रौतहट। रौतहटको दक्षिणी भेगमा खाना पकाउनका लागि चुलो बाल्न वैकल्पिक ऊर्जाका रूपमा परम्परागत गुइँठाको प्रयोग बढ्दै गएको छ। चिसो छल्न आगो ताप्ने उद्देश्यले ग्रामीण भेगका गरिब तथा न्यून आय भएका स्थानीय बासिन्दाहरु वैकल्पिक ऊर्जाका रूपमा गुइँठाको प्रयोग गर्दै आएका हुन्।
गुइँठाको प्रयोगले खाना पकाउनुका साथै जाडोमा आगो ताप्न सहयोग पुग्ने स्थानीय गृहिणी बताउँछन्। वनमा दाउराको अभाव रहेको र कतै पाइने गरे पनि चर्को मूल्यमा खरिद गर्नुपर्ने बाध्यता रहेको गृहिणीले बताईन्।
आगो ताप्नका लागि र घरमा चुलो बाल्न पनि गुइँठा प्रयोग गर्नुपर्ने अर्की स्थानीय रामकलिया देवीले बताईन्। गुइँठाको प्रयोग गरेर गाईबस्तुका लागि दाना पकाउने गरेको उनको भनाई छ।
गुइँठाले दाउराको काम गर्नुपर्ने भएकाले अधिंकाशले गुइँठा प्रयोग गर्ने गरेको उनले बताए। गुइँठाको माग बढ्दै गएपछि ग्रामिण क्षेत्रमा रहेका अधिकांस महिलाहरू जाडो सुरु भएसँगै गोठको गोबर जम्मा गरेर गुइँठा बनाउनमा व्यस्त रहेका छन्।
गोबर सुकाएर गुइँठा बनाएपछि दाउराका रूपमा प्रयोग गर्न सकिने र दाउराको अभावमा गाउँघरमा पाइने गुइँठाले चुलो बालेर आगो ताप्न, खाना पकाउन दाउरा धेरै लाग्ने गरेको र दाउराभन्दा कम खर्चिलो गोबर सुकाएर बनाएको गुइँठा हुने उनले बताए। घरमा परिवारका सदस्यको संख्या ठूलो भएका कारण एलपी ग्याँसको सट्टा गुइँठाको प्रयोग गर्दै आएको उनले जानकारी दिए। दाउराको अभावमा गोबरलाई मलका रूपमा नभई दाउरा बनाएर खाना पकाउनुपर्ने बाध्यता रहेको उनको गुनासो छ। उनले सुक्खायाममा गुइँठा बनाउने र हिउँदमा त्यसलाई जोहो गरी राखेर दाउराका रूपमा प्रयोग गर्ने गरेका छन्।
यस्तै,कुनै समयमा गोबर गुइँठाको प्रयोग घरैपिच्छे हुने गरेकोमा अहिले घर घरमा ग्याँसको प्रयोग हुन थाले पनि यसको उपयोगिता केहि घटेको समाजका अगुवाहरु बताँउछन्। पशुपालक कृषकले खेतमा मलका रूपमा गोबर छर्नुको साट्टो गुइँठा बनाएर बिक्रि गर्नेतर्फ आकर्षण बढ्दै गएको बताइएको छ। तर प्राङ्गारिक मलका रूपमा प्रयोग हुने गोबरलाई गुइँठा बनाएर दाउराका रूपमा प्रयोग गर्न थालेपछि गोबरको मल बनाउन भने समस्या भएको छ। (नेपाल न्यूज बैंक)
प्रतिक्रिया