पूर्व प्रधानमन्त्री गिरिजा प्रसाद कोइराला ‘बाथरुम सिंगर’ थिए भनेर जानकारी राख्ने मानिस कति छन्, त्यसको यकिन तथ्यांक पाउन सकिँदैन। तर सत्य यो हो कि कोइराला स्नानागारमा पसेपछि गुनगुनाउँथे।
लामो समय कोइरालाको भान्सा स्याहारेका र उनका लागि मिस्ठान्न परिकार पस्किएका सुरज उराव (सुर्जु)ले सुनाएका थिए,‘सानु बुवा बाथरुम छिरेपछि गीत गुनगुनाउनु हुन्थ्यो, पुराना हिन्दी र नेपाली गीत।’ कोइरालाको त्यो रहर बाथरुममै सीमित हुनपुग्यो जो सार्वजनिक हुनपाएन। उनको मूल काम अर्कै प्रकृतिको थियो तर पनि मनको रहर कहिँ न कहिँ गएर पोखिनुथियो, बाथरुमका चिसा भित्ताहरु कोइरालाको स्वर सुन्न वाध्य थिए।
रहर एकै प्रकृतिको मात्र हुन्छ भन्ने पनि होइन। कति छन् कति रहरका रुप, बहुरुपी छ यो रहर। नेत्रहीन धृतराष्ट्रलाई प्राणप्रिय पुत्र दुर्योधन हस्तिनापुरको सिंहाशनमा विराजमान भएको थाहा पाउने रहर थियो। उनी देख्न त असमर्थ थिए तर पनि थाहा पाउने तृष्णाले उनलाई जीवनभर लखेटि नै रह्यो। महाभारतको कथामा पाईन्छन् कोटी कोटी रहरहरु।
रत्नकुमारीको रहर
उमेरले ८० टेकेकी रत्नकुमारी सुनुवारको पढ्ने रहर बुढेसकालमा आएरमात्र साकार हुनसक्यो।
रामेछापमा जन्मेहुर्केकी रत्नकुमारीको बिहे २० वर्षको उमेरमा भयो। घरधन्दा, खेतीपाती र सन्तानको लालनपालन गर्दै उमेर कटेको उनले पत्तै पाइनन्।
छोराछोरी ठूला भइसकेपछि ५४ वर्षको उमेरमा उनले प्रौढशिक्षा सुरु गरिन्। १० कक्षा पूरा गर्न उनलाई वर्षौं लाग्यो।
कोभिड महामारी सुरु भएपछि एसईई उत्तीर्ण भएकी उनले उच्च माध्यमिक शिक्षा पनि लिने अठोट गरिन्। नातीनातिनासँगै उनले कक्षा १२ को परीक्षा पनि दिईन्।
मनको कुनामा गुँडुल्को परेर बसेको रहरले फणा उठाएपछि रत्नकुमारी चैनले बस्न पाईनन् र माध्यमिक तहसम्मको पढाई गरिन्। उमेर ढल्कियो भन्दै आलस्यका विलौना गाउने मानिसका लागि उनी गाउँकी उदाहरण बनेकी छन्। प्रशन्न छिन्।
भारतका प्रशिध्द कवि र गीतकार गुलजार प्रशिध्दिको शिखरमा छन्। तर उनको मनमा पनि रहरको कुनै सुख्खा कुवा छ जो भरिन बाँकी छ भनेर सामान्यतया विश्वास गरिँदैन। गुल्जार स्वयंले त्यो गुम्फन खोलेका छन्। उनको अनुभवमा मान्छे बाँचुन्जेलसम्म मनमा थुप्रै रहरहरु लिएर बाँचेको हुन्छ। कुनै पनि रहर सकिएको हुँदैन। रहरहरु मर्नु भनेको बाँच्न छोड्नु हो।
‘ठाउँ न ठहर, बूढीको रहर’ भन्छन् गाउँमा रंग न ढंगको रहर गरीटोपल्नेलाई।
एकपटक माओवादी पार्टीका सुप्रिमो प्रचण्डलाई सोधिएको थियो कि उनी के काम गरेर सन्तुष्ट हुनसक्लान्? के होला उनको मनमा बसेको त्यस्तो रहर। जवाफमा उनले भनेका थिए, ‘अब राम्रो बाहेक अन्य गर्नु छैन। जीवनको उत्तराद्र्धमा राम्रो काम गरेर नेपाली जनताले सम्झनेलायक काम गर्ने विचार छ, अब ढुक्कसँग मर्ने मात्रै रहर छ।’
वसन्तको रहर
भर्खरै टेलिभिजनको काँचको पर्दामा सार्वजनिक भएको एउटा रहरले रहर गर्नेहरुको दुनियाँमा उत्साह पैदा गरिदिएको छ।
