पहिराले छियाछिया चुरे : जोखिममा बुटवल

–भीष्मराज ओझा र निरा गौतम 

बुटवल, कात्तिक २० : बुटवल बजारबाट उत्तरतिर नजर डुलाउँदा सधैँ देखिने हरिया पहाडतिर अहिले आँखा डुलायो भने अत्यास लाग्छ । बुटवल उपमहानगरपालिकाको तिनाउ नदी वारि र पारिका चुरे पहाडलाई पहिरोले छियाछिया पारेको छ ।

दुवैतिरका चुरेमा खसेका साना–ठूला पहिराले यी पहाडलाई सख्त घाइते तुल्याएको स्पष्ट देखिन्छ । विशाल पहिराको मुन्तिर देखिने बुटवल बजार निरीह छ । यस वर्ष उपमहानगरको वडा नम्बर ३ मा पर्ने ज्योतिनगर क्षेत्रमा मात्रै करिब ७० हेक्टर क्षेत्रमा पहिरो गएको छ । यो विशाल पहिरो एकैचोटी गल्र्यामगुर्लुम गएन । गत वर्षदेखि नै स–सानो पहिरो जान थालेको थियो । यसपालि सामान्य वर्षा हुँदा पनि हिलो र लेदो झर्न थालेकाले पहिरोमुनिको बस्ती सचेत भएर बसेको थियो । जसका कारण कुनै मानवीय क्षति हुन भने पाएन ।

यो भीमकाय पहिरोको मुन्तिर अवस्थित सहरको भविष्य के होला ? के साँच्चै अहिलेको अवस्थामा देखिएको चुरेको पहिरो वर्षातमा थामिएला ? यो विषयमा अहिले बुटवल क्षेत्रमा छलफल हुन थालेको छ । विकासोन्मुख सहरमा देखिएको यो जोखिमले स्थानीयवासीमा चिन्ता जगाइदिएको छ । ‘समयमै चुरेको पहिरो नियन्त्रणका लागि पहल नगर्ने हो भने बुटवलको उत्तरी क्षेत्र पहिरोमा मिसिन सक्छ,’ चुरे–तिनाउ संरक्षण समितिका संयोजक कमल गौतम भन्छन्, ‘अब पनि ढिलाइ भयो भने ठूलो क्षति हुने खतरा छ, यसमा तीनै तहका सरकार गम्भीर हुनुपर्छ ।’

अघिल्लो वर्षातमै देखिएको थियो संकेत

बुटवल क्षेत्रमा चुरेको पहिरो अहिले मात्रै आएको होइन । राष्ट्रपति चुरे तराई–मधेश संरक्षण कार्यक्रम कार्यान्वयन एकाइ कार्यालयका अनुसार बुटवल उपमहानगरपालिका–३ ज्योतिनगर क्षेत्रमा ०३३ सालबाटै पहिरो देखिन थालेको थियो । ०५५ सालमा वडा नं ३ र ४ का ५७ घर विस्थापित नै गर्ने गरी ठूलो पहिरो आयो । त्यसले लामो समयसम्म ज्योतिनगर क्षेत्रलाई त्रासमै राख्यो ।

सरकारले सामान्य तटबन्धलगायत काम गरे पनि भरपर्दो व्यवस्थापन गरेन । त्यतिबेला स्थानीयवासीलाई अन्यत्र बसोबासको व्यवस्था मिलाएर स्थानान्तरणसमेत गरियो । पछि विस्तारै पहिरो थामियो र हरियाली भयो  । ०५५ देखि ०७१ सालसम्म आइपुग्दा पहिरो गएको स्थानमा फेरि रुख बिरुवा हुर्किएपछि पहिरो गएको क्षेत्र पुरानै अवस्थामा फर्कियो । पहिरो रोकिएपछि स्थानान्तरण गरिएका परिवार पनि ढुक्कसँग त्यहीँ बस्न थाले । घरजग्गा किनबेच हुन थाल्यो । स्थानीयवासीले मात्र होइन, स्थानीय सरकारले समेत पहिरो बिर्सिए ।

