रौतहट। गौर भन्सार कार्यालयले लामो समयदेखि थन्किएर रहेका सवारी साधानको लिलामी प्रक्रिया अघि बढाएको छ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीले विभिन्न मितिमा पक्राउ गरी भन्सारमा दाखिला गरेका दुई पाँग्रे र चार पाँग्रे सवारी साधनको लिलाम प्रक्रिया अघि बढाएको गौर भन्सार कार्यालय जनाएको छ।
२०७५ सालदेखि अलपत्र अवस्थामा थन्किएका दुई हजार भन्दा बढी सवारी साधनको समयमा लिलाम नगरिँदा कवाडी बनेको आरोप लागेपछि भन्सार कार्यालयले लिलाम प्रक्रिया अघि बढाएको जनाएको छ।
भन्सार कार्यालयका अनुसार, कार्यालय परिसरमा रहेका गाडीको चालु आर्थिक वर्षमै लिलाम गर्नेगरी प्रक्रिया अघि बढाइएको हो। लिलामका लागि अहिले गाडीको ‘इन्जिन’ तथा ‘चेचिस’ नम्बर टिप्ने कार्य भइरहेको भन्सार कार्यालयका सूचना अधिकारी रेवतीराम रोक्काले बताए।
गाडीको अवस्थाको आधारमा इन्जिनियरले मूल्याङ्कन गरेपछि मात्र लिलामको लागि सूचना प्रकाशित गराइने सूचना अधिकारी रोक्काले बताए। विगत पाँच वर्षको अवधीमा ६० वटा भन्दा बढी चार पाँग्रे र दुई हजारभन्दा बढी दुई पाँग्रे सवारी साधन थन्किएको गौर भन्सार कार्यालयको तथ्यांक छ।
भन्सार कार्यालयले समयमै लिलाम प्रक्रिया अघि नबढाउका कारण राजस्व समेत प्रभावित भएको स्थानीयको गुनासो छ। गौरका युवा नेता रेवन्त झाले सवारी लिलाममा ढिलाई हुँदा जिर्ण अवस्थामा पुगेकाले अव मूल्याकंन समेत कम हुने बताए।
बरामद गरिएको सवारी साधन अलपत्र र अव्यवस्थित अवस्थामा रहेको कारण घाम, वर्षा, शीत, डुबानलगायतले जिर्ण भएको र पाटपुर्जा समेत चोरी भएकाले मूल्याकंन कम हुँदा राजस्वमा कमी आउने उनको तर्क छ।
पर्याप्त कर्मचारी नहुँदा बरामद सवारी साधनको अभिलेख राख्न र लिलाम गर्न नसकेको भन्सार कार्यालयले जनाएको छ। लिलामी प्रक्रियाबाट कति राजस्व संकलन वा असुल हुन्छ अहिले नै एकिन गर्न नसकिने भन्सार कार्यालयले जानकारी दिएको छ। (नेपाल न्यूज बैंक)
प्रतिक्रिया