरमा आफ्नो पार्टीलाई दुईतिहाई स्थानको नेतृत्व दिंदै मुलुकको प्रथम निर्वाचित प्रधान मन्त्री हुँदाको स्वाभिमानमा  कहिले कहीं अहङ्कारको लेप  पनि लाग्यो होला। 

राजा महेन्द्रले उनलाई काम गर्नै दिएनन्, वीपीको व्यक्तित्व र प्रभावसँग राजामा एक किसिमको ईर्ष्या, जलन, आक्रोश र कुण्ठा पनि थियो। त्यसैले जन निर्वाचित प्रधानमन्त्रीसँगको प्रतिष्पर्धामा राजा शुरु देखि नै लागे।

कसैले बीचमा आएर खेलेको  होइन, राजाले खेल्न चाहे, खेल्ने मान्छे पाइने नै भयो, तुलसी गिरी नभए पनि विश्व बन्धु थापा त अझै छन् नि, सोध्न सकिन्छ। सात सालमा सत्ता खोसिएका राणाजीहरु राजा विरोधी थिएनन्, किनकि त्यो सत्ता राजाले होइन काङ्ग्रेसले खोसेकोमा उनीहरु मनभरी थिए।

त्यसकारण उनीहरु काङ्ग्रेस घृणक थिए। चुनाव हारेका धेरै दलहरु र तिनका हस्तीहरु थिए– आज त हार पचाउन यति गाहारो हुन्छ, आज भन्दा आधा शताव्दी भन्दा अघिको राजनीतिक संस्कृतिको स्तर  कस्तो थियो होला? भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरु वीपी प्रधानमन्त्री नरहुन् भन्ने चाहन्थे र राजाले हटाइहाले पनि ठिकै हुन्छ भन्नेमा थिए। राजामा यो सन्देश पुगिसकेको थियो।

अनि काङ्ग्रेस सरकारका केही अनुभवहीन अभाव र कमजोरीहरु। सत्ता अहङ्कारका बान्कीहरू– नदेखिने कुरै थिएन। राजाको वरिपरी निर्माण हुने आभा र परम्परागत शक्ति त छँदै थियो। यी सबैबाट निर्माण हुने नकारात्मक शक्तिको जोडबल नै राजाको शक्ति बन्न पुग्यो।

यसैको बलमा दुईतिहाई भन्दा ठूलो बहुमतको सरकारलाई राजाले खोसे र जन निर्वाचित प्रधानमन्त्रीलाई कल्पित अभियोगमा थुने। पछि पनि हरेक एकाध वर्षमा सरकार फेरिरहने, कसैलाई काम गर्नै नदिने, स्थापित हुनै नदिने उनले गरिरहे। वीपीले राजासँग भिड्न चाहेनन्। राजाको नियत र योजनाबारे उनी अन्धकारमा थिएनन्।

नेहरु र केही युरोपियन मित्रहरुले पनि उनलाई त्यसको सङ्केत गरिसकेका थिए। कुन मितिमा कसरी त्यो प्रकट हुन्छ भन्नेमा मात्र वीपी प्रष्ट थिएनन्। चाहेको भए भिड्न सक्थे, आफ्नो राष्ट्रिय र अन्तर्राष्ट्रिय शक्ति र प्रभावलाई राजा विरुद्ध प्रयोग गर्न सक्थे।
तर त्यो भिडन्तको मूल्य तत्कालीन नेपालले धान्न सक्दैन भन्नेमा उनी विश्वस्त थिए।

त्यसैले उनले त्यसको कुनै प्रतिरोध गरेनन्। यो सवालमा उनी कति संवेदनशील थिए भन्ने कुरा राष्ट्रिय मेलमिलाप र २०३६ पछिको सन्दर्भमा उनका विचार र प्रतिवद्धताले बताउँछन्। उनी त प्रजातान्त्रिक स्थीरताको लागि ७ सालको सफल क्रान्ति पछि गठित सरकारको प्रधानमन्त्री मोहन शमशेरले राजिनामा दिन लाग्दा पनि नदिउन् भन्ने चाहन्थे। 