२८ साउन ०७७ मा बुटवल र पाल्पाको तिनाउ गाउँपालिका क्षेत्रमा भीषण वर्षा भयो । करिब पाँच घण्टा लामो उक्त वर्षाले तिनाउ गाउँंपालिकाको दोभानलगायत क्षेत्रमा क्षति पु¥यायो । केही घर पनि पुरिए । रातिको समयमा भएको भारी वर्षाले तिनाउ नदीमा पनि भयंकर बाढी आयो । रातभर भएको भारी वर्षापछि बिहान उठ्दा बुटवलमाथिका चुरे पहाडमा प्रशस्त स–सानो पहिरो गएको थियो । स्थानीय सञ्चार माध्यमले ती पहिरोले निम्त्याउने जोखिमबारे समाचार पनि प्रकाशित गरे। केही अगुवाले जोखिम हुनसक्ने ठानेर आवाज उठाए । ज्योतिनगर र लक्ष्मीनगर क्षेत्रका केही घरमा चुरेबाट बग्ने साना खोलाले ल्याएको गेग्रेटो नै पस्यो तर जिम्मेवार निकायले ध्यान दिएनन् ।

यस वर्ष पनि चुरेमा पहिरो खसिरह्यो । लामो र भारी वर्षा अनुुभव गरे पनि चुरेमा गएको पहिरो बुटवलवासीले थाहै पाएनन् । एकैचोटी पहिरो गएन । रुख बिरुवा र हरियालीका कारण भित्रभित्रै पहिरो जाँदा पनि तलबाट देखिएन । गत भदौ १३ र १४ मा भएको भारी वर्षासँगै लेदो र हिलो बगेर घरहरू पुरिँदा पनि माथि जंगलमा पहिरो देखिएको थिएन ।  यसलाई पनि बुटवलवासीले सामान्य रूपमा लिए । घरवरिपरि हिलो बग्दा पनि ज्योतिनगर क्षेत्रका बासिन्दा घर छाडेर भागेनन् । थोरै परिवारले मात्रै लेदो बग्न थालेपछि डरले घर छाडेका थिए । अधिकांश जोखिम मोलेरै बसे । साना–साना पहिरो खसेर मात्र हिलो बगेको महसुस गरियो । तर जब भारी वर्षा थामियो, दुई दिनपछि मात्रै बजारमाथिको पहाडको दृश्य देखेर बुटवलवासी झसंग भए । त्यतिबेलासम्म भारी वर्षा बन्द भइसकेको थियो ।

अहिले वर्षा बन्द भए पनि पहिरो ठूलो भएकाले फेरि ढुंगामाटो खस्न सक्ने जोखिम भने कायमै छ । जुनसुकै समयमा खस्न सक्ने गरी ढुंगा माटो झुण्डिएर बसेकाले उक्त क्षेत्र अहिले पनि जोखिममा छ । ‘तत्काल खस्छ कि जस्तो गरी ढुंगाहरू बसेकाले अझै ढुक्क हुनसकेका छैनौँ, घरवरिपरि ढुंगा, माटोसहितको पहिरोले लथालिंग अवस्था छ, भएको सम्पत्ति यही घर हो,’ पहिरो प्रभावित तुलसा सुवेदी भन्छिन्, ‘एक महिना त डेरा भाडामा लिएर बस्यौँ तर आफ्नो घरजस्तो नहुने भएपछि फेरि यहीँ फर्कियौँ ।’

१३ भदौ रातभर पानी पर्‍यो । भोलिपल्ट बिहान एकाएक माटोको लेदोसहितको भेल आउन थालेपछि बुटवल उपहानगरपालिका–३ ज्योतिनगर बस्ने रमा पुन निकै आत्तिइन् । तर, पहिरो घरभित्रै पस्ला भन्ने हेक्का उनलाई थिएन । सुरुमा सानो भेल बगे पनि विस्तारै ठूला ढुंगासहितको पहिरो आउन थालेपछि पुनसहित उनका छिमेकीहरू हल्लाखल्ला गर्न थाले । बिहान ९ बजेपछि चुरे पहाडबाट ठूला–ठूला ढुंगासहित पहिरो आयो । पुनसहित उनका छिमेकी हतार–हतार गरी बालबालिका लिएर बुटवल बहुमुखी क्याम्पसमा पुगे । त्यतिबेलासम्म ज्योतिनगरका एक दर्जन बढी परिवार क्याम्पसको प्रांगणमा आएर बसेका थिए ।
 
