राष्ट्रका लागि २ घण्टा अभियानमा सहभागी हुँदा

 

rokat basnet copy‘राष्ट्रका लागि २ घण्टा अभियान’ यो उपवाक्यमा  झट्ट नजर पर्दा होस् या पढ्दा र सुन्दा निकै मनोरम लाग्दछ  । यस अभियानको विचारको अवधारणा, शुरुवात्  र कार्यरुपका कठिनाइ यसको पृष्ठभूिममा केके र कस्ताकस्ता होलान्? मलाई थाहा भएन तर अभियानको लागि जुराएको नाम साँच्चिकै हामी सबैलाई निकै प्रेरक र गहकिलो  लाग्दछ । हरेक शनिबार ७ः ३० बजे अभियानलाई कार्यक्षेत्रमा उतार्दछ र हरेक मंगलबार ७ः३० बजे आगामी (शनिबारको कार्ययोजना र गएको शनिबारको प्रगति समीक्षा गर्न जमघट हुन्छ । जुन पूर्णरुपेन राष्ट्रका लागि २ घण्टा स्वयंसेवा अभियान हो । 

२०८० कात्र्तिक ४ गते शनिबार गठ्ठाघर चोकमा भएको सरसफाइ कार्यक्रमबाट  यस अभियानमा जोडिन पुगेको हुँ । ‘राष्ट्रका लागि २ घण्टा अभियानको ३३ औँ हप्ता लेखिएको व्यानर, नेपालको  राष्ट्रिय झण्डा, एउटा साउण्डबक्स र माइप तथा फोहोर उठाउने गाडीसहित २५-३० जना उत्साहित स्वयंसेवकहरु गट्ठाघर चोकमा जम्मा भएका थिए । म लगायत ठिमी जीवन विज्ञान प्रयोगशालामा योग गर्ने योेग प्रशिक्षकहरु र सहभागीहरु सहभागी भएका थियौँ । योग गर्ने बेलामा राष्ट्रका लागि २ घण्टा अभियानको सूचना सुनाइएको थियो । त्यस अभियानमा सहभागीहरुलाई पिउने पानी र अभियन्ताहरुले फोहोर टिपेका हात. धुने प्रबन्ध गर्ने जिम्मेवारी जीवन विज्ञानको रहेछ ।

त्यस दिन मैले पनि गट्ठाघर क्षेत्रमा पर्ने अरनीको राजमार्गका दायाँबायाँ सडकमा फालिएका नकुहिने र सडकलाई प्रदुषित पार्ने खालका फोहोरहरु संकलन गर्ने र फाहोर बोक्ने गाडीमा राख्ने मानिसहरु (अभियन्ताहरु)लाई पानी दिने जिम्मेवारीमा सहभागी गराएँ ।  अभियन्ताहरुलाई तिर्खा लाग्दा र फोहोर टिपेका फोहोर हात धुन पानी दिँदा आफूले सामाजिक सेवा गरिरहेको र खुशी लागेको महशुष गरेँ । भक्तपुर बसाइ २ दशक भन्दा लामो भए पनि सामाजिक सेवा र व्यक्तिगत काम विशेषले म उपत्यका बाहिरै धेरै बसेँ । त्यसले गर्दा मैले युग अनुसार त्यस क्षेत्रमा सामाजिक भावले जुर्मराएर अभियानमा जुट्ने युवाहरु, समाजसेवी व्यक्तित्वहरु चिन्ने कुरै भएन । फोहोर संकलन गर्ने र फोहोर फालिएको स्थानका नजिकका पसल वा घरधनीलाई माइपबाट आगामी दिनमा सडकमा फोहोर नफाली दिनुहुन अभियन्ता नवराजजीले  अनुरोध गरिरहनु भएको थियो । उहाँ पुरानो परिचित झैँ लागेको थियो ।  जीवन विज्ञान प्रयोगशालाका योग प्रशिक्षकहरु र मसँगै सहभागी भएका १-२ जना र सूर्यविनायक नगरपालिकाका पूर्व उपमेयर जुना बस्नेतलाई मात्रै चिनेको थिएँ । मैले त्यस दिन  कहिले फोहोर  टिपेर र कहिले अभियानमा सहभागीहरुलाई बोतलको पानी दिएर सहभागिता जनाएको थिएँ ।