त्यसो भए २०१८, ०३० र ०३१ को सशस्त्र विद्रोह के रु सवाल आउन सक्छ। २०१८ को विद्रोह सुवर्णजीले भारतीय भूमिबाट संचालन गरे। राजाको कदम र वीपीको नजरवन्दीमा भारतको हात छ भन्नेमा भारत भित्रै राजनीतिक असन्तोष बढ्दै गएको अवस्थामा त्योबाट जोगिन भारतकै सांकेतिक स्वीकृतिमा २०१८को विद्रोह जन्मिएको थियो र, त्यतिखेर वीपी कठोर नजरवन्दीमा थिए, सुवर्णजीसँग  वीपीको कुनै सम्पर्क भएको थिएन।

०८, ३० र ३१ को सशस्त्र विद्रोह पंचायतको कठोर दमन, पंचायत व्यवस्थाले अझै निरंकुश र कठोर एक दलीय चरित्र ग्रहण गर्दै गएको अवस्थाले निर्माण गर्दै गरेको राष्ट्रिय सङ्कटको स्थिति, भारतको नक्सलवादी आन्दोलनको नेपालमा बढ्दो प्रभाव र  कार्यकर्ताको कठोर निराशाको अवस्थामा गिरिजाबाबुले त्यो विद्रोहको संगठन गरेका थिए।

मुलुकको राजनीतिले निषेध गरेका हजारौं कार्यकर्ताहरुलाई विदेशी भूमिमा ११-१२ वर्षसम्म कसरी थेगिरहने भनेर गिरिजा बाबुको धैर्यले प्रश्न माथि प्रश्न उठाइरहेको  थियो। वीपीलाई त्यसबारे अत्यन्त सीमित र सांकेतिक जानकारी मात्र थियो। तर उनको स्वीकृतिमा भएको भने थिएन, उनले रोकेनन् त्यत्ति हो। तर पछि त्यसको दायित्व लिए। 

त्यो बेलामा वीपी र गिरिजा बाबुको निकट रहेर काम गरेका धेरै मानिसहरु अझै छन्। सोध्न सकिन्छ। २०३६ पछि मेरो वीपीसँग दुई चार पटक भेट हुँदा  सोध्न मन लागेको थियो, तर उनको व्यक्तित्वको ओज र गरिमाले मलाई यसरी प्रभावित गरिरहेको हुन्थ्यो कि म सोध्न भन्दा उनलाई सुन्नमा नै लालायित हुन्थें।

राष्ट्रपुकार र समीक्षामा प्रकाशित मेरा लेखहरुबारे उनी सहमति र समर्थन व्यक्त गर्थे, उनले सोधेका प्रश्नको जवाफ दिन्थें तर आफैं  प्रश्न गर्न अक्सर हिम्मत जुट्दैनथ्यो। वीपीलाई राजा महेन्द्रले मात्र होइन राजा वीरेन्द्रले पनि उपेक्षा गरिरहे। मुलुकको भावी सङ्कट र राजा र पंचायतको भूमिकाबाट विकास हुने सम्भावित घटना क्रमबारे वीपीले बारम्वार बोलेका थिए, लेखे पनि र राजा वीरेन्द्रसँगको भेटमा भने पनि तर सुनुवाई भएन।

वीपीले संकेत गरेको सम्भावित भविष्य तर्फको संकेत राजकीय अहङ्कारको बाक्लो चस्मा भित्रबाट वीरेन्द्रले पनि देख्न र बुझ्न चाहेनन्। उनमा पनि त्यो दूरदर्शिता देखिएन। राजा ज्ञानेन्द्रको कुरै नगरौं एउटा निर्वाचित प्रधानमन्त्रीलाई “असक्षम” भन्दै हटाएर अन्तत उनलाई आफ्ना बाबुले नै आधा शताव्दी अघि बोकेका मानिसहरुबाट एकाइसौं शताव्दीको नेपालको नेतृत्व हुन्छ भन्ने उनलाई लाग्यो। 

जवकि गिरिजा प्रसाद कोइराला र माधव कुमार नेपाल जस्ता नेताहरु उनको दरवारमा दाम राख्न नै गएका थिए। ज्ञानेन्द्रले जे-जे भने शेरबहादुर देउवाले गरेकै थिए। माधव नेपालले नारायणहिंटीको पश्चिम ढोकामा गएर एउटा सानो झ्यालबाट प्रधानमन्त्रीको लागि विन्तीपत्र नै हालेका थिए। ज्ञानेन्द्रले मुलुकको प्रधानमन्त्रीको पद ढोके र बैठकेलाई दिने बक्सिस जस्तो सम्झिए।