१४ भदौमा गएको पहिराले ज्योतिनगर मिलनपथकी सीता मल्लको दुईतले घरको पहिलो तला पूरै पुरिएको छ । पहिरोका कारण घरमा बस्ने स्थिति नभएपछि एक महिना भाडामा बसेकी सीताले अहिले ५० हजार रुपैयाँ खर्चेर घरभित्रको माटो सोहोर्ने र पहिरोले भत्काएको घर अगाडिको पर्खाल लगाउने काम गर्दै छिन् । ‘स्थानीय सरकारले भाडामा बसेको रकम दिने भने पनि अहिलेसम्म दिएको छैन । जिल्ला प्रशासन कार्यालयबाट भने राहतस्वरूप प्रतिपरिवार १५ हजार पाएका छौँ,’ मल्ल भन्छिन्, ‘हामीलाई राहत होइन, पहिरो नियन्त्रण भए पुग्छ ।’ ०५५ सालको पहिरोसमेत बेहोरेकी मल्लसहित त्यहाँका स्थानीयवासीलाई बुटवलको तामनगरमा स्थानान्तरण गरिएको थियो । तर मल्ल त्यहाँ बसिनन् । ‘तामनगरमा पनि खोलाकै किनारमा हामीलाई १० धुर जग्गा दिइएको थियो तर यहाँ घर बनाएर बसिसकेकाले छोड्न मन लागेन,’ उनी भन्छिन् । सरकारले यहाँबाट बस्ती स्थानान्तरण गर्नुभन्दा पहिरो नियन्त्रणका लागि योजना बनाउनुपर्ने उनको भनाइ छ ।

ज्योतिनगरकै कस्मिरा बानु पनि पहिरोले भत्काएको घर अगाडिको पर्खाल र गेट बनाउने तयारी गर्दै छिन् । पहिरोले घरमा बस्ने स्थिति नहुँदा डेढ महिना भाडाको घरमा बसेर एक साताअघि फर्किएको बानुको परिवार पनि अहिले पुरिएको एकतले घरका कोठा सरसफाइ गर्दैछ । ‘पहिरोले गर्दा तीनवटा घर भत्किएकाले टोल नै सुनसान छ, जताततै पहिरोले ल्याएको माटो र ढुंगा मात्रै देख्दा मन खिन्न हुन्छ,’ बानु भन्छिन् ।

बुटवल उपमहानगरपालिका–२ पाखापानी क्षेत्रमा पनि पहिरोका त्यत्तिकै डरलाग्दा दृश्य देखिन्छन् । पहाडैभरि पहिरो झरेका कारण पाखापानीका बासिन्दा वर्षातभर रातिको समयमा घरै छाड्न बाध्य भए । यहाँ पनि गत वर्षदेखि पहिरो देखिन थालेको हो । गत वर्ष देखिएका केही पहिरोका दृष्य बढेर अहिले ठूलो भागमा क्षति पुगेको छ । कैयाँैपटक पूर्वपश्चिम राजमार्ग नै अवरुद्ध हुन पुग्यो । ‘डिभिजन सडक कार्यालय बुटवलले तारजालीमा ढुंगा भरेर खसेको पहिरो सडकमा आउन नदिने गरी तटबन्ध त गरेको छ तर जोखिम कायमै छ,’ वडाध्यक्ष रमेश नेपाल भन्छन् ।

पहिरोका कारण बुटवलको शिरमा रहेको सिद्धबाबा क्षेत्र पनि उत्तिकै जोखिममा छ । पानीका मूलसँगै बेलाबेलामा पहिरो जाने र ढुंगा खस्ने हुँदा डराइडराइ यात्रा गर्नुपर्ने बाध्यता यात्रुलाई छ । वर्षा हुनेबित्तिकै पहिरो जाने भएकाले यो क्षेत्रमा पर्ने बुटवल–पाल्पा सडक अवरुद्ध हुने गर्छ । यसको व्यवस्थापनका लागि सरकारले सुरुङमार्ग निर्माण प्रक्रिया अघि बढाएको छ ।

किन गयो बुटवल क्षेत्रको चुरेमा पहिरो ?

