जाजरकोट। जाजरकोट भूकम्पपछि चिसोका कारण त्रिपालमुनि मृत्यु हुनेको संख्या ३७ पुगेको छ। हिउँदको कठ्यांग्रिदो चिसो र समयमा उपचार समेत नपाउँदा भूकम्पपीडितहरूले त्रिपालमुनि ज्यान गुमाइरहेका छन्।
शनिबार मात्रै भूकम्पले घर भत्किएपछि त्रिपालमुनि बस्दै भेरी नगरपालिका–१, रावतगाउँका कर्णबहादुर विश्वकर्माको मृत्यु भएको छ। ओत् लाग्ने घर भत्किएपछि पाँच जनाको परिवार लिएर विश्वकर्मा त्रिपालमुनि पुगेका थिए। दुई छाकको जोहो गर्नै धौ–धौ पर्ने परिवारका उनलाई एक्कासी भूकम्पले चिसो भुँइमा त्रिपालमुनि धकेलिदियो।
घरको ओत् छुटेपछि कर्णबहादुर नै परिवारको ओत् बनेका थिए। तर उनलाई कति बेला चिसाले समात्यो ? पत्तै भएन। करिब एक साता चिसोका कारण बिरामी परेका उनी निमोनियाको शिकार बनेका छन्। शुक्रबार जिल्ला अस्पतालमा उपचार नभएर रेफर भएका उनलाई सुर्खेतस्थित प्रादेशिक अस्पतालमा उपचारका लागि पु¥याउँदा उपचार गर्न ढिला भइसकेको थियो। कडा खालको निमोनिया भएको भन्दै चिकित्सकले मृत घोषणा गरेको छोरा रुपलाल विश्वकर्माले बताए।
“त्रिपालमुनिको बास छ, सबैलाई चिसो त लागेकै छ। तर बेलामा उपचार गर्न पनि सकिएन,” रुपलालले भने, “घर भत्किएपछि बुवा नै हाम्रो घर हुनुहुन्थ्यो। अब त हाम्रो पो झन् विचल्ली हुनेभयो।”
प्रादेशिक अस्पतालमा मृत्यु भएका कर्णबहादुरलाई उपचारका लागि पैसाको समस्या थियो। छोरा रुपलालले मोवाइल बेचेर बुवाको शव निकालेर ल्याएको बताए।
योसँगै जाजरकोट भूकम्पपछि एकपछि अर्को गर्दै ३७ जनाको मृत्यु भइसकेको छ। १७ कात्तिकमा भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिमका समेत गरी १५३ जनाको मृत्यु भएको थियो।
भूकम्पको लामो समय बित्दा पनि त्रिपालमुनि बस्न बाध्य पीडितहरूले अस्थायी टहरो खडा गर्न सकेका छैनन्। जसकारण चिसोकै कारण ३७ जनाको ज्यान गइसकेको छ। (नेपाल न्यूज बैंक)
प्रतिक्रिया