मूलत राजा महेन्द्र, वीरेन्द्र र ज्ञानेन्द्रको अदूरदर्शी र राजनीतिक महत्वाकांक्षा, विदेशी स्वार्थ समूहको ठूलो चलखेल र वीपी पछिको काङ्ग्रेस नेतृत्वको असफलताको परिणाम आजको नेपाल हो। आफैंलाई नढाटौं, नेपालमा राजसंस्थाको विस्थापन मेरा लागि पनि प्रीतिकर थिएन। कुनै न कुनै प्रकृतिको राजसंस्था रहेको भए नेपालको राजनीतिक सङ्कट र सङ्क्रमणकाल व्यवस्थापन अलि सजिलो हुन्थ्यो भन्ने लागेको नै हो। 

मैले यो कुरो नेपाल शिक्षक सङ्घका पूर्व अध्यक्ष मोहन ज्ञवालीको साथमा गएर गिरिजाबाबु समक्ष राखेकै हो। त्यसैगरी शेर बहादुर देउवा सदर प्रहरी तालिम केन्द्रमा थुनुवा रहेको बेलामा पनि केशव निरौला (शिक्षक सङ्घका वर्तमान अध्यक्ष) सहित  भेटेर उनलाई वीपीको उदाहरण दिएर त्यसको लागि अनुरोध गरेको हो।

गिरिजा बाबु र शेर बहादुर देउवामाथि गणतन्त्रमा जाने ठूलो दवाव छेक्न मेरो के सामर्थ्य थियो र त्यसले थेग्ने  कुरै भएन। देशमा अर्को अनिश्चितता, अस्थीरता र शक्तिशून्यता निर्माणको लागि बाटो दिंदै राजतन्त्र नेपालबाट विदा भयो। तर यसको लागि सवैभन्दा बढी जिमेवार राजा महेन्द्र, वीरेन्द्र र ज्ञानेन्द्रहरुनै थिए। बाह्य शक्ति र अन्य गणतन्त्रवादी शक्तिहरु त उनीहरुको महत्वाकांक्षा कै बुई चढेरै शक्ति आर्जन गर्दै आएका हुन् भन्नेमा पनि म विश्वस्त छु। 

नियतिले सबै भन्दा बढी जिम्मेवार राजा ज्ञानेन्द्रलाई नै बनायो। तर यति हुँदा हुँदै पनि जुन धैर्य, साहस, गरिमा र आत्म विश्वाशका साथ विश्व इतिहासको दुर्लभ घटना निर्माण गर्दै पत्रकार सम्मेलन गरेर उनी नारायणहिंटीबाट विदा भए, त्यसले राजा ज्ञानेन्द्रलाई एउटा इतिहास पुरुषको दर्जा त दिएको छ।

 एउटा साह्रै ठूलो अभाव भनेको राष्ट्रको अस्मिता, पहिचान र स्वतन्त्रताको लागि हलाहल वीष पिउन सक्ने वीपी जस्ता नेताको अभाव थियो। उनी राष्ट्रको वृहत्तर हितमा सबै राजाहरुले दिएको जस्तोसुकै ठूलो अपमान सहन तयार भए तर राजसंस्थाको महत्वलाई कहिल्यै अस्वीकार गरेनन् र त्यसको लागि पार्टी भित्र र बाहिरबाट आउने सबै आलोचना, पीडा र अपमानलाई एउटा पौराणिक पात्र जड भरतले जस्तै निरपेक्ष भावले बेहोरे।

 व्यक्ति राजासँग उनको कहिलेकहीं तीखो विरोध र बैरभाव रह्यो तर संस्था राजाको विरोध गरेनन्।  

 तव न विश्वेश्वर प्रसाद कोइराला..! 

(विश्लेषक केशब प्रसाद भट्टराईको विवेचना, आज भन्दा ठिक १० वर्ष अघिको आफ्नै विचार)

प्रतिक्रिया