मुगु। हिमाली जिल्ला मुगुलगायत जुम्ला, हुम्ला डोल्पा र कालीकोटमा यस वर्ष अपेक्षित रुपमा वर्षा र हिमपात भएको छैन। यसले गर्दा कृषकले लगाएका जै, गहुँ लगायत अन्य हिउँदे बाली सुक्दै गएका छन्।
मौसमको प्रतिकूलताले बाली उत्पादनमा नकारात्मक असर परेपछि कृषकहरु आउँदो बर्ष भोकै परिने हो कि भन्ने चिन्तामा छन्।
ती क्षेत्रमा खेतीयोग्य जमिन भिरालो भएकाले सिँचाई पर्याप्त हुँदैन। आकाशे पानीको भरमा रहेका मुगु जिल्लाको खमाले, लमेरा, कोटिला, मुर्मा, सेरी, जाम, पिना, मुन्दु, शोभा, रोवा, बाम, लुम, मह, माग्री, सकम्री, सोरुकोट, धैनकोटलगायत चार दर्जनभन्दा बढी गाउँका किसान चिन्तित छन्।
लगाएका अन्न बाली सुकेर पहेँला भइसकेका छन्। गत वर्षहरुमा कात्तिक, मंसिर, पुस महिनामा हिउँ परेर सेताम्मे हुन्थ्यो। तर यसपालि पानी नपरेको साथै हिमपात पनि नभएपछि जै, गहुँ, लगायत बालीमा असर परेको हो।
यो वर्ष पुस महिनाको तेस्रो साता भइसक्दा पनि हिमपात र वर्षा नहुँदा सबै हिउँदे अन्न बाली सुकेर जान थालेको छायाँनाथ रारा नगरपालिका वडा नम्बर ९ मुर्माका बालकृष्ण रोकाया बताए।
पानी नपर्दा पशुचौपायालाई चरिचराउका लागि समेत समस्या भएको छ। चिसोको कारण हावा चल्ने गरेको साथै सुख्खा खडेरीको कारण मानिसमा पनि रुघा खोकी, टाउको दुख्ने, छातीमा समस्या आउने जस्ता समस्या देखिन थालेको छायाँनाथ रारा नगरपालिका–४ का जसबहादुर भामले बताए।
मुगुमा रहेको खेतीयोग्य जमिनमध्ये ३ हजारभन्दा बढी हेक्टरमा हिउँदे अन्न बाली जै, गहुँ लगायत लगाउने गरिएको छ। सबैभन्दा बढी भूभाग खेतीका लागि आकासे पानीको भरमा छन्।
केही भागमा सिँचाई गरेर खेती गर्ने भए पनि अधिकांश भागको खेती प्रभावित भएइको छ। गत वर्षहरुमा मंसिर महिनादेखि नै हिउँ पर्ने भएको समस्या नभएको तर यसपालि भने फरक अवस्था रहेको जिल्ला कषि बिकास कार्यालय मुगुका निमित्त कार्यालय प्रमुख प्रचण्ड नकाल देवकोटाले बताए।(नेपाल न्यूज बैंक)
प्रतिक्रिया