मुखमा टेप टाँसेर प्रदर्शनमा उत्रिएका डा.केसी पक्राउ

काठमाडौं। चारबुँदे माग राखेर काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शनमा उत्रिएका डा.गोविन्द केसीलाई प्रहरीले पक्राउ गरेको छ।

मंगलबार निषेधित क्षेत्र तोडेर प्रदर्शन गरेको भन्दै प्रहरीले पक्राउ गरेको हो। उनले प्रचण्डको सरकारले तानाशाही प्रवित्ति देखाउँदै सार्वजनिक स्थलमा भेला भएर प्रदर्शन गर्न पाउने संविधानप्रदत्त अधिकार खोसेर नागरिकको मुख थुन्न खोजेको भन्दै प्रदर्शन गरेका थिए। उनलाई प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ।

‘सार्वजनिक क्षेत्रका सेवा प्रदायक संस्थाहरु धराशायी हुने अवस्थामा छन्। नेताहरुले भने तिनलाई डुबाएर नाफाखोरी गर्ने निजी क्षेत्रका सीमित माफिया र अपराधीहरुसित साँठगाँठ गरिरहेका छन्। यस्तो अवस्थामा आम मानिस विरोध र प्रदर्शनमा उत्रनु स्वभाविक हो। लोकतन्त्रमा यो हामी नागरिकको आधारभुत अधिकार पनि हो। तर प्रचण्डको सरकारले तानाशाही प्रवृति्त देखाउँदै सार्वजनिक स्थलमा भेला भएर प्रदर्शन गर्न पाउने हाम्रो संविधानप्रदत्त अधिकार समेत खोसेर नागरिकको मुख थुन्न खोजेको छ,’ डा.केसीद्धारा जारी विज्ञाप्तीमा लेखिएको छ।

उनले विगतमा भएका सहमति पालना गनुपर्ने, निषेधित क्षेत्र हटाउनुपर्ने, संक्रमणकालीन न्याय प्रक्रिया तत्काल टुंगोमा पु¥याउनुपर्ने र चिकित्सा शिक्षा आयोगका निर्देशकहरुको नियुक्ति अगाडि बढाउनुपर्ने माग अघि सारेका छन्।

मुखमा टेप लगाएका उनले हातमा आफ्ना मागहरु राखिएको प्लेकार्ड बोकेका थिए। तर निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ। केसीसहित पवन थापालगायत युवा अभियन्ताहरु प्रहरी नियन्त्रणमा छन्।(नेपाल न्यूज बैंक)

प्रतिक्रिया