चुरमा पहिरो जानुको खास कारण विज्ञहरूले पत्ता लगाउन सकेका छैनन् तर मौसममा आएको परिवर्तन, मानवीय अतिक्रमण, सडकलगायत पूर्वाधारका नाममा भएका चुरे क्षेत्रको विनास र १२ वैशाख ०७२ को भूकम्पलाई कारण मानिएको राष्ट्रपति चुरे तराई–मधेश संरक्षण कार्यक्रम कार्यान्वय एकाइ कार्यालयका सूचना अधिकारी प्रकाश बस्नेत बताउँछन् ।

अघिल्लो र यस वर्ष छोटो समय तर भारी वर्षा चुरे क्षेत्रमा भयो । हुन त, बुटवल क्षेत्र तुलनात्मक रूपमा धेरै पानी पर्ने क्षेत्र हो । दक्षिणतिरबाट जलवाष्प बोकेर आएको बादल वसन्तपुर र नुवाकोटका अग्ला डाँडामा ठोक्किँदा यहाँ पानी परिरहन्छ । पछिल्ला केही वर्षमा धेरै पानी परेको महसुस नभए पनि यो क्षेत्र भौगोलिक हिसाबले बढी पानी पर्ने क्षेत्रको रूपमा लिइन्छ । मनसुन सक्रिय भएको बेला यहाँ ठूलो र धेरै पानी पर्ने सम्भावना सधैँ रहन्छ । हिउँद वा प्रि–मनसुनका बेला पनि अरू ठाउँको तुलनामा यहाँ पानी परिरहन्छ । ज्योतिनगरमाथिको चुरेमा ६ वटा पानीका मुहानसमेत छन् ।

ती मुहान व्यवस्थित हुन नसक्नु, भारी वर्षा हुनु, बर्सेनि डढेलो लाग्नु र भूकम्पले चर्किएका भूभागबाट पानी पस्नु चुरेको पहिरोका कारण भएको राष्ट्रपति चुरे तराई–मधेश संरक्षण कार्यक्रम कार्यान्वयन एकाइ कार्यालयका जलाधार व्यवस्थापन अधिकृत विमल राउत बताउँछन् । मानवीय अतिक्रमणका कारण पहिरो गएको भनिए पनि चुरेका फेदीमा सडक बनेको स्थानमा पहिरो नगएका कारण अतिक्रमण भन्न नमिल्ने उनको भनाइ छ ।

बुटवल क्षेत्रको चुरेमा पहिरो गएपछि विज्ञहरूको टोलीले एक महिनाअघि यहाँ स्थलगत अध्ययनसमेत गरेको छ । भूगर्भविद् डा. रञ्जन दाहालसहितको टोलीले अध्ययन गरेर सरकारलाई प्रतिवेदनसमेत बुझाइसकेको छ । ‘त्यहाँको चुरेमा पानीका मूलहरू छन्, तिनको व्यवस्थापन पनि छैन र वर्षातमा परेको पानीको व्यवस्थापन पनि छैन । त्यसले यति ठूलो पहिरो निम्तिएको हो,’ डा. दाहाल भन्छन् । पहिरो नियन्त्रणका नाममा परम्परागत तारजाली गरेर समस्याको समाधान नहुने उनको भनाइ छ । ‘तटबन्ध र तारजालीले पहिरो नियन्त्रण हुँदैन भन्ने कुरामा प्रष्ट हुनुपर्छ,’ उनी भन्छन् ।

विज्ञहरूका अनुसार बस्ती विकास वा विभिन्न नाममा चुरे अतिक्रमण हुने भएकाले पहिरोको जोखिम रहन्छ । त्रिभुवन विश्वविद्यालय भूगोल विभागका सहायक प्राध्यापक डा. देवी पौडेल भन्छन्, ‘चुरेमा जंगल भरिएको हुनुपर्छ, उत्खनन भएको हुनुहँुदैन । निरन्तर वृक्षरोपण गर्नुपर्छ ।’

चुरे–तिनाउ संरक्षण समितिका संयोजक कमल गौतमका अनुसार ०५५ सालको पहिरोपछि जाइका समूहले सो क्षेत्रमा सर्भे गरेको थियो । भू–उपग्रहमार्फत चुरे क्षेत्रको तस्बिर खिचेर अध्ययन गरेपछि जाइकाले यो क्षेत्र जोखिमपूर्ण रहेको निष्कर्ष निकालेको थियो । चुरे क्षेत्रमा भएका ठूला रुखले जोखिम निम्त्याउने भएकाले कटान गर्न सुझाव दिइएको थियो तर त्यो काम अझै भएको छैन । रासस

प्रतिक्रिया