नदि उकास क्षेत्रको जमिन अतिक्रमण गरी खेती तथा झुपडी

–मनोज कुमार साह
रौतहट। रौतहटमा बागमती नदि उकास क्षेत्रको जमिन अतिक्रमण गरी गाँउलेहरुले खेती तथा झुपडी बनाएर उपयोग गरेको पाइएको छ।रौतहट र सर्लाहीको सिमानामा पर्ने बागमती नदिको किनारमा रहेको सो क्षेत्र डिभिजन वन कार्यालयको हो। तर वन कार्यालयको उदासिनताका कारण वृन्दावन नगरपालिका वडा नं. १ मा रहेको नदि उकास क्षेत्रको जमिन अतिक्रमण हुँदै गएको छ।

पछिल्लो समयमा जङ्गल तथा झाडी फाँडेर धमाधम खेत र झुपडी बनाउने गरिएको पाइएको छ। हरेक वर्ष प्रायः त्यस क्षेत्रमा वृक्षारोपण हुने गरेको भएपनि बिरुवा हुर्किने गरेको छैन्। 

बयरघारीका रुपमा परिचित सो क्षेत्र अहिले त्यस भेगका गाँउहरुको खेत र झुपडी मात्र देखिन्छ। वृन्दावन नगरपालिका वडा नं. १, २, ३ र ४ का बासिन्दाहरूले सो क्षेत्रमा अतिक्रमण गरेको पाइएको छ। बिपन्न तथा गरिव समुदायमा मात्र नभई प्राय: सबैले त्यस क्षेत्रमा वर्षौ देखि खेती गर्दै आएका छन्।

वृन्दावन नगरपालिका वडा नं. ३ विश्रामपुरका हरि साह कलवार पनि वन तथा नदी उकास जमिन अतिक्रमण गरी उपयोग गरेका छन्। सो क्षेत्रमा रहेको करिव १० कट्ठा जमिन तारबार गरेर खेती गर्दै आएको साहले जानकारी दिए।

उपयोग विहीन भएको यस जमिनलाई आफूले सदुपयोग गरी खेती गरेको साहको भनाई छ। साह मात्र नभई त्यस क्षेत्रमा प्रशस्त मात्र स्थानीयले कृषि तथा पशु फर्म ने सञ्चालन गरेका छन्। सबैले डिभिजन वन कार्यालय अन्तर्गत पर्ने नदि उकास क्षेत्रको जमिन अतिक्रमण गरेको देखिन्छ। खरका छानो भएका झुपडी घरहरू बन्ने क्रम बढ्दो अवस्थामा रहेकाले उत क्षेत्र अतिक्रमणको चपेटामा परेको स्थानीय सरोकारवालाहरू बताउँछन्‌।

अन्य स्थानमा घर तथा जमिन भएका व्यक्तिहरूले नै तारबार गरेर जमिन उपभोग गर्दै आएको उनीहरूको भनाई छ। उक्त अतिक्रमित क्षेत्रमा मकै, गहुँ, मुसुरो, तोरी लगायतको खेती हुने गरेको छ। त्यस क्षेत्रमा व्यवसायिक रुपमा मकै खेती हुने गरेको छ भने सिँचाइको लागि बोर्डिङको पनि ब्यवस्था छ। सरकारी जमिन अतिक्रमणको चपेटामा हुँदा पनि यस तर्फ कुनै निकायले  ध्यान नदिएको स्थानीय सरोकारवालाहरू बताउँछन। उक्त अतिक्रमित क्षेत्र भन्दा करिब २ किलोमिटरको दूरीमा सब डिभिजन वन कार्यालय बल्लेरी पर्दछ। अतिक्रमण गरी खेती गरिएको जमिनमा वन कर्मचारीहरू नजाने र अतिक्रमण हटाउन कुनै चासो नदिने गरेको वृन्दावन नगरपालिका वाड नं. २ का वडा अध्यक्ष सिकेन्द्र पटेलको आरोप छ।

बन क्षेत्रको जमिन फडानी गरेर किनबेच हुनु दुखद भएको भन्दै यस्ता किसिमका कार्य तत्काल रोक्नु पर्ने उनले माग गरे। डिभिजन वन कार्यालयको दोहोरो नीति र निष्क्रियको कारण वन क्षेत्र अतिक्रमण बढेको भन्दै उनले चिन्ता व्यक्त गरे। वन सुरक्षाकर्मी सहितको जनशक्ति अभाव रहेकाले अतिक्रमण भएको क्षेत्रमा जान नसकिएको सब डिभिजन प्रमुख अनिल कुमार महतोले गुनासो गरे। अतिक्रमित जमिन हटाउनका लागि सरोकारवाला निकायको साथ र सहयोग आवश्यक पर्ने उनको धारणा छ। डिभिजन वन कार्यालय रौतहटका शैलेन्द्र मिश्रले सो क्षेत्रको अतिक्रमण हटाउन सक्रिय रहेको बताए। केही बर्ष अघि देखी शुरु भएको सो अतिक्रमण क्षेत्र हटाउने अभियान नै चलाउने र यसका लागि तिनै तहका सरकारसँग समन्वय गरिने उनले बताए। जिल्लाको कूल क्षेत्रफल १,१२,६०० हेक्टर रहेको छ, जसमध्ये २९४०२.९८ हेक्टर वा २६.११ भूभाग वन क्षेत्रले ढाकेको डिभिजन वन कार्यालय रौतहटले जनाएको छ।(नेपाल न्यूज बैंक)

प्रतिक्रिया