काठमाडौँ। नेपाल र श्रीलङ्काबीच व्यापार तथा लगानी वृद्धिका साथै पारस्परिक हित र चासोका सबै विषयमा छलफल भएको छ।
नेपाल–श्रीलङ्का संयुक्त आयोगको आज यहाँ भएको बैठकमा व्यापार तथा लगानी अभिवृद्धि, दुई देशबीच हवाई सम्पर्क विस्तार, संस्कृति, पर्यटन एवं शिक्षा क्षेत्रमा सहकार्य, दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक) प्रक्रियालाई सुदृढ गर्ने तथा क्षेत्रीय सहयोगका साथै बहुपक्षीय मञ्चमा सहकार्य गर्ने सम्बन्धमा विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
बैठकमा नेपालको नेतृत्व परराष्ट्रमन्त्री नारायणप्रकाश साउद र श्रीलङ्काली पक्षको नेतृत्व त्यहाँका विदेशमन्त्री एमयुएम अली साब्रीले गरेका थिए।
बैठकमा काठमाडौँ–कोलम्बो हवाई सेवा प्रारम्भ भएकामा दुवै पक्षले सन्तुष्टि जनाउँदै कोलम्बो र लुम्बिनीबीच पनि हवाई सम्पर्क स्थापना गर्नेबारे छलफल भएको थियो।
दुवै देशका मन्त्रीले जलवायु परिवर्तनका कारण आफ्नो देशले भोग्नुपरेको असरबारे विचार आदानप्रदान गरेका थिए। उनिहरूले जलवायु न्याय, हानिनोक्सान कोषको प्रारम्भिक परिचालनका साथै क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग प्रवद्र्धनमा जोड दिएका थिए।रासस)
प्रतिक्रिया