अभियन्ताहरु हरेक शनिबार बिहान ७ः३० बजे तोकिएको पूर्वनिर्धारित स्थान अरनीको राजमार्गमा रहेका चोकमा भेला भएर माइप बजाउँदै राष्ट्रिय गान गाउने र ‘राष्ट्रका लागि २ घण्टा अभियान’को सपथ लिने, जनप्रतिनिधी वा कोही विशिष्ट व्यक्तित्व भएमा उहाँहरुले मन्तव्य राख्ने नत्र अभियानका अध्यक्षले अभियानका सहभागीलाई स्वागत गर्दै सपथ लिएर अभियानलाई अगाडी बढाउने परम्परा धेरै अगाडी देखि नै चलेको रहेछ । यसभन्दा अगाडि नै हनुमन्ते सफाइ अभियान १०० हप्ता, अरनीको राजमार्ग दायाँबायाँ वृक्षारोपन अभियान सम्पन्न भइसकेको रहेछ । मध्यपुर ठिमी नगर पालिका, सूर्यविनायक नगरपालिका, सम्बन्धित क्षेत्र पर्ने वडाहरु, नेपाल प्रहरी, जीवन विज्ञानका प्रयोगशालाहरु, पतञ्जली योग, फूलबारी, नेप्सेम्याक, विभिन्न वातावरणसँग सम्बन्धित संघसंस्थाहरु, सहकारी, आमा समूह, महिला समूह, समाजसेवी व्यक्तित्वहरु र स्थानीय पार्टी नेताहरु यस अभियानका नियमित अभियन्ताहरु रहेछन् ।

सफाइ अभियान र सडक दायाँबायाँ रोपिएका विरुवामा पानी हाल्ने कार्यक्रम सकिए पछि त्यस हप्ताको कार्यक्रम औपचारिक समापन भयो ।  त्यसपछि चोकको चियापसलमा केही अभियन्ताहरु चिया खान बस्नु भयो । मैले त्यही समयमा सहभागीहरुसँग परिचय गर्ने मौका पाएँ । अभियानका कार्यवाहक अध्यक्ष नरेश रञ्जितले मलाई पनि फेसबुक नेटवर्कमा जोड्नु भयो । त्यसभन्दा पछिका हरेक शनिबार म ‘राष्ट्रका लागि २ घण्टा अभियान’ अन्तर्गत अरनीको सडकको दायाँबाया रोपिएका विरुवाको संरक्षण गर्न र फोहोर संकलन गर्न नियमित सहभागी भएको छु । 

Picture2

‘राष्ट्रका लागि २ घण्टा अभियान’ स्वयंसेवाभावको उपज हो । सामाजिक सेवा भावले अभिप्रेरित जो कोही पनि यस अभियानमा सहभागी भएको पाएँ । सञ्चालक अभियन्ताबाहेक अन्य सहभागीहरु पायक पर्ने टोलमा र समयमा ऐच्छिक सहभागिता रहेको पाइयो भने केही सहभागीहरु जस्तोसुकै व्यक्तिगत काम भएपनि सहभागिता जनाउन पुग्ने रहेछन् । तर वातावरणका क्षेत्रमा कार्यरत् संघसंस्थाहरुको अभियानमा निरन्तरता  निकै उत्साहप्रद रहेको पाएँ । अभियानका लागिसुरक्षा सामग्री लगायत अन्य आवश्यक औजारहरु र फोहोर तथा पानी बोक्ने यातायातका साधन, कर्मचारीहरु  नियमित सहयोग गरिरहेका छन् । अभियानका लागि कार्यालय र सामग्रीहरु व्यवस्थाका लागि निरन्तर सहयोग नेप्सेम्याकले  गरेको रहेछ । 