संगीत, कला र साहित्यको सेवा गर्ने छवि बनाउने प्रयत्न गरिरहेका व्यापारीक घरानाका सदस्य वसन्त चौधरी नयाँ रहर सहित सार्वजनिक भएका छन् टेलिभिजन कार्यक्रम प्रस्तोताको नयाँ अवतारमा। वसन्तको नयाँ अवतारले उनी अरु सबैथोक आर्जन गरिरहेर र गरिसकेर पनि तृप्त थिएनन् भन्ने सन्देश छरेको छ। कवाडी होस् कि करोडपति धन त चाहिन्छ नै तर धनले मात्रै मानिसको मन तृप्त हुँदोरहेनछ भनेर बुझ्न वसन्तले गतिलो उदाहरण समाजका सामु उभ्याईदिएका छन्।
सिजी इन्टरटेनमेन्टको ‘मनका कुरा विथ वसन्त चौधरी’ प्रसारण हुनथालेपछि मै हुँ भन्ने टेलिभिजनका कार्यक्रम प्रस्तोता सतर्क भएका हुनन्! अभियुक्तसँग केरकार गरेको हो कि अन्तर्वार्ता लिएको हो भनेर भेउ पाउन मुस्किल नै पर्ने कोटीका सम्वादहरुको भिडमा वसन्तको नरम शैली अलि फरक त छ।
भन्न त सिजी इन्टरटेनमेन्टले आफ्नो स्थापनाको १३ वर्षपछि पुनः सक्रिय रूपमा कार्यक्रमहरू प्रस्तुत गर्न लागेको भनेर आफूलाई पुरानै हुँ भनेको छ। टेलिभिजन च्यानलको बजारमा उसको यो युट्युब च्यानलमा कति आँखा जुट्ने हुन् अहिले नै भनिहाल्न सकिँदैन।
स्थापित राजनीतिक घरानाकी चेली सिने नायिका मनिषा कोइराला नै पहिलो अतिथि चुनेर वसन्तले मार्केटिङ्गको बजार रणनीति पक्रिएका छन्। उनी विभिन्न क्षेत्रका चर्चित व्यक्तिहरूसँग अन्तरंग कुराकानी गर्ने तयारी छन्। नाम चलेका कहलिएका पात्रकै पछि दगुर्ने पत्रकारिताको मानसिक रोगको संक्रमणले वसन्तलाई पनि बाँकी नराखेको यसबाट प्रस्ट हुन्छ।
‘व्यापारी पनि कवि हुन्छ र? उसले पनि गीत लेख्न सक्छ र? व्यापारीले त व्यापार गर्ने हो, पैसा कमाउने हो। उनीहरूसँग भावना हुँदैन, न त मुटु नै हुन्छ। पैसा छँदैछ, पुस्तक त छपाएर बजारमा ल्याए भैगो नि’ भनेर कुरा काटेको सुनेका वसन्तको चित्त कटक्क नकाटिएको होइन।
सुरु–सुरुमा वसन्तका सिर्जना बजारमा आउँदा कतिपय आरिसेले यसै भनेर खिसिट्यूरी गरेका थिए रे। यस्तोसम्मको सोच चाल पाएपछि बडो अचम्म महशुस गरेका वसन्त खिन्न हुन्थे तर बिचलित भने भएनन् रे।
एकल कविता यात्राको रहर पूरा गरे वसन्तले अनि फाट्टफुट्ट गीत पनि लेखे। कविता र गीत प्रचार प्रशारमा नाम चलेकै पात्र जुटाउने कला भएका वसन्त नयाँ रहरको प्रशारमा पनि उस्तै शैलीमा देखिन्छन् पात्र छनौटका दृष्टिले।
गुल्जारले भने झैं रहर गर्न छोड्नु हुँदैन नत्र जीवित छु भन्ने ठान्न पनि सकिँदैन।
वसन्त चौधरीको नयाँ रहर झाँगिने हो कि टाक्सिने हो त्यो उनकै क्षमतामा निर्भर छ। सूर सम्राट भक्तराज आचार्यको स्वरमा गुञ्जिरहने अमर गीत ‘हजार सपनाहरुको माया लागेर आउँछ’ भनेझैं सपनाहरुलाई रहरमा रुपान्तर गरेर सन्तुष्ट हुने प्रयाश गरिरहनु नै सफल जीवनको नमूना मानिन्छ।
आखिर रहर नै नहुँदो हो त पूर्व प्रधानमन्त्री केपी शर्मा ओली सार्वजनिक सभाहरुमा मादल किन ठोक्थे, किन रेट्थे सारंगी? प्रधानमन्त्री प्रचण्ड तनावहरुको कुन्यु पन्छाउँदै दैनिक किन खेल्दाहुन् ब्याटमिन्टन?
सार्वजनिक हैसियतभन्दा बलवान् हुन्छ रहर, नत्र राजा वीरेन्द्र मादल ठोक्ने अनि त्यो मादलको तालमा तत्कालिन प्रधानमन्त्री कीर्तिनिधि बिष्ट घोर्ले स्वरमा लोक गीत किन गाउँथे होला र?
प्रतिक्रिया