काठमाडौं : संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीले राम्रो काम गर्दागर्दै सरकारमाथि आक्रमण भएको भन्दै नेतृत्वलाई गाली र बद्नाम गर्नु गणतन्त्र मास्नु भएको बताएका छन् ।
काठमाडौंमा बुधबार आयोजित उपत्यकाव्यापी संयुक्त बृहत् ख्रीष्टमस महोत्सव २०८० कार्यक्रममा उनले सरकारले राम्रो काम गरेको दाबी गर्दै सरकारको आलोचना गर्नु गणतन्त्र र संविधानको बर्खिलाप हुने तर्क गरे ।
‘राम्रो काम गर्दागर्दै पनि प्रधानमन्त्रीमाथि यति ठूलो आक्रमण छ । अहिलेको सरकारको नेतृत्वलाई गाली र बद्नाम गर्नु भनेको गणतन्त्र मास्नु हो । व्यवस्थालाई अन्त्य गर्दिनु हो । व्यवस्थालाई अन्त्य गरे संविधान मासिन्छ, त्यो भनेको हामी सबैको अन्त हुन्छ । त्यसकारण अग्रगामी शक्तिहरुको एकता जरुरी छ,’ उनले भने ।
परिवर्तन चाहने अग्रगामी शक्तिहरु एक हुन जरुरी भएको पनि उनले उल्लेख गरे । राणा शासन, पञ्चायत फालेको र मिलेर संविधान बनाएजस्तै सबै मिलेर गरिबीको अन्त्य गर्नतर्फ लाग्नुपर्ने धारणा पनि उनले राखे ।
मन्त्री किरातीले भने, ‘एकचोटि गरिबीका विरुद्ध लडाइको घोषणा गरौं । मेहनत गरौं, हाम्रो भुलहरुलाई सच्याऔं । बरु जनतासँग माफी मागांै तर, गरिबीलाई फाल्नको निम्ति मिलौं न ।’
यस्तै, उनले नेपाल हिन्दु राष्ट्रमात्र कायम हुनै नसक्ने बताएका छन् । सबै नेपाली जनता मिलेर बसेको र धार्मिक सहिष्णुता लामो समयबाटै रहिआएकाले व्यवस्था विरोधीले चाहँदैमा हिन्दु राष्ट्र नहुने उनको तर्क थियो ।
दुर्गा प्रसाईँ नेतृत्वले केही समय अघि हिन्दु राष्ट्रको पक्षमा गरेको विरोधलाई हाफ्सिलाको संज्ञा दिएर किरातीले भने, ‘प्राचीन इतिहासदेखि नेपाली समाज मिलेर बस्दै आएको छ । ती हाफ्सिलालाई के चिलाको ? क्रिश्चियनको घरमा हिन्दु पनि मलामी गएकै छ, हिन्दुकोमा किरात पनि मलामी गएकै छ, बुद्धिष्टहरु पनि सँगै मिलेर बसेकै छन् । तर, यिनीहरु चाहिँ हामीलाई जुधाउन र लडाउनको निम्ति देशलाई बारुदभित्र हराउनको लागि लागेका छन् । तर नेपाली जनताले यसलाई अस्वीकार गर्छन ।’
यस्ता प्रयास विभिन्न कालखण्डमा पटक पटक भइआएको उनको भनाइ थियो । ‘पञ्चायतमा पनि कोसिस गरे, पछि पनि भयो र अहिले पनि हुँदै छन् तर, जनताले एकचोटि तिरस्कार पनि गरिसकेका थिए,’ उनले भने, ‘पूर्वतिर हाफ्सिलाहरु अलिअलि कराउदै थिए । कराउदै कराउदै बल्खु आइपुगेछ । तितरबितर हुँदै सिफल पुगेछ । अनि भक्तपुर हँुदै फर्केर आफ्नै ओडार गएछ । जनताले अस्वीकार गरिसके, प्रकृतिमा मरेको चिज फर्किदैन । ’
उनले परापूर्वबाट मिलेर बसेको समाजलाई विभिन्न बहानामा जुधाउन खोज्नेहरुबाट होसियार बन्नुपर्नेमा जोड दिए ।
प्रतिक्रिया