पोखरा : कांग्रेस केन्द्रीय सदस्य एवं सांसद विनोद चौधरीले युवाहरूको बढ्दो विदेश पलायनप्रति संवेदनशील बन्दै आर्थिक नीतिमा गंम्भीर सुधार आवश्यक रहेको बताएका छन् ।
नेपाली कांग्रेस गण्डकीको प्रथम प्रदेश सम्मेलनलाई मंगलबार पोखरामा सम्बोधन गर्दै नेता चौधरीले नेपाललाई विकसित मुलुकमा परिणत गर्ने र युवाहरूको भविष्य सुनिश्चित गर्ने लक्ष्यका साथ आफू राजनीतिमा सक्रिय रहेको बताएका छन् ।
‘युवाहरूको भविष्य यही देशमा सुरक्षित छ र उनीहरूका सन्ततिको भविष्य यही देशमा उज्वल रहनेछ भन्ने स्थापित गर्न म संकल्पका साथ राजनीतिमा केन्द्रित भएको छु,’ उनले भने, ‘हाम्रो जिम्मेवारी यही नै हो । यो संकल्प पुरा गर्न सकेनौं भने राजनीतिमा हाम्रो सान्दर्भिकतामाथि प्रश्न उठ्नेछ ।’
बेरोजगार मात्र नभइ राम्रो रोजगारीमा रहेका युवाहरू पनि धमाधम विदेश पलायन हुनु ठूलो चिन्ताको विषय भएको उनले बताए । ‘हामीले उनीहरू र उनीहरूका सन्ततिको भविष्य यही देशमा सुरक्षित छ भनेर सुनिश्चित गर्नुपर्छ,’ उनले भने ।
मुलुकको आर्थिक सुधारको नेतृत्व विगतमा कांग्रेसले लिएको स्मरण गराउदै उनले अब फेरि दोस्रो चरणको आर्थिक सुधारको नेतृत्व लिनुपर्ने समय आएको जिकिर गरे । ‘पार्टीले यो दिशामा वृहत् गृहकार्यका साथ निर्णय लिनेछ भन्नेमा मेरो विश्वास छ,’ उनले भने ।
आगामी निर्वाचनमा कम्तिमा २५ लाख युवाहरू पहिलोपटक मतदाताका रुपमा अघि आउने भएकाले उनीहरु निर्णायक हुने नेता चौधरीले बताए । ‘ती नयाँ मतदाताको रोजाइमा पर्न अहिलेदेखि नै काम गर्नुपर्छ,’ उनले भने ।
प्रतिक्रिया