रामेछाप। रामेछाप जिल्लाबाट यस वर्ष २० करोड रुपैँया बढीको जुनार र सुन्तला बिक्री हुने अनुमान गरिएको छ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका अनुसार यस वर्ष जुनार सुन्तला राम्रो उत्पादन भएको र सो परिमाणको बिक्री हुने अनुमान गरिएको छ।
रामेछाप जिल्लामा ९ सय हेक्टर भन्दा बढी क्षेत्रमा जुनार खेती हुँदै आएको छ। सो जमिनमा यस वर्ष ५० मेक्टि्रकटन जुनार र सुन्तला उत्पादन हुने अनुमान गरिएको छ। सो जुनार र सुन्तलाको होलसेल मूल्य २० करोड भन्दा माथि हुने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना रामेछापका प्रमुख थिरलाल गैरेले बताए।
किसानले उत्पादन गरेको सुन्तला बगैँचाबाटै प्रतिकेजी १ सय रुपैँया र जुनार प्रतिकेजी ५० देखि ६० रुपैँया किलो सम्ममा बिक्री हुने गरेको छ। सडक सञ्जाल पुगेको ठाउँमा जुनार सुन्तला किन्न व्यापारीहरू किसानको बगैँचामा पुग्ने गरेका छन्। यसले गर्दा किसानलाई आफ्नो उत्पादन बिक्री गर्न सजिलो भएको छ।
कृषि ज्ञान केन्द्र र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यक्रम कार्यान्वयन इकाईले केही वर्ष यतादेखि किसानलाई अमिलो जातका फलफूल खेतीमा प्रोत्साहित गरेको छ। जसले गर्दा किसानहरू अमिलो जातका फलफूल खेतीमा लागेका छन्। ती कार्यालयले किसानलाई निःशुल्क प्राविधिक सहयोग, सिँचाई, बिरुवा, विषादीमा अनुदान तथा बजार व्यवस्थापनमा सहयोग गर्दै आएका छन्।
रामेछापमा २ सय बढी व्यावसायिक कृषि फर्म रहेका छन्। रामेछापको ओख्रेनी, सुकाजोर, रामेछाप, रामपुर, गोठगाउँ, हिमगंगा, सालु, सुनारपानी, देउराली, भलुवाजोर, पुरानागाउँ, फुलासी, माकादुम, हिलेदेवी, खनियापानी, दोरम्बा, बेथान लगायतका क्षेत्रमा व्यावसायिक रूपमा जुनार खेती हुने गरेको छ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले रामेछाप नगरपालिकाको १, २, ४, ५, ६, ७ र ८, मन्थली नगरपालिकाको ४, ५, ६, ९, १३ र १४ वडालाई जुनार जोन घोषण गरी जुनार खेती प्रवर्धनको लागि विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ। जोन क्षेत्रमा मात्रै ५ सय ३० हेक्टरमा जुनार खेती भइरहेको कार्यालयले जनाएको छ।
जोन क्षेत्रमा परियोजनाले प्राविधिक सहयोगका साथै सिँचाईका लागि पोखरी, पाइप लगायत सहयोग गरेको छ। त्यस्तै, रोग तथा किरा नियन्त्रण र चिस्यान केन्द्र निर्माण समेत कार्यालयले सहयोग गरिरहेको छ।(नेपाल न्यूज बैंक)
प्रतिक्रिया