‘राष्ट्रका लागि २ घण्टा अभियान’ सामाजिक सेवामा सकृय सहभागिता प्रस्तुत गर्ने मञ्च  र निस्वार्थ योगदानका लागि नागरिकहरुको स्वयंसेवाको अभियान हो । स्वयंसेवामा स्वार्थको टकराव कम हुने र सामाजिक भावना बढि हुने भएकाले पनि अभियन्ताबीच आत्मियता प्रगाढ हुने रहेछ । जिम्मेवार उद्योगहरु, सामाजिक रुपमा प्रतिष्ठित व्यवसायीहरुले आफ्नो व्यवसायजन्य फोहोरको व्यवस्थापन नगर्दा र सार्वजनिकस्थलमा फोहोर देखिदा सम्झाउनु पर्ने हुँदा फोहोर गर्नेले फोहोर नपारेको र अर्कैको गतिविधि देखाउन खोज्दा प्रतिवाद निकै रोचक लाग्दछ । र फोहोर गर्नेले अब फोहोर नगर्ने प्रतिवद्धता जनाउदा मुहार हेर्न लायक लाग्दछ । ‘राष्ट्रका लागि २ घण्टा अभियान’ मा सामाजिक सेवा गरेर फर्किने अभियन्ताहरु अभियान समाप्ती पछि पनि निकै फुर्तिला र जागरुक लाग्दछन् । वास्तवमा त्यही नै स्वयंसेवाबाट प्राप्त हुने सन्तुष्टि हो । 

नागरिकहरुको समाज र राष्ट्रका लागि योगदानको माध्यम र समन्वयको पूल हो ।  अभियानको ४३ औँ हप्ता निकै उत्साहप्रद रह्यो । धार्मिक अभियन्ता दीपक सापकोटा (कान्छा) को समन्वयमा घट्टेखोला सफाइ अभियान जुटायो । हनुमन्ते र घट्ट् खोला चखु दोभानमा भेट हुन्छ । २०० भन्दा धेरै स्थानीय चखुतीर्थ सफा गर्न जुटे । धार्मिक अभियन्ता र स्थानीयहरुले त्यो क्षेत्र सफा गरेर त्यही तीर्थमा नवाह महायज्ञ भव्यतापूर्वक सम्पन्न गरे । जुन तीर्थस्थलमा ठिमी बासीहरु पञ्चमी नुहाउने र आफूलाई पवित्र पार्ने गर्दथे । हनुमन्ते र घट्टे खोलामा शहरी विकाससँगै फोहोर थुप्रिन थालेकाले चख्खु तीर्थ नयाँ पुूस्ताका लागि स्नान गर्नसक्ने अवस्थामा छैन । जसको कारण चखु तीर्थ बिर्सिएको थियो । सूर्यविनायकको ५ नं. वडा, स्वयंसेवी, संघसंस्थाहरु, धार्मिक अभियन्ता र राष्ट्रका लागि २ घण्टा अभियान तथा स्थानीयहरुको प्रयासमा पुनः तीर्थस्थल स्मरणमा आएको छ । अहिले अभियानले ४५ औँ हप्ता सम्पन्न गरिसकेको छ भने सामाजिक सेवाको भावले अभिप्रेरितहरुलाई स्वऐच्छिक स्वयंसेवाका लागि स्वागत गरिरहेको छ ।

 यो सामाजिक जीवन चेतनाको प्रचार गर्ने प्रस्थान विन्दू हो । हरेक समाज वा व्यक्तिलाई सामाजिक जीवनमा प्रस्तुत हुनका लागि औपचारिक या अनौपचारिक मञ्च आवश्यक पर्दछ । त्यसमा न त सामाजिक प्रतिष्ठाले रोक्दछ । न त समयको अभावले टार्दछ । अभियानका लागि केवल समर्पन भाव र शारीरिक उत्साह, समाजसेवी मनोवृत्ति अत्यावश्यक हुन्छ । त्यसको सामाजिक मान्यता दिने काम ‘राष्ट्रका लागि २ घण्टा अभियान’ले स्वयंसेवाका रुपमा स्वयंसेवकलाई मान्यता दिएर पूरा गर्दछ । अभियानको ४६ औँ हप्ता भक्तपुर नगरपालिकाको सिर्जनानगर चोकबाट शुरु हुन्छ भन्ने कुराले सबै अभियन्ताहरु त्यसमा धेरै सहभागीहरुसहित अरनीको राजमार्ग सरसफाइ र सडक छेउमा रोपिएका विरुवा संरक्षणका लागि तत्पर छन् । किन कि वातावरण सफा र हराभरा राख्न नागरिक समाजबाट नै खबरदारी र रखबारी गर्नु पर्ने आवश्यकता राष्ट्रले नै महशुष गरेको छ ।   


 

प्रतिक्रिया