बाक्लो हुस्सुका कारण उडान प्रभावित

विराटनगर। केही दिनयता बाक्लो हुस्सुका कारण विराटनगर विमानस्थलबाट हुने उडानहरु प्रभावित बनेका छन्। काठमाडौंबाट आउने,यताबाट फर्कने र पहाडी जिल्ला जाने उडानहरु हुन सकेका छैनन्।

प्रतिकूल मौसमका कारण हिजो(बुधबार)पनि उडान प्रभावित भएको थियो। आज (बिहीबार) पनि बिहानका उडानहरु भएका छैनन्। मौसम तत्काल खुल्ने संकेत नदेखिएकाले आज दिनभर उडान हुने वा नहुने बारे टुंगो नभएको विराटनगर बिमानस्थलका सूचना अधिकारी युवराज भण्डारीले जानकारी दिए। 

बाक्लो कुहिरो लाग्ने गरेकाले ‘भिजिविलिटी’ कमजोर रहेको जनाइएको छ। बिमानस्थलका सूचना अधिकारी भण्डारीका अनुसार हिजो साँझ बुद्ध एयरको एउटा विमानले मात्र काठमाडौंका लागि उडान भरेको थियो।

हिजोका अरु सबै उडान रद्द भएका थिए। उडान र अवतरणका लागि १ हजार ६ सय मिटर भिजिबिलिटी र २ हजार मिटर सिलिङ चाहिनेमा बुधवार भिजिविलिटी एक हजार मिटर मात्र पुगेको थियो।

विराटनगरबाट काठमाडौंंका लागि दैनिक बुद्ध एअरको ७, यति एअरलाइन्सको ५, श्री एअरलाइन्सको ३ र सौर्य एअरलाइन्सको एउटा गरी १६ वटा उडान हुने गरेको छ।

विराटनगरबाट हुने ताप्लेजुङलगायत गन्तव्यका उडान भने प्रतिकूल मौसमका कारण नियमित रुपमा केही समयका लागि बन्द गर्ने विमानस्थलले निर्णय गरेको छ।(नेपाल न्यूज बैंक)

प्रतिक